अनुसा थापा
सरकारी कार्यालयमा जहिले पनि भीडभाड हुन्छ । केही न केही काम लिएर सर्वसाधारण सरकारी कार्यालय धाइरहेका हुन्छन् । सरकारी कर्मचारीको सुस्तताका कारण काममा सधैँ ढिलाइ हुन्छ । नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र बनाउनका लागि जिल्लाको सदरमुकाम आउनुपर्ने, आफ्नो कर्मथलोबाट जन्मथलो धाउनुपर्नेलाई साह्रै सास्ती भएको छ । काममा ढिलाइ हुँदा उनीहरुलाई तीन दिन कुनुपर्ने बाध्यता छ ।
ढिला काम गर्ने प्रवृत्तिका कारण गाउँबाट सदरमुकाम आउनेहरु थलिएका छन् । एकातिर गोजीमा पैसा हुँदैन, अर्कोतिर दिनदिनै आउनुपर्ने बाध्यता छ । बिहान कमाएर बेलुका छाक टार्नेहरु थप समस्यामा परेको छ । घण्टौंको बाटो हिँडेर आयो अनि रित्तो हात फर्कियो । राजाको पालादेखि चलिआएको यो चलन अझै पनि त्यस्तै छ । सरकारी सेवासुविधा पाउनका लागि हिजो पनि दुःख सहनैपथ्र्यो, आज पनि त्यस्तै छ ।
सरकारी कामकाजमा कुनै परिवर्तन आएन । बहुदलीय व्यवस्था आयो तर कसैले जनतालाई राहत दिन सकेनन् । सरकारी कर्मचारीको पारा उस्तै छ । एक दिनमा हुने काम तीन दिन लगाएर गर्छन् । अनि के परिवर्तन आयो ? जनताको दुःख काम भएको छैन । यसतर्फ सरकारको ध्यान गएको छैन । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयको सेवा समय थप गरिदिन जरुरी देखिएको छ ।
बिहान १० बजेदेखि कार्यालय खोल्ने भनिएको हुन्छ तर १२ बजेसम्म कर्मचारी आइपुगेका हुँदैनन् । बेलुका पनि कर्मचारीहरु छिट्टै निस्किन्छन् । अनि मर्कामा टाढाटाढाबाट धाएका जनता पर्छन् । एउटा कामका लागि दोहो¥याइ तेह्रे¥याइ जान बाध्य छन्, जनता । सरकारी कार्यालयमा बिहानैदेखि एकदमै भीड हुन्छ । त्यसैले भीडलाई मध्यनजर गर्दै बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म कार्यालय खोल्नुपर्छ ।
यसो गर्दा जनताले सेवासुविधा पाउँछन्, राज्यले राजश्व । दिनदिनै आउनुपर्ने बाध्यता पनि हट्छ । मालपोत कार्यालय, यातायात कार्यालय, जिल्ला प्रशासन कार्यालय भनेको राजश्व उठ्ने कार्यालयहरु हुन् । सरकारी कर्मचारीको ढिलासुस्तीका कारण सोचेअनुरुप राजश्व आउन सकिरहेको छैन । सरकारले कर्मचारी थप गरेर काम गर्ने प्रवृत्तिमा सुधार गर्नुपर्छ । जति राजश्व उठ्छ, सरकारलाई उति नै फाइदा हो ।
आज उठ्ने राजश्व साता दिनपछि उठ्छ । काम छिटोछिटो भयो भने एकातिर जनता खुशी हुन्छन् अर्कोतिर उठेको राजश्व लगेर बैंकमा राख्दा ब्याज आउँछ । त्यही ब्याजले थप कर्मचारीलाई तलब खुवाउन सकिन्छ । मुलुकमा रोजगारी नभएर दिनहुँ हजारौं नेपाली बाहिरिरहेका छन् । यो क्रममा पनि केही हदसम्म न्यून हुन्छ । यता, सरकारी कार्यालयमा केही पनि व्यवस्थित छैन ।
कुन कोठामा के काम हुन्छ ? सूचना टाँसेर सहज गर्दैनन् । यताबाट उता गर्दै ठिक्क हुन्छ सर्वसाधारणलाई । सूचना पाटीमा टाँसेर राखिदिने हो भने जनताले त्यत्रो कष्ट पाउन पर्दैनथ्यो । कर्मचारीहरु गैरजिम्मेवार हुँदा लेखनदास र बिचौलियाहरुले कमाउने बाटो पाएका छन् । लेखनदास र बिचौलयाको ठगीधन्दा मौलाएको छ । एउटा सानो काम गरेको पनि मनलाग्दी पैसा उठाउँछन् ।
आज हुने काम लिएर सिधै सम्बन्धित व्यक्तिकोमा पुगे पनि विभिन्न बहाना बनाएर त्यो कामलाई अड्काइदिन्छन् । सरकारबाट पाउने सेवासुविधाका निम्ति पनि जनताले कत्रो ‘पापड’ बेल्नुपर्छ । यो पुगेन्, त्यो पुगेन् भनेर विभिन्न कानूनको अवरोध देखाएर अल्झाएर राखिदिन्छन् । जसरी हुन्छ बिचौलियामार्फत फाइल लिएर जान बाध्य बनाइन्छ । हाकिमले हुँदैन भनेको काम लेखनदास र बिचौलियाले तुरुन्त गराउँछन् ।
लेखनदास र बिचौलियाले भने जति पैसा तिर्नुपर्छ, नहुने काम पनि तुरुन्त हुन्छ । आर्थिक चलखेल नभएसम्म सरकारी कर्मचारीले काम नै गर्दैनन् । सरकारी कर्मचारीको पैसामा बिक्ने प्रवृत्तिका कारण जनताले छिटोछरितो सेवा पाएनन् । यता, सरकारी कर्मचारीकै कारण सरकार लज्जित बन्नुपरेको छ । सरकारी कार्यालयमा आएका जनताको अवस्था हे¥यो भने देख्नेको मन नै खिन्न हुन्छ ।
सरकारको कर्मचारीलाई त्यसले केही फरक पर्दैन । जसरी हुन्छ तिनलाई ठगेर पैसा कमाउनु मात्र छ । खुट्टामा एक जोर चप्पल नभएका, झुत्रा लुगा लगाएर आएकालाई समेत लुट्न छोड्दैनन् । जोसंँग एक जोर चप्पल किनेर लाउने पैसा छैन, त्यस्तोसंँग पनि घुस माग्छन् । लेखनदास, दलालीले घुस नखाइकन काम गर्दैनन् । सीधासाधी, बोल्न नसक्ने र अशिक्षित जनतालाई सरकारले नै ठग्ने गरेको छ ।
सरकारी कर्मचारी जनताले तिरेको करबाट सेवासुविधा खान्छन् । जनतालाई सेवा दिन्छौं भन्छन् तर जनता लुट्न छोड्दैनन् । बाहिरबाट जति सफासुग्घर भएर के गर्नु, भित्री नियत मैलो छ । सरकारी कर्मचारीहरु जनताबाट घृणित भएका छन् । आफ्नो कारणले जनताले कति दुःख पाएका छन् ? तिनलाई थाहा छैन । जनताका लागि सरकारी कर्मचारी सर्प बनेका छन् ।
देशको अर्थतन्त्र पल्टिने अवस्थामा छ । सरकारी कर्मचारीका कारण मुलुक सिद्धिन लागिसकेको छ । सरकारले विदेशी ऋण लिएर कर्मचारीहरुलाई तलब खुवाइरहेको छ । जनताले तिरेको कर विकासमा भन्दा पनि उनीको सेवासुविधा पूर्ति गर्दै ठिक्क भएको छ । कामचोर कर्मचारीहरुलाई निवृत्तिभरण (पेन्सन) पनि खुवाउनुपर्ने बाध्यता छ । यता, महंगा गाडी पनि सरकारले नै किनेर दिनुपरेको छ ।
सरकारी कर्मचारीहरु सेवासुविधाको एकदमै भोगी भए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र शुद्धीकरण विभाग पनि सरकारी कार्यालय नै हो । यहाँभित्र बस्ने पनि सरकारी कर्मचारी हुन् । अख्तियार र शुद्धीकरण विभागका कर्मचारी पनि घुस्याहा नै त हो । घुस आयो भने तिनीहरु पनि चुप लाग्छन् । नेपालमा भ्रष्टाचारको बिगबिगी छ तर गर्ने केही होइनन् ।
सेवासुविधा पचाउने काम मात्र हो यिनीहरुको पनि । कहाँकहाँबाट घुस झार्न सकिन्छ, सुँघेर हिँड्छन् । राजनीतिक दलको झोले बन्ने अनि सरुवा बढुवा गर्नुप¥यो भने नेताको गुलामी गर्न पुग्ने । अनि देशमा भ्रष्टाचार नमौलाएर के मौलाउँछ ? सरकारी कर्मचारीमाथि देश डुबाएको आरोप लागेको छ । जनताले तिरेको करबाट तलबभत्ता खाने, लुगा लगाउने, गाडी चढ्ने, उपचार गर्ने, देशविदेश घुम्ने गर्दागर्दै देश सकियो ।
विदेशी ऋण बढेको बढ्यै छ । कर्मचारीलाई केही फरक नै पर्दैन । जसरी हुन्छ आफ्नो भुँडी भर्न पाए हुन्छ । अरु मरुन् कि बाँचून् । सरकारी कर्मचारीहरु जहिले पनि नेतामाथि आरोप लगाएर पन्छिन खोज्छन् । सरकारी कर्मचारीहरु भन्दै आएका छन्, ‘देश नेताले बिगारे । देशको यस्तो हालत हुनुमा नेताहरुको हात छ ।’ तर, आफूले के गरिरहेको छु भनेर फर्किएरसमेत हेदैनन् ।
मुलुकमा परिवर्तन ल्याउनमा नेताहरुकै हात छ । उनीहरु जेल नगएको भए, कुटाइ नखाएको भए, जिब्रोमा करेण्ट नलगाएको भए नेपाली जनता यसरी बोल्न पाउँदैैनथे । नेताहरुले पदमा बस्दासम्म भ्रष्टाचार गर्छन्, त्यो सबै चुनावमा खर्च हुन्छ । सरकारी कर्मचारीहरुले भ्रष्टाचार गर्छन्, विदेशी बैंकमा लगेर लुकाउँछन् । सरकार धान्न नसक्ने अवस्थामा आइसकेको छ ।
सरकार ऋण लिने, कर्मचारी तलबभत्ता र सेवासुविधा लिन नछोड्ने । सरकारी जागिरे श्रीमान् मरेपछि श्रीमतीले ‘पेन्सन’ पाउँछन् । श्रीमती मरे पनि श्रीमान्लाई लगातार भत्ता आइरहन्छ । अनि के चाहियो ? कर तिर्ने जनता भोकभोकै हिँडेका छन् । उपचार गर्न नसकेर रोग पालेर हिँडेका छन् । जिऊमा लुगा नभएर लामखुट्टेलाई टोकाएर बसेका छन् । सरकारलाई जनताप्रति दया जाग्दैन् ? गरिब जनताको छोराछोरीले पढ्न पाएका छैनन् ।
सरकारी कर्मचारीका छोराछोरी राम्रा शैक्षिक संस्थामा पढ्छन् । यहाँ पढेर बाहिर जान्छन्, उही आरामदायी जिन्दगी बिताउँछन् । जनताका छोराछोरी हिजो पनि भारी बोक्थे आज पनि बोकिरहेका छन् । जागिर खाएको पाँच वर्षमा घर बनाइसक्छन्, सरकारी कर्मचारी । मिठोमसिनो खाइरहेका हुन्छन्, छोराछोरी राम्रै ठाँउ पढाएका छन्, कसरी ? काम छिटोछरितो नगरिदिँदा जनता लोकतन्त्रको व्यवस्था ठीक छैन भन्न थालेका छन् ।
नेताहरुले लडेर ल्याए तर कर्मचारीका कारण जनताहरु आजित भएका छन् । लोकतन्त्र नै अप्ठ्यारोमा परेको छ । नेताहरुमाथि हिलो छ्यापेका छन्, कर्मचारीहरुले । सरकारी कर्मचारीहरु राजनीतिक दलको झोला बोक्छन्, सेवासुविधा लिन्छन्, अनि हाजिर गर्नेबित्तिकै घरतिर दौडिन्छन् । सरकारले पुराना कर्मचारी हटाएर नयाँ भर्ती गर्नुपर्छ । अहिले खाइरहेका तलबको आधामा काम गर्ने कर्मचारीहरु भेटिन्छन् । होइन भने, यस्तै पाराले मुलुकको सुधार सम्भव छैन ।