भावी सरकारका लागि चर्चा :देउवाको सानदार जित गठबन्धनबारे मूल्यांकन

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम आउन थालेसँगै भावी सरकारको विषयलाई लिएर चर्चा चल्न थालेको छ । भावी सरकार पनि हालको सत्तारुढ गठबन्धनबाटै योजनासहित गठबन्धनकारी दलहरु निर्वाचनमा होमिए पनि रवि लामिछाने नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको जित तथा मतका कारण गठबन्धनलाई धक्का लाग्न पुगेको छ । हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेका कारण नतिजा राम्रो निकाल्न सफल गठबन्धनका दलहरुका लागि लामिछानेको दलको उदयले धक्का दिन पुगेको छ ।
रास्वपाले काठमाडौंका चारवटा निर्वाचन क्षेत्रमा जित निकालेको छ भने ललितपुरको एउटा क्षेत्रमा पनि जित निकालेको छ । यसैगरी चितवनको दइटा निर्वाचन क्षेत्रमा जित निकाल्ने अवस्थामा रहेको सो दलले मुलुकका अन्य केही क्षेत्रमा समेत राम्रो उपस्थिति देखाएका छन् । उक्त दलले देशभरी नै उल्लेख्य मत पाएको अवस्थामा त्यसले परम्परागत रुपमा निर्वाचनमा होमिँदै आएका दलहरुको अवस्थामा परिवर्तन ल्याइदिएको अवस्था छ । सोही दलले प्राप्त गरेको मतको आधारमा कतिपय निर्वाचन क्षेत्रमा एउटाले जित्ने भन्ने अनुमान लगाइएको अवस्थामा अर्को दलको उम्मेदवार निर्वाचित हुने अवस्था आएको देखिन्छ ।
रास्वपाले समानुपातिकतर्फ पनि राम्रो मत पाएको अवस्था छ । रास्वपा पछिल्लो अवस्थामा समानुपातिकतर्फ नेकपा (एमाले) र नेपाली कांग्रेसपछि बढी मत पाउने दलको रुपमा आएको छ । संघीयतर्फमात्र उम्मेदवारी दिएको रास्वपाका कारण विभिन्न नेताहरुले टाउकोमा हात लगाउनुपर्ने अवस्था आएको छ भने कतिपय नेताहरुको तालुमा आलु फलेको अवस्था छ ।
सो दलले अन्तिमसम्ममा के कति मत समानुपातिकतर्फ प्राप्त गर्छ त्यसले भावी सरकार निर्माणमा समेत प्रभाव पार्ने अवस्था आएको देखिन्छ । सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल रहेका छन् । कांग्रेसले अपेक्षाकृत नतिजा ल्याए पनि अन्य दलले अपेक्षाकृत नतिजा ल्याउन नसक्दा भावी सरकार निर्माणका सम्बन्धमा यो समाचार तयार पार्दासम्म ठोकुवा गर्न नसकिने अवस्था छ ।
उता, प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट सानदार जित निकालेका छन् । उनको यो सातौं विजय हो । २०४८ सालदेखि उनी लगातार सबै निर्वाचनमा डडेल्धुराबाट जित्दै आएका छन् ।
यसपटक उनलाई हराउनका लागि भनी विभिन्न किसिमका खेलहरु भएका थिए । सत्तारुढ गढबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) ले समेत उनलाई समर्थन नगर्ने जनाएको थियो । यसैगरी नेकपा (एमाले) ले समेत उम्मेदवारी नदिएर कांग्रेसबाट निष्कासित भएपछि कांग्रेस (बी.पी.) मा पुगेका कर्ण मल्ललाई समर्थन गरेको थियो ।
उता, एउटा सार्वजनिक कार्यक्रममा देउवालाई प्रश्न गर्दा देउवाले झर्किएर जबाफ फर्काएको भन्दै देउवाको विरुद्धमा उत्रिएका सागर ढकाल दोस्रो बन्न पुगेका थिए । गुल्मीमा जन्मेका ढकाललाई समर्थन गर्दै देउवाको विरुद्धमा सामाजिक सञ्जालहरुमा आवाज उठाउने कार्यहरु भएका थिए । त्यसका बाबजुद पनि देउवाले २५,५३४ पाई विजयी भए । उता, ढकालले भने १३,०४२ मत पाएका छन् ।
सातौंपल्ट विजयी भएका देउवाका लागि पुनः प्रधानमन्त्री बन्न भने निकै ठूलो चुनौती देखिएको विश्लेषण गरिंदैछ । सत्ता गठबन्धनका अन्य दलहरुको कमजोर अवस्था र राष्ट्रिय स्वतन्त्र पार्टीको दह्रो उपस्थिति देखिएपछि देउवासहित सत्ता गठबन्धनलाई भावी सरकार निर्माणमा सकस पर्ने भनी चर्चा चल्न थालेको छ ।
कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूलाई भावी प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका छन् । उनले आफू संसदीय दलमा नेताका प्रतिस्पर्धा गर्ने जनाउ दिएका छन् । उनले आफू निर्वाचित भएका खण्डमा आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि पहल गर्ने पनि जनाउ दिएका छन् । देशैभरी युवाहरुप्रति आकर्षण भइरहेको अवस्थामा भावी प्रधानमन्त्रीका लागि देउवाले सहजै छाडिदिने हुन् वा थापा प्रतिस्पर्धामै उत्रनुपर्ने हो भनी बुद्धिजीवी वर्गले अनुमान गर्न थालेका छन् ।
यसरी निर्वाचन परिणाम अन्तिम नतिजामा नपुगेको स्थितिमा भावी सरकार कसरी र कसको नेतृत्वमा बन्ने भन्ने स्पष्ट खाका बन्न नसकेको अवस्था देखिएको भनी राजनीतिकवृत्तमा चर्चा चलेको छ ।
अन्तिम निर्वाचन परिणामलाई सत्तारुढ दलको गठबन्धनले पर्खिएको अवस्था छ । उनीहरुले दलले प्राप्त गर्ने जितका आधारमा नयाँ रणनीति बनाउने अपेक्षा गरिएको छ । हालको निर्वाचन परिणामलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले खेल्न थालेको अवस्था छ । एमालेले खासगरी माओवादी केन्द्र र एकीकृत समाजवादीले उल्लेख्य सफलता नपाएको भन्दै त्यसमा कांग्रेसले इमान्दारिता नदेखाएको भनी उनीहरुलाई उचाल्ने कार्य गर्दै आएको छ । यो कुरालाई राजनीतिक विश्लेषक रामेश्वर ढकाल भन्छन्, ‘देशैभरी रास्वपाका कारण असर परेको स्थिति छ । एमालेले यसलाई मसला बनाएको मात्र हो । सत्तारुढ गठबन्धन टुट्दैन । सरकार पनि हालकै सत्तारुढ दलहरुको बन्नेछ ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *