चुनाव हारेको रिस महानगरमाथि !

Nayabimarsha (Weekly Newspaper from Nepal)

अनुसा थापा
काठमाडौं उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुर गरेर जम्मा १५ वटा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र छन् । मंसिर ४ गतेको चुनावमा नेकपा (एमाले) ले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ र ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मात्र जित हात पा¥यो । अन्य सबै क्षेत्र एमालेले गुमायो । २०४८ देखि २०७४ सालसम्म निरन्तर चुनाव जित्दै आएको क्षेत्रबाट पनि एमालेले हात हटाउनुपर्‍ यो । २०७९ सालको चुनावमा एमाले धेरै क्षेत्रबाट पराजित भयो ।
एमालेले काठमाडौंमा चुनाव हार्नुको कारण महेश बस्नेत रहेको चर्चा चलेको छ । उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई ठीक पार्ने भन्दै धम्काएका थिए । बस्नेतले साहलाई चुनौती दिएका थिए । उनलाई त्यति गाली गर्दा वा तर्साउन खोज्दा काठमाडौंका मतदाताले एमालेलाई ठीक पारिदिएको चर्चा अहिले चलिरहेको छ । यता, भक्तपुर क्षेत्र नम्बर २ बाट बस्नेत पराजित हुनुको कारण पनि यही रहेको भनी चर्चा चल्ने गरेको छ ।
साहलाई गाली गरेपछि त्यो कुराले काठमाडौंको मात्र नभई भक्तपुरका जनताको पनि मनमा परेको थियो । भक्तपुरका मतदाताले त्यसैले बस्नेतलाई ठीक ठाउँ देखाइदिएका हुन् । राजनीतिक दलका प्रमुख रहेका बखत केही काम नगरेपछि काठमाडौंका मतदाताले स्वतन्त्र चुनेका थिए । बालेनलाई ६३ हजार एक सय ६७ मत दिएर विजयी गराएका थिए । बालेनले विजयी हुनेबित्तिकै देशभरका जनता उत्साहित भएका थिए ।
उनले प्रमुखको शपथ खानेबित्तिकै आफ्नो कामलाई अघि बढाए । उनको काम देखेर देशभरका जनता हर्षित भएका छन् । उनले सबैको ध्यान आफ्नोतिर खिचेका थिए । काठमाडौंको मतदाताको शिर ठाडो भएको छ । भुरादेखि बुढासम्म सबै बालेनको पक्षमा देखिन्छन् । आफू जुनसुकै दलको भए पनि आखिर सबैलाई चाहिएको त विकास नै हो । त्यसैले पनि बालेनले के गर्छन् ? भनेर जनता पर्खिरहेका हुन्थे ।
चिया पसल, चौतारा, सार्वजनिक स्थल सबैतिर बालेनकै चर्चा थियो । बालेनजस्तो व्यक्तिले देशको मुहार फेर्छन् भन्नेमा जनता निकै नै आशावादी थिए । बालेनलाई असफल बनाउनका लागि एमालेका केशव स्थापितले फोहोरमा पनि राजनीति गरे । आफू पराजित भएको आवेग त यिनीहरुमा थियो नै तर यसको मार जनताले खेप्नुप¥यो ।
बालेनलाई फोहोर उठाउन दिएनन् । उनी हरेक चुनौती र योजनालाई चिर्दै आफू अघि बढे । खुट्टा तान्दातान्दै पनि उनले फोहोर उठाएरै छाडे । फुटपाथभरि पसल सञ्चालनमा थिए । उनले त्यो हटाए । अहिले पैदल यात्रीलाई निकै सहज भएको छ । यता, उनले बेसमेण्ट पार्किङ पनि खाली गराएरै छाडे । काठमाडौंमा लामो समयदेखि पार्किङको समस्या थियो । अहिले त्यसमा कमी भएको छ । बालेनले बेसमेण्ट पार्किङमा पार्क नै गर्नुपर्ने नियम बनाइदिए । वर्षौंदेखि नउठेको कर उठाउन पनि उनी सफल भए । व्यापार व्यवसायलाई अनिवार्य दर्ता गर्नुपर्ने नियम लागू गरे ।
सहकारीहरुले विगत लामो समयदेखि सर्वसाधारण ठग्दै आएका थिए । यसको छानविन गर्नका लागि उनले समिति गठन गरेका छन् । यता, सरकारी जग्गा मिचेर वा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन पनि अघि बढेका छन् ।
काठमाडौंका मतदाताको मत खेर नजानु नै सबैभन्दा ठूलो कुरा हो । बालेनले मतदातालाई खुशी बनाए । उनले चुनाव जितिसकेपछि हालै मात्र सम्पन्न निर्वाचनमा स्वतन्त्रहरुको ओइरो नै लाग्यो । रवि लामिछानेजस्तो व्यक्तिले बालेनले जस्तै काम गरेर देखाउँछौं भनेर मत मागे । एमाले र महेश काठमाडौंमा चुनाव हारेको रिस बोकेर बसेका छन् । बालेनकै कारणले मैले चुनाव हारेँ भनेर बस्नेतको मनमा परेको छ ।
यता, एमालेका नेताहरु बस्नेतले त्यति भन्दा आफ्नो जीत गुमेको बताइरहेका छन् । जब बालेनले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन डोजर र महानगर प्रहरी पठाएका थिए, एमालेका कार्यकर्ता, पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओली र महेश बस्नेतबाट संचालित केही व्यक्तिहरु त्यहाँ हातहतियारसहित तयार भए बसेका भनी संचारमाध्यमहरुमा आइरहेका छन् । आन्दोलनको भीडमा सुकुम्बासी नभई एमालेका कार्यकर्ता थिए ।
नगर प्रहरीमाथि ढुंगामुढा गर्ने र हातपात गर्ने सबै एमालेका कार्यकर्ता रहेका भनी अहिले विस्तारै बाहिर आउन थालेको छ । ओली र बस्नेतले आफ्नो कार्यकर्ता खटाएर नगर प्रहरीको टाउको फुटाएका बताइन्छ । उनीहरुलाई मारपिट गरे । महानगरबासीले यसको विरोध गर्नुपर्छ । आफ्नो कर्तव्य (ड्युटी) निर्वाह गरिरहेका नगर प्रहरीमाथि हातपात गर्ने र उनीहरुलाई घाइते बनाउने एमालेका कार्यकर्तालाई महानगरबासीले कारबाही गर्नुपर्छ ।
अबको पाँच वर्षपछिको चुनावमा एमालेले काठमाडौंबाट हात धुनुपर्ने अवस्था यस्ता कारणले उत्पन्न गराइदिने देखिन्छ । एमालेबाट चुनाव जितेकी उपप्रमुख सुनिता डंगोललगायत सबै वडाका वडाध्यक्षले हार्ने संभावना बढेको छ । बालेनमाथि गरेको हर्कतको सजाय जनताले अवश्य पनि दिन्छन् ।
अस्तिको चुनावमा एमालेले जम्मा दुई क्षेत्रबाट चुनाव जितेको छ । अब आउने चुनावमा एमाले काठमाडौं उपत्यकामा शून्यमा झर्छ । एमालेकै कारणले गर्दा सुकुम्बासीको नाममा सरकारी जग्गा कब्जा गरेर बसेकालाई हटाउन नसकिएको बताइन्छ ।
महानगरलाई असफल गराउन खोज्ने एमाले भएको देशभरका जनताले थाहा पाइसकेका छन् । महानगर प्रहरीले देखाएको आँट र हिम्मतलाई जनताले मानेका छन् । जनताले नगर प्रहरीलाई सलाम गर्नुपर्छ । सुकुम्बासी भनेर हुकुमबासीहरु सरकारी जग्गा मिचेर बसेका छन्, तिनलाई हटाउन नगर प्रहरीले कोशिस त ग¥यो, यो नै ठूलो कुरा हो । सुकुम्बासी भनेर काठमाडौंमा घर भएकाहरु छन् ।
छोराछोरी चिकित्सक, इञ्जिनियर भएकाहरु पनि सरकारको सम्पत्ति मिचेर बसेका छन् । प्रमुख बालेनले जसरी भए पनि सुकुम्बासी हटाउनुपर्छ । बालेनको डोजरको खाँचो बागमती किनारलाई छ । सुकुम्बासी बस्ती तुरुन्त हटाइयोस् । राजनीतिक दलहरुले सुकुम्बासीलाई मत लिने भाँडो बनाएका छन् । प्रमुख बालेन र महानगर प्रहरीले सुकुम्बासी हटाउन सकेनन् भने यो एमालेका लागि मत माग्ने मौका बन्छ ।
बालेन र नगरप्रहरीले केही गर्न सकेनन् भन्दै उनीहरुले अर्को चुनावमा यसलाई चुनावी ऐजेण्डा बनाउँछन् । सुकुम्बासी हटाउन पुगेका नगर प्रहरी र डोजरलाई लखेटेपछि एमालेका कार्यकर्ताहरुको मनोबल बढेको छ । अर्को चुनावमा काठमाडौंमा एमालेकै प्रमुख आउने दाबी गर्न थालिएको छ । ओलीको यस्तै कोठे राजनीतिले गर्दा एमाले सखाप भयो । एमाले फुटेर टुक्राटुक्रा भयो ।
काम नगर्ने अनि गुण्डा भाषाको प्रयोग गर्ने एमालेका वरिष्ठ भनिएका नेताहरु भित्तामा पुगे । महानगरको प्रमुख बालेनलाई ओलीले जथाभावी भनेका छन् । यसको क्षति ओलीले पाँच वर्षपछि पाउनेछन् । हेक्का नराखिकन उनले बालेनलाई भलिभाँती सुनाए । यसको असर उनलाई नै पर्नेछ । सुकुम्बासीको नाममा सरकारी सम्पत्ति दोहन गर्नेलाई राजनीति दलकै संरक्षण छ भन्ने त ओलीको भाषण सुनेरै प्रष्ट भइसकेको छ ।
तीनवटा घर भएका व्यक्तिहरुसमेत सुकुम्बासी बस्तीमा छन् । आफ्नो घर भाडामा लगाएर सरकारी सम्पत्ति लुट्न पल्केकालाई ठीक ठाँउमा पु¥याउनुपर्छ । बीसौं रोपनी जग्गा भाडामा लगाएर सरकारी जग्गा मिच्न पाइन्छ ? सुकुम्बासी भन्दै सरकारी जग्गा आफ्नो नाममा ल्याउने अनि त्यहाँ घर बनाएर भाडामा दिने ? यस्ता व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।
नाटक देखाएर सरकारी जग्गा खान पल्केकाहरु । यस्तैलाई ओली साथ र समर्थन गर्छन् । अनि कुरो त मिल्ने भइहाल्यो नि । केही सोचाइ नभएको व्यक्ति कसरी दुईचोटि प्रधानमन्त्री भए ? सरकारको सम्पत्ति साँच्न होइन् मास्नतिर लागेको छ, एमाले । काम नै नगरीकन जग्गा पाउने भएपछि अरु के चाहियो ?
सरकारी जग्गा कसले ओगट्दैन ? हातखुट्टा हुने मान्छेलाई कसरी सुकुम्बासी भन्ने ? काम गरेपछि पैसा कमाइछ, पैसा कमाएपछि जग्गा किन पाइन्छ । के यिनीहरुको हातखुट्टा भाँचिएको छ ? खुकुरी बोक्न सक्नेले काम गर्न सक्दैनन् ? दुःख नगरीकन जग्गा पाउने भएपछि किन सुकुम्बासी नबन्ने ? सित्तैमा जग्गा पाइन्छ ? सरकारले सुकुम्बासीलाई जग्गा दिने नीति नै गलत छ ।
सुकुम्बासीको नाममा जति सरकारी जग्गा बाँडेको छ, त्यो सब सरकारकै नाममा फिर्ता ल्याउनुपर्छ । उसले काम गरेन भने राज्यलाई राजश्व पनि आउँदैन । उनीहरुलाई त्यही लत लाग्दै गएको छ । अरुले दुःख गरेर जग्गा किनेर घर बनाएर बसेका छन् । कोठा लिएर बसेका छन् । यिनीहरु कोठा लिएर बस्नु हुँदैन ? सुकुम्बासीको नाममा राजनीति गर्नेहरुलाई लगेर कोच्नुपर्छ ।
भूमि आयोग पनि सरकारले तुरुन्त खारेज गर्नुपर्छ । आन्दोलन गरेर भरमा जग्गा पाउने भए सबैले आन्दोलन गरौं । किन दुःख गर्ने ? भूमि आयोगका प्रतिनिधिहरु सरकारी सम्पत्ति बचाउन होइन, सिध्याउन आएका हुन् । यिनीहरुले अहिले भूमि बाँड्छन्, भोलि त्यहीँबाट राजनीति गर्छन् । राजनीति दलको कारणले सरकारी सम्पत्ति मासियो । प्रमुख बालेनले आफ्नो क्षेत्राधिकारभित्र रहेको सरकारी जग्गा खाली गर्नुपर्छ ।
यस्तो जाबो आयोगको कुरा सुनेर केही हुनेवाला छैन । बालेनको डोजर स्टार्ट गर्न ढिला भइसकेको छ । सुकुम्बासीका नाममा रहेका हुकुमबासीहरुलाई हटाएरै छोड्नुपर्छ । यहाँको हुकुमबासी हटाइयो भने देशभरकै स्थानीय तहले यस्ता कार्यलाई अघि बढाउने देखिन्छ । यसमा दयामाया, वार्ता गर्न मिल्दैन । रोएर जग्गा पाइन्छ ?

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *