गठबन्धनकै सरकार बन्ने: एमालेको च्याँखे दाऊ/कांग्रेसमा प्रतिस्पर्धा हुने

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ हालको पाँच दलीय सत्ता गठबन्धनले निरन्तरता पाउने देखिएको छ । मंसिर ४ को निर्वाचनपछि बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेपछि हालकै गठबन्धनको सरकार बन्ने देखिएको हो । बैठकपछि प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र संयुक्त जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै हालको गठबन्धनलाई आगामी दिनमा पनि कायमै राख्ने निर्णय गरेका हुन् ।
नेताहरुले हस्ताक्षर गरेको विज्ञप्तिमा ‘निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नु पर्ने स्पष्ट सन्देश दिएको छ ।’ भन्ने उल्लेख छ । निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिएको कुरालाई पनि विज्ञप्तिमा उल्लेख छ ।
आम निर्वाचनअघिको चुनावी सिट तालमेलमा असहमति जनाएर जनता समाजवादी पार्टी बाहिरिएको अवस्थामा हालको गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी आएको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव वेदुराम भुसालको उपस्थिति रहेको थियो । यसैगरी माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङ र नारायणकाजी श्रेष्ठ लगायत उपस्थित थिए । बैठकमा चुनावको परिणामको समीक्षा गरिएको थियो ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको एक सय ६५ वटै तथा प्रदेशतर्फको दुई सय तीन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । यसैगरी समानुपातिकतर्फको मतगणना पनि सकिएकाले विभिन्न दलहरु समानुपातिकको समेत सिटलाई आधार मान्दै आगामी सरकारको विषयमा धारणा बनाउन थालेका छन् ।
मतपरिणामअनुसार एक सय ६५ वटा निर्वाचन क्षेत्रमध्ये ५७ वटामा कांग्रेसले जितेर प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल बनेको छ । दोस्रो स्थानमा रहेको नेकपा (एमाले) ले ४४ सिट जितेको छ । यस्तै, माओवादी केन्द्र १८ सिट जितेर तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको नेकपा (एकीकृत समाजवादी) ले १० सिट जिते पनि राष्ट्रिय दल बन्नका लागि आवश्यक तीन प्रतिशत मत पु¥याउन नसकेको अवस्था आएको छ । यस्तै जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान सात÷सात सिट जितेका छन् । प्रत्यक्षमा एक सिटमात्र जितेर पनि जनमत पार्टी समेत उल्लेखित दलहरु राष्ट्रिय दलको रुपमा पनि स्थापित बन्न पुगेका छन् ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३ सिटमा विजय हासिल गरे पनि राष्ट्रिय दल बन्न नसकेको अवस्था छ । राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले समान एक एक सिट जितेका छन् । यस्तै, पाँचजना स्वतन्त्र उम्मेदवार पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
कांग्रेसले प्रत्यक्षतर्फ ५७ सिट जितेको छ भने समानुपातिकमा दोस्रो स्थानमा रहँदा समानुपातिकबाट ३२ सिट पाउने सम्भावना छ । २०७४ को चुनावमा समग्रमा ६३ सिटमा सीमित भएको कांग्रेसले अहिले शक्ति बढाएर ८९ सिट पु¥याउने छ । अहिले संसद्मा गैरकम्युनिष्ट पार्टीका रूपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको छ । यो पार्टीले प्रत्यक्षतर्फ सात सिट जितेको छ भने समानुपातिकमा १४ सिट पाउने सम्भावना छ । यो पार्टी २१ सिटसहित प्रतिनिधिसभामा चौथो दलको हैसियतमा पुग्ने अवस्था आएको छ ।
अर्को गैरकम्युनिष्ट पार्टी मानिने राप्रपाले पनि आफूलाई नयाँ ढंगबाट स्थापित गरेको छ । २०७४ मा एक सिटमा सीमित भएको राप्रपाको अहिले प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी १४ सिटसहित पाँचौँ शक्ति बन्ने निश्चित देखिएको छ । जनता समाजवादी पार्टीले ७ सिट प्रत्यक्ष जितेको छ भने समानुपातिकमा ५ सिट पाउने सम्भावना छ । जनमत पार्टीले प्रत्यक्षमा एक सिट जिते पनि समानुपातिकबाट ५ सिट पाउने सम्भावना छ ।
महन्थ ठाकुर नेतृत्वको लोसपाले ४ सिट जितेको छ । रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले पनि प्रत्यक्षमा तीन सिट जितेको छ । लालवीर चौधरीले बर्दिया २ बाट स्वतन्त्र उठेर चुनाव जितेकाले उनी उन्मुक्ति पार्टीमै जान सक्ने बताइन्छ । यस्तै, कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उठेर सर्लाही ४ बाट चुनाव जितेका डा. अमरेश सिंह पनि गैरकम्युनिष्ट भएकाले उनलाई पनि हालको सत्ता गठबन्धनसँगै राखेर हेर्ने गरिएको छ ।
माथिको आधारमा गणना गर्दा यो संसद्मा गैरकम्युनिष्ट सांसदको संख्या एक सय ६१ पुग्ने भनी चर्चा चलेको छ । कांग्रेसले चाहे माओवादी केन्द्र र एकीकृत समाजवादीको सहभागिता विना नै सरकार बनाउन सक्ने सम्भावना पनि उत्तिकै रहेको राजनीतिक विश्लेषक रामेश्वर ढकाल बताउँछन् ।
यसरी सत्ता गठबन्धनमा सामेल दलहरुको अवस्थाका कारण एमाले तनावमा परेको छ । एमाले हालको सत्ता गठबन्धनलाई जसरी पनि फुटाउने पक्षमा देखिएको छ । एमाले अबको दिनमा बन्ने नयाँ सरकारमा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई जसरी पनि रोक्ने पक्षमा देखिएको छ । यसकालागि एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउन नसके पनि उनीहरुलाई जसरी पनि रोक्ने नीति लिएको छ ।
तेस्रो शक्तिको रुपमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनका बीचमा खेल्ने प्रयास गरेका थिए । उनले आफ्नो दल कुनै पनि विकल्पमा जानसक्ने भनी छलफलमा बसेको भन्ने वित्तिकै त्यसले राष्ट्रिय राजनीतिमा हल्लीखल्ली ल्याएको थियो । कतिपयले माओवादी एमालेसँग पनि मिल्न सक्ने अवस्था रहेको भनी विश्लेषण भैरहेको अवस्थामा सत्तारुढ दलहरुको बैठकमा माओवादीले आफूलाई हालको गठबन्धनमै रहने भनी निर्णय गरेको छ ।
माओवादी रातारात परिवर्तनको भएको अवस्थामा एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउन नसक्ने बुझाइमा पुगेको हो । आफ्नो नेतृत्वमा सरकारमा बनाउन नसक्ने अवस्थामा एमालेले विभिन्न कार्डहरु फ्याल्न थालेको छ । यसक्रममा एमालेले पहिलो कार्डको रुपमा कांग्रेसको नेतृत्वमा एमाले सहितको दुई दलीय सरकार बनाउने कुरा आएको छ । जनमत दुई ठूला दलको पक्षमा देखिएको भन्दै एमालेले कांग्रेस एमाले मिलेर सरकारमा जाँदा त्यो सबैभन्दा राम्रो हुने भनी एमालेका नेताहरुले भन्न थालेका छन् ।
यस्तो अवस्था नआउने हो भने एमालेले अर्को कार्ड पनि फ्यालेको छ । एमालेले अरुलाई रोक्नका लागि बरु आफ्नो दलले कांग्रेसको नेतृत्वमा एक दलीय सरकार बनाउन सहयोग गर्ने कुरा आएको छ । यस्तो अवस्थामा जानका लागि कांग्रेस तयार भएमा एमालेले पाँच वर्षकै लागि लिखित रुपमा समेत प्रस्ताव दिने बताइएको छ ।
कांग्रेसका लागि यस्ता कार्डहरु आए पनि कांग्रेसका सभापति शेरबहादुर देउवा हालको गठबन्धनलाई नै निरन्तरता दिने पक्षमा देखिएका छन् । उनले कसैको प्रलोभनमा पर्ने भन्दा पनि हालको गठबन्धनलाई निरन्तरता दिने पक्षमै रहेका कारण एमालेको प्रयास असफल हुने देखिएको चर्चा छ ।
यस्ता कार्डहरु आए पनि देउवा भने झिनो बहुमत भन्दा पनि हालको गठबन्धनमा थप केही दलहरुलाई सामेल गरी राम्रो बहुमतको सरकार बनाउने पक्षमा देखिएका छन् । यसकालागि देउवाले जनमत पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टीलाई समेत समेटेर नयाँ सरकारको लागि तयारी थालेको अवस्था छ ।
निर्वाचनको मुखमा एमालेसँग टाँसिन पुगेको जसपा निर्वाचन परिणामबाट एमालेसँगको सम्बन्ध टुटाउने अवस्थामा पुगेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दलले एमालेसँगको सहकार्यलाई अघि बढाउन नसकिने बताएका छन् । उनले भने अनुसार उनी पनि हालको सत्ता गठबन्धनमै सामेल हुन चाहेको बताइन्छ ।
जसपा सरकारमा जाने अवस्थामा जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीलाई सरकारमा सामेल नगराए पनि हुने अवस्था रहन्छ । त्यसैले पनि यादवले आफूलाई सरकारमा जानलाई भन्दा पनि आपूmलाई निर्वाचनमा हराएका जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतलाई सरकारमा जानबाट रोक्नका लागि प्रयास गरेको चर्चा छ ।
उता, सरकार बनाउने विषयलाई लिएर कांग्रेसमा विवाद नभए पनि सरकारको नेतृत्व गर्ने विषय भने अहिले अलि विवादित देखिएको छ । कांग्रेसका सभापति देउवा अब बन्ने सरकारको नेतृत्व गर्ने पक्षमा देखिएका छन् । उनले आफूलाई सरकारको नेतृत्व गर्नका लागि सत्तारुढ दलहरुले समेत रुचाउने कारण देखाउँदै अबका दिनमा पनि प्रधानमन्त्रीकै रुपमा रहन चाहिरहेका छन् ।
उता, कांग्रेसका महामन्त्री समेत रहेका युवा नेता गगनकुमार थापाले आफूलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा चर्चामा ल्याएका छन् । उनले कांग्रेसको संसदीय दलमा आफूले उम्मेदवारी दिने भनी घोषित गरिसकेका छन् ।
यसैगरी संसदीय दलको नेताको लागि शेखर कोइराला, शशांक कोइराला र प्रकाशमान सिंहले समेत दाबी गरेका छन् । उनीहरुमध्ये उपप्रधानमन्त्री बनिसकेका सिंहले एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीसमेतलाई भेटी एमालेको समेत समर्थन पाउन सक्ने सन्देश दिन चाहेका छन् ।
कांग्रेसको संसदीय दलको नेताको चुनाव नै भए पनि देउवा सशक्त रुपमा रहेको अवस्था छ । निर्वाचित भएर आएका सांसदहरुमध्ये बहुमतको समर्थन देउवालाई नै रहने अवस्था रहेको चर्चा छ । यस्तो अवस्थामा कांग्रेसभित्र आन्तरिक प्रतिस्पर्धा नै भए पनि देउवा नै चुनिने संभावना प्रबल रहेको बताइन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *