प्रदेशसभामा कसको हैसियत कति ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ हालै अर्थात गत मंसिर ४ गते सम्पन्न सातवटै प्रदेशसभाको प्रत्यक्ष निर्वाचनतर्फको परिणाम सार्वजनिक भएको छ । तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाममा प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा (एमाले) दुई प्रदेशमा ठूलो दल बनेका छन् ।
मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो दलको रुपमा रहेको छ । यसैगरी एमाले प्रदेश नं.१ र लुम्बिनी प्रदेशमा पहिलो बनेको निर्वाचन आयोगको अभिलेखबाट देखिएको छ । कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेस र नेकपा माओवादी केन्द्र समान नौ÷नौ स्थानमा विजयी भएका छन् ।
यसरी समग्र रुपमा हेर्दा प्रदेशसभामा एक सय ११ स्थानमा विजयी हुँदै कांग्रेस ठूलो दल बनेको छ । एमालेले ९१, माओवादी केन्द्रले ५४, नेकपा (एकीकृत समाजवादी) ले १५, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालले ११÷११ स्थानमा विजयी भएका छन् । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीले नौ, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले सात÷सात तथा नेपाल मजदुर किसान पार्टी र हाम्रो स्वाभिमान पार्टीले एक÷एक स्थानमा प्रत्यक्षतर्फ जित निकालेका छन् । यसैगरी १२ जना स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका आयोगले जनाएको छ ।
प्रदेश नं.१ को प्रत्यक्षतर्फको ५६ सिटमा कांग्रेस १७, एमाले २५, माओवादी केन्द्र नौ र एकीकृत समाजवादी दुई स्थानमा विजयी भएको आँकडा आएको छ । मधेश प्रदेशको ६४ सिटमा कांग्रेस १३, एमाले १५, जसपा नौ, लोसपा सात, जनमत पार्टी छ, माओवादी केन्द्र र एकीकृत समाजवादी चार÷चार स्थानमा विजयी भएका छन् । मधेश प्रदेशसभामा छजना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
यस्तै राजधानी काठमाडौं समेत रहेको बागमती प्रदेशसभाका ६६ सिटमा कांग्रेस २५, माओवादी केन्द्र १४, एमाले १३, राप्रपा सात, एकीकृत समाजवादी पाँच तथा नेमकिपा र हाम्रो नेपाली पार्टी एक÷एक स्थानमा विजयी भएका छन् । उता, गण्डकी प्रदेशसभाका ३६ सिटमा कांग्रेस १८, एमाले १२, माओवादी पाँच र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र रुपमा विजयी भएका राजीव गुरुङ (दीपक मनाङ्गे) नेकपा (एकीकृत समाजवादी) मा सोमबार प्रवेश गरेका छन् । उनको प्रवेशसँगै सो प्रदेशमा एकीकृत समाजवादीको पनि एक स्थान हुन पुगेको छ ।
यस्तै, लुम्बिनी प्रदेशसभाका ५२ क्षेत्रमा एमाले १८, कांग्रेस १७, माओवादी पाँच, राप्रपा, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टी दुई÷दुई, जनमत पार्टी एक तथा तीन स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । यसैगरी कर्णाली प्रदेशसभाका २४ सिटमा कांग्रेस र माओवादी नौ/नौ, एमाले पाँच र स्वतन्त्र एक तथा सुदूरपश्चिम प्रदेशसभाका ३२ क्षेत्रमा कांग्रेस १२, माओवादी केन्द्र आठ, नागरिक उन्मुक्ति पार्टी पाँच, एमाले र एकीकृत समाजवादी तीन÷तीन तथा एक स्वतन्त्र उम्मेदवार विजयी भएका आयोगको आँकडामा देखिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *