भीष्म पितामह वाँणको शैयामा थिए । श्रीकृष्णले युधिष्ठिरलाई भने – पितामह भीष्म जीवन र मृत्युको बीचमा हुनुहुन्छ । जाऊ, तिमीलाई जे सोध्न मन लाग्छ उहाँलाई सोध ।’ युधिष्ठिर कृष्ण, कृप र पाण्डवहरूसँग कुरुक्षेत्र पुगे । त्यसबेला मृत्युशैयामा सुतिरहेका भीष्मले राजधर्म, मोक्ष धर्म र स्वधर्म आदिमा उपदेश दिएका थिए । यो उपदेश सुनेर युधिष्ठिर दोष र पश्चात्तापबाट टाढा भएका थिए ।
भीष्मले भनेका उपदेशहरुमा मन वशमा राख्नु, घमन्ड नगर्नु भन्ने थियो । विषयहरूप्रति बढ्दो इच्छाहरू रोक्नु, कटु शब्द सुनेर पनि उत्तर नदिनु, अरूको प्रहारपछि पनि शान्त हुनु भनेका थिए । यसैगरी पाहुना र असहायलाई आश्रय दिनु । अरूको आलोचना नगर्नु र नसुन्नु । नियमित रूपमा शास्त्र पदहरू पढ्ने र सुन्ने गर्नु । दिनको समयमा नसुत्नु । आफूलाई आदर नचाहेर, अरूलाई आदर गर्नु । क्रोधको अधीनमा नबस्नु । स्वादको लागि नभई स्वास्थ्यको लागि भोजन गर्नु ।
भीष्म पितामहले युधिष्ठिरलाई त्यो बेला दिएको उपदेशमा सत्य धर्म सबै धर्महरूमा सर्वश्रेष्ठ धर्म हो । ’सत्य’ सनातन धर्म हो । तप र योग सत्यबाट उत्पन्न हुन्छन् । अरू सबै धर्म सत्यको अधीनमा छन् । सत्य ब्रह्म हो, सत्य तपस्या हो, सत्यबाट मानिस स्वर्ग जान्छ । झूट अन्धकार जस्तै हो । अन्धकारमा रहने मनुष्य तल गिर्छ । स्वर्गलाई प्रकाश र नर्कलाई अन्धकार भनिन्छ । सत्य बोल्नु, सबै प्राणीलाई समान व्यवहार गर्नु, इन्द्रियलाई नियन्त्रणमा राख्नु, ईष्र्या–द्वेषबाट बची रहनु, क्षमा, विनय, लज्जा, अरूलाई कष्ट नदिने, कुकर्मबाट टाढा रहनु, ईश्वरभक्ति, मनको शुद्धता, साहस, विद्या यी तेह्र सत्य धर्मका लक्षण हुन् । वेदले सत्यको उपदेश दिन्छ । हजारौँ अश्वमेध यज्ञजस्तै सत्यको फल हुन्छ ।
यसैगरी उनले दिएका उपदेशहरुमा ‘अरूलाई प्रिय लाग्ने शब्दहरू बोल्नु । अरूलाई नराम्रो बोल्नु, अरूको आलोचना गर्नु, नराम्रो शब्द बोल्नु, यी सबै त्याग गर्न लायक छन् । अरूको अपमान गर्नु, अहङ्कार र दम्भ गर्नु अवगुण हो । यस संसारमा प्राप्त हुने सुख कामनाहरू पूरा गर्नाले मिल्छ र जो सुख परलोकमा प्राप्त हुन्छ त्यो यस सुखको सोह्र हिस्सा पनि होइन जुन सुख चाहनाबाट मुक्त भएपछि प्राप्त हुन्छ । जब मानिसले आफ्नो इच्छालाई आफूभित्र तान्छ, जसरी कछुवाले आफ्ना सबै अङ्गहरू भित्र तान्छ, तब आत्माको ज्योति र महत्त्व देखिन्छ । आफूलाई नियन्त्रण गर्न चाहने व्यक्ति लोभ र मोहबाट मुक्त हुनुपर्छ ।’
‘मृत्यु र अमृतत्व दुबै मानिसको अधीनमा छन् । मोहको फल मृत्यु हो र सत्यको फल अमरता हो । बुढेसकालले संसारलाई चारैतिरबाट घेरेको छ । मृत्युको प्रहार त्यसमाथि भइरहेको छ । दिन बित्छ, रात बित्छ । तिमी किन जाग्दैनौ ? अहिले उठ समय खेर जान नदेऊ । आफ्नो कल्याणको लागि केही गर । तिम्रो काम समाप्त नभई मृत्युले उछिनेर लानेछ । स्वयं आफ्नो इच्छाबाट निर्धनताको जीवनलाई स्वीकार गर्नु नै सुखको हेतु हो । यो मनुष्यको लागि कल्याणकारी हो । यसले मानिसलाई दुःखबाट बचाउँछ । यो बाटोमा हिँड्दा मानिसले कसैलाई आफ्नो शत्रु बनाउँदैन । यो मार्ग कठिन छ, तर असल मानिसहरूका लागि सुगम छ । जुन मनुष्यको जीवन पवित्र छ र यस बाहेक उससँग कुनै सम्पत्ति छैन उसको समान म दोस्रो कोही देख्दिन । मैलै तुलाको एक पल्लामा यस्तो निर्धन र अर्को पल्लामा राज्य राखेको छु । त्यसमा निर्धनताको पल्ला भारी छ । धनवान् मानिस सधैँ डराउँछ, मानौँ मृत्युले उसलाई आफ्नो मुखमा राखेको छ ।’ भीष्म पितामहले त्यो अन्तिम समयमा युधिष्ठिरलाई भनेका थिए ।
यसैगरी ‘त्याग बिना केही पनि प्राप्त हुँदैन । त्याग बिना परम आदर्शको अनुभूति हुँदैन । त्याग बिना मानिस भयमुक्त हुन सक्दैन । त्यागको सहाराले मानिसले सबै प्रकारको सुख प्राप्त गर्छ । इच्छाहरू त्याग्न; त्यसलाई पूरा गर्नु राम्रो हो । आज सम्म आफ्नो सबै मनोकामना पूरा गरेको मानिस को छ ? यी इच्छाहरूबाट बाहिर निस्क । पदार्थहरूको मोहलाई छोड । शान्त चित्त बन । त्यो पुरुष सुखी हो, जसले मनलाई सन्तुलनमा राख्छ, जो व्यर्थको चिन्ता गर्दैन । जसले सत्य बोल्दछ । जो सांसारिक कुराको मोहमा पर्दैन, जसलाई कुनै काम काम गर्न विशेष चेष्टा गर्दैन । जुन मनुष्यले व्यर्थ आपूmले आफूलाई समाप्त गर्छ, ऊ आफ्नो रूप रङ्ग, आफ्नो सम्पत्ति, आफ्नो जीवन र धर्म पनि नष्ट गर्छ । जो मानिस दुःखबाट टाढा रहन्छ, उसले सुख र स्वास्थ्य दुवै पाउँछ । सुख दुई प्रकारका मानिसले प्राप्त गर्दछन् । जो धेरै मूर्ख छ र दोस्रो जसले बुद्धिको प्रकाशमा तत्वलाई देखेको छ । जो मानिस बीचमा रहन्छन् उनीहरू दुःखी रहन्छन् ।’
यसैगरी भीष्म पितामहले आफ्नो अन्तिम समयमा मानवकल्याणका लागि दिएका उपदेशहरुमा ‘अरूलाई धनी देख्दा ईष्र्या नगर्ने एक महान् र सज्जन मानिसको लक्षण हो । उसले विद्वानहरूलाई सत्कार गर्छ र धर्मको सम्बन्धमा सबै स्थानबाट उपदेश लिन्छ । जुन मानिसले आफ्नो भविष्यको नियन्त्रण गर्छ (आफ्नो बाटो आफै तय गर्छ, अरूको कठपुतली बन्दैन), जसले समय अनुसार तुरुन्त विचार र त्यसमाथि आचरण गर्न सक्छ, त्यो पुरुषले सुख प्राप्त गर्दछ । आलस्यले मानिसलाई नष्ट गर्छ । खाना एक्लै खानु हुँदैन । पैसा कमाउने सोच छ भने कसैलाई साथ दिनुपर्छ । यात्रा पनि एक्लै गर्नुहुँदैन । जहाँ सबै सुतेका छन् त्यहाँ एक्लै जागा बस्नु हुँदैन । दम जस्तो कुनै धर्म छैन । दम भनेको क्षमा, धृति, वैर–त्याग, समता, सत्य, सरलता, इन्द्रिय संयम, कर्म गर्ने तत्परता, नम्र स्वभाव, नम्रता, बलियो चरित्र, प्रफुल्ल मन, सन्तोष, मीठो वचन बोल्नु, कसैलाई दुःख नदिनु, ईष्र्या नगर्ने, यी सबै दममा समावेश छन् ।’ भनी भीष्मले दिएका उपदेशहरु रहेका छन् ।
महाभारतमा भीष्म पितामहको घतलाग्दा कुरा
Facebook Comments Box