माछो–माछो भ्यागुतो बने जसपा र जनमत

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ ठूलो भाग खान चुनावमा नेकपा (एमाले) सँग गठबन्धन गरेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र डा. चन्द्रकान्त (सि.के.) राउत नेतृत्वको जनमत पार्टी अन्ततः माछो–माछो भ्यागुतोमा परिणत भएका छन् ।
गत मंसिर ४ गतेको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष राउतसँग पराजित भएपछि यादव पानी बाहिरको माछा जस्तै बन्न पुगेका छन् । सत्ताविना बस्नै नसक्ने यादवको पार्टी जसपाका १२ जना सांसद रहेका छन् । आफ्नो पार्टीले उपप्रधानसहित दुईजना मन्त्री पाउने शर्तमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका यादवको जसपालाई दुईवटा मात्र आकर्षणविहीन मन्त्रालय हात लागेपछि सरकारमा सहभागी भएनन् ।
उपराष्ट्रपति समेत ताकेका उपेन्द्र यादवलाई प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले विश्वास नगर्दा जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने जानकारहरुले बताएका छन् । यता, जसपाका अध्यक्ष यादवलाई पराजित गरेर संसदमा नयाँ शक्तिका रुपमा उदाएका जनमत पार्टीका अध्यक्ष राउत पनि हिस्स परेका छन् । गत पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहालसँगै शपथ खाएका जनमत पार्टीका सांसद अब्दुल खान पनि पद बहाली नगरी बिच्किएका छन् । मन्त्री खानलाई दिने भनेर सहमति गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नदिएर खानेपानी मन्त्रालयको जिम्मेवारी तोकिएपछि खान सिंदरबार नगई थप एक मन्त्रालय माग्न बालुवाटार हानिएको श्रोतले बताएको छ ।
जनमत पार्टीका हाल चारजना सांसद छन् । मन्त्री खान समानुपातिकका सांसद हुन् । खानेपानी मन्त्रालय अन्य विकासे मन्त्रालयमा जस्तो बजेट नहुँदा प्राथमिकतामा नपर्ने र मेलम्चीको झमेलका कारण मन्त्रीहरु जान रुचाउँदैनन् । सरकारमा सहभागी नभएपछि जनमत पार्टीले पनि समर्थन फिर्ता लिन सक्ने बताइएको छ । अब बाँकी रहेका बन र खेलकुद मन्त्रालयमा लोसपा पनि नजाने जानकारहरुले बताएका छन् । शुरुमा आशा देखाएर अन्त्यमा हिस्स पारेका दाहाल र ओलीले आगामी दिनमा निकै पापड बेल्नुपर्ने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *