राष्ट्रपतिको निर्वाचनसँगै नयाँ अध्याय : एमालेको ढोक्सो रित्तो कांग्रेस सरकारमा जाने

Nayabimarsha (Weekly Newspaper from Nepal)
मुख्य समाचार

भक्तपुर / फागुन २५ गते अर्थात विहीवार भएको राष्ट्रपतिको निर्वाचनको परिणामसँगै नेपालको राजनीतिमा नयाँ अध्याय शुरु भएको छ । नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । उनले नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङलाई पराजित गरेका थिए । पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाए । पराजित हुने नेम्वाङले १५ हजार ५१८ मत भार पाए ।
पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाएका हुन् । एमालेका नेम्वाङले ९८ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका निर्वाचन कार्यालय स्रोतले जनाएको छ । संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए ।
संघीय संसदका ३३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका एकजनाले मतदानमा सहभागिता जनाएनन् । कांग्रेसका चन्द्र भण्डारी, नेकपा (माओवादी केन्द्र) का वर्षमान पुन उपचारका क्रममा मुलुक बाहिर रहेकाले मतदानमा सहभागी भएनन् । कांग्रेसका टेकबहादुर गुरुङ निलम्बित अवस्थामा रहेकाले मतदान गर्न पाएनन् । मतदाता नामावलीमा नाम भए पनि फौजदारी मुद्दाका अभियुक्त एमालेका लक्ष्मी महतो कोइरी पनि मतदान गर्न आएनन् ।
उता, प्रदेशसभाका ५५० सदस्यमध्ये ५१८ जनाले मात्र मतदान गरे । राप्रपाका २८, नेपाल मजदुर किसान पार्टीका तीन र जसपाका एक सांसदले मत नदिएको बताइएको छ ।
वरिष्ठ नेता पौडेल नौ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका थिए । बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा राष्ट्रपति निर्वाचन भएको थियो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि मतदान गर्न बेग्ला–बेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको थियो । निर्वाचनमा सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मत भार कायम गरिएको छ ।
राष्ट्रपतिको यो निर्वाचनसँगै मुलुकको राजनीतिमा फेरि कांग्रेसको नेतृत्वको गठबन्धनले मुलुकको राजनीतिलाई अघि बढाउने अवस्था आएको छ । मुलुकले नयाँ राष्ट्रपतिको रुपमा पाएका पौडेल नेपालको राजनीतिमा परिपक्क राजनीतिज्ञ मानिन्छन् । उनले उपप्रधानमन्त्री, सभामुखको जिम्मेदारी सम्हालिसकेका छन् । विभिन्न मन्त्रालयको मन्त्री बनी तथा कांग्रेसको राजनीतिमा तल्लो तहदेखि माथिल्लो तहसम्म जिम्मेदारी सम्हाल्दै आएका पौडेलले नेपालको राजनीति तथा संविधानलाई सही ढंगबाट पालना गर्ने अपेक्षा गरिएको छ ।
राष्ट्रपति पद मुलुकको सर्वोच्च पद भएकाले पनि यसप्रति बढी लगाव दलहरुले दिएका थिए । खासगरी कांग्रेस र एमालेले यसलाई प्रतिष्ठाको विषय बनाएका थिए । सोही पदको विषयलाई लिएर एमालेसँगको गठबन्धनलाई प्रधानमन्त्री पुष्पकमल दाहालको दल नेकपा (माओवादी केन्द्र) ले समेत विशेष महत्व दिएको थियो । त्यसैले माओवादी केन्द्रले आफ्नो भैरहेको गठबन्धनलाई तिलाञ्जलि दिएर भए पनि पौडेलको पक्षमा माहोल तयार पार्न लागिपरेको थियो ।
यो निर्वाचनको परिणामले मुलुकको राजनीतिलाई फेरि नयाँ गठबन्धनसहित लाने देखिएको छ । यो मतपरिणाम प्राप्तिका लागि दलहरुले गरेको नौ दलीय गठबन्धनलाई तोड्नका लागि एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले गरेको भगीरथ प्रयास असफल भएको छ । दलहरुका बीचमा तिक्तता, फाटो ल्याएर भए पनि आफ्नो दलको उम्मेदवारलाई विजयी बनाउने अभियानमा ओली लागेका थिए ।
ओलीको यो प्रयास भने सफल हुन सकेन । गोप्य मतदान हुने भएका कारण पनि कतिपय मतदाताले ‘फ्लोर क्रस’ गरी एमालेका उम्मेदवारको पक्षमा मतदान गर्ने कुरामा ओली आशावादी देखिएका थिए । ओलीको अनुमानले हावा खान पुगेको छ । ओलीकै हैकमवादी शैलीका कारण हालको गठबन्धन भाँडिन पुगेको बताइन्छ । प्रधानमन्त्रीमा नियुक्ति हुनासाथ दाहाललाई ओलीले पेल्न थालेको कारण पनि दाहालले सरकार गठनको दुई महिनामै अर्को गठबन्धन बनाउन बाध्य भएका थिए ।
नयाँ राष्ट्रपतिको निर्वाचनसँगै मुलुकले नयाँ अध्याय शुरु गरेको अपेक्षा गर्न थालिएको छ । यसअघि अर्थात निवर्तमान अवस्थामा पुगेकी विद्यादेवी भण्डारीको सात वर्षे कार्यकाल विवादित बन्न पुगेको थियो । उनी मुलुकको राष्ट्रपतिको रुपमा रहनु पर्नेमा एमालेको नेता कार्यकर्ताको रुपमा प्रस्तुत भएकी भनी उनको बढी आलोचना हुने गरेको थियो ।
त्यस्तो हुनुमा राष्ट्रपति भण्डारीको कार्यशैली नै कारक रहन गएको बताइन्छ । एमालेका अध्यक्ष ओलीले जे जस्तो निर्णय गरे पनि त्यसलाई मध्यरातमा पनि सदर गर्ने तर अरुको हकमा भने त्यस्तो नगर्ने भण्डारीको कार्यशैली विवादित बन्न पुगेको थियो । उनलाई स्वतन्त्र भन्दा पनि एमालेको नेतृको रुपमा मात्र झल्काउने प्रयास भएको भनी वुद्धिजीवीवर्गले भन्ने गरेका थिए ।
यसैगरी नयाँ निर्वाचित राष्ट्रपतिका लागि पनि भण्डारीले गरेका गल्तीलाई नदोहो¥याउनु चुनौतीको रुपमा रहेको छ । राष्ट्रपति भनेको मुलुकको सर्वोच्च पद मात्र नभई संविधानको रक्षकको भूमिका भएको पद पनि हो । त्यसैले यसको गरिमालाई कायम राख्न सक्नु हालका निर्वाचित राष्ट्रपतिका लागि चुनौतीको रुपमा रहेको बताइन्छ । त्यसो त नवनिर्वाचित राष्ट्रपति संविधान बुझेको तथा विभिन्न पदमा बसी अनुभव बटुलिसकेका व्यक्तित्व समेत रहेकाले अबका दिनमा उनले भण्डारीले जस्तो गल्ती नगर्ने अपेक्षा सर्वत्र गरिएको छ ।
निर्वाचन जित्नका लागि दलगत रुपमा उम्मेदवार बने पनि निर्वाचित भएपछि राष्ट्रपति सबैको साझा हुने मान्यता राखिन्छ । त्यसैले पनि अबका राष्ट्रपतिले आफूलाई विवादमा नपारी सबैको अर्थात साझा राष्ट्रपतिको रुपमा आफ्नो गरिमा कायम गर्न सक्नुपर्ने हुन्छ । यसका लागि विगतका गल्तीबाट शिक्षा लिएर नवनिर्वाचित राष्ट्रपतिले कार्य गर्ने अपेक्षा गरिएको छ ।
यसैगरी राष्ट्रपतिलाई नयाँ राजाको अवतारको रुपमा चित्रित गर्ने कार्य भैरहेको भनी त्यसको पनि चर्को विरोध हुने गरेको छ । खासगरी भण्डारीले आफूलाई राजाको शैलीमा चलाएको तथा कतै भ्रमण गर्दा सुरक्षाको नाममा सडकमा सवारीको जाम लगाउने कार्य गरेको भनी उनको आलोचना हुने गरेको छ । त्यसैले नवनिर्वाचित राष्ट्रपतिले त्यसबाट पाठ सिकी भोलिका दिनमा जनताबाट आलोचना हुने खालका कार्यहरु नगरे राम्रो भन्नेहरुको जमात बढेको छ ।
यसैबीच संवैधानिक राजतन्त्र मुलुकको आवश्यकता हो भन्ने मान्यता राख्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले भने राष्ट्रपतिको निर्वाचन प्रक्रियामा भाग लिएको थिएन । राप्रपाले संस्थागत निर्णय गर्दै मतदान प्रक्रियामा सामेल नहुने निर्णय गरेको थियो । अन्तिम अवस्थासम्म पनि निर्णयमा नपुगेको भनी आलोचना खेप्दै आएको राप्रपाले २४ गते निर्णय गरी मतदानमा भाग नलिने निर्णय गरेको थियो । राप्रपाको बैठकमा सहभागी सबैजसोले मतदानमा भाग नलिन सुझाएका कारण उक्त निर्णयमा राप्रपा पुगेको बताइएको छ ।
राप्रपाले आफ्नो पक्षमा मतदान गरोस् भन्ने कामनासहित दुवै दलका उम्मेदवारहरुले राप्रपासँग मत मागेका थिए । अधिकांशले राप्रपाले एमालेका उम्मेदवारलाई मतदान गर्ने अनुमान गरेका थिए । त्यस्तो हुँदा कांग्रेसका उम्मेदवार पौडेललाई त्यसले केही मात्रामा भए पनि नकारात्मक असर पर्न सक्ने अनुमान गरिएको थियो । पौडेलको पक्षमा बनेको गठबन्धनबाट केही मत एमालेका उम्मेदवारतर्पm गएको खण्डमा राप्रपाको मत समेत एमालेलाई प¥यो भने त्यसले केही असर पार्ला कि भनी गठबन्धनका नेताहरु अलि त्रसित अवस्थामा रहेको अवस्था पनि थियो ।
उता, रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत निर्वाचनको दिनको विहान पौडेललाई मत दिने निर्णय गरेको थियो । पछिल्लो समयसम्म अनिर्णित अवस्थामा रहेको उक्त दलले समेत पौडेललाई मतदान गर्ने निर्णय गरेपछि पौडेललाई निर्वाचन जित्न झनै सहज भएको थियो । प्रदेशमा सो दलको सदस्यहरु नरहे पनि संघमा भने १९ जना सांसद रहेका छन् ।
पुष्पकमल दाहाल प्रधानमन्त्री बनी विश्वासको मत लिने समयमा कांग्रेसले समेत विश्वासको मत दिएको थियो । एमालेका अध्यक्ष ओलीको सोचाइ विपरित कांग्रेसले विश्वासको मत दिएपछि त्यसलाई ओलीले शंकाको घेरेमा राखेका थिए । ओलीले त्यो बेला ‘कांग्रेसले माछा पार्नको लागि ढोक्सो थापेको हो, तर त्यो ढोक्सोमा केही पर्नेवाला छैन’ भनी संसदमा प्रतिक्रिया दिएका थिए ।
ओलीले कांग्रेसको ढोक्सोमा केही नपर्ने भने पनि राष्ट्रपति रुपी ठूलो माछा पर्न सफल भएको छ । यसैगरी हालको गठबन्धनलाई असर पार्न सकिएला कि भन्ने सोचका साथ एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिएको थियो । एमालेको उम्मेदवारीका बखत राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता दलहरु कता मत हाल्ने भन्ने कुरामा निर्णयमा पुगिसकेका थिएनन् । त्यसैले एमालेका ओलीले हालको ती दल सहितको समर्थन पाएर गठबन्धनमा सामेल दलहरुमा समेत फुटको अवस्था सिर्जना गर्ने सोच बनाएका थिए ।
एमालेले दिएको उम्मेदवारीलाई लिएर ‘ढोक्सो’ को संज्ञा दिइएको थियो । उक्त ढोक्सोमा केही नपरेको भनी अहिले चर्चा चलेको छ ।
यसरी आफूले थापेको ढोक्सोमा राष्ट्रपति रुपी ठूलो माछा पार्न सफल कांग्रेस एमालेलाई विस्थापित गर्दै सरकारमा सामेल हुने अवस्था सिर्जना भएको छ । राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई साथ दिएको माओवादी केन्द्र सहितका दलहरु सबै नै सरकारमा सामेल हुने अवस्था सिर्जना गरिदिएको छ । चैत्रको पहिलो हप्ता हुने उपराष्ट्रपतिको निर्वाचनमा जनता समाजवादी पार्टीको उम्मेदवारलाई जिताउने सर्तमा गठबन्धनमा सामेल दलहरु एक ढिक्का हुने अवस्था आएको छ । यो अवस्थाले एमाले भने एक्लिने स्थिति देखिएको भनी राजनीतिक वृत्तमा चर्चा चलेको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *