अनुसा थापा
राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको ठगीधन्दा क्रमशः बाहिर आउँदै छ । सिन्सियरका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा अधिकृत मीरा कर्माचार्यले सीधासाधालाई लुटेर अकुत सम्पत्ति जोडेका छन् । हिजो केही नहुनेहरु आज करोडौंका मालिकमा गनिन्छन्, कसरी ? घुस खाँदै कर्जा लगानी गरेर यिनीहरु करोडौंको मालिक बने । अरुलाई समस्यामा पारेर टन्न मोटाएका यिनीहरुको कालो कर्तुत छरपष्ट भइसकेको छ ।
काठमाडौंकै स्थायीबासी भए पनि यी तीन हर्ताकर्ता हुनेखाने परिवारका होइनन् । पुख्र्यौली सम्पत्ति पनि धेरै नभएका यिनीहरुले कसरी यत्रो सम्पत्ति जोडे त ? राजेन्द्रभक्तको ७० देखि ८० करोड रुपियाँसम्मको सम्पत्ति भएको नजिकका व्यक्तिहरु बताउँछन् । हिजो पैदल हिँड्ने राजेन्द्रभक्त आज करोडौंको गाडी चढ्छन् । रोपनी रोपनीमा बनेको घरमा बस्छन् । यता, राजेशको पनि ४० देखि ५० करोडको सम्पत्ति भएको बताइन्छ । उनी कलंकीबाट पुतलीसडक साइकलमा आउथे । कूल पुख्यौली सम्पत्ति २० लाख बराबरको थियो ।
एउटा सहकारीको कार्यकारी सञ्चालकले रातारात कसरी मालामाल भए ? निजी अस्पतालमा १५ वर्षअघि मासिक १० तलबमा काम गर्ने मीरा आज करोडौंको मालिक छिन् । एउटा कर्जा अधिकृतको मासिक तलब कति हुन्छ ? २३ वर्षअघिको राजेन्द्र, राजेश र १५ वर्षअघिको मीरालाई देख्ने जति अहिले आश्चर्यचकित बन्छन् । उनीहरुले करोडौंको सम्पत्ति घुस खाँदै कर्जा लगानी गर्दै जोडेको त छर्लङ्ग भइसकेको छ । सिन्सियरबाट ऋण खानेहरु सबै विस्थापित भएका छन् ।
कुनै पागल भए, कुनै भूमिगत भए, कुनै जेलमा छन् त कुनै सुकुम्बासी भए । सिन्सियरले घुस पनि खायो, धितो पनि पचायो । अनि निमुखाहरु कहाँ जाने ? उनीहरु त बौलाइहाले । कर्जावालहरुलाई आफ्नो मीठा कुराको दलदलमा फसाएर उनीहरुको उठीबास लगाउने अनि अझै पनि हामी अब्बल संस्थाका हौं भन्न त यी तीन जनालाई लाज लाग्नुपर्ने हो । सिन्सियर कसरी त्यहाँ पुग्यो ? यो कसलाई थाहा नभएको कुरा हो र ? हिजो करोडको धितो हुने व्यक्तिहरु आज सडकछाप बनेर हिँडेका छन् ।
उनीहरुकै सम्पत्तिमा त यी तीन हर्ताकर्ताले मोजमस्ती गरेका हुन् । चिया, पानी, मःम खाऊ भन्ने अनि त्यो गर्दागर्दै सकाइदिने । सिन्सियरले सहकारी दर्ता गर्नुको उद्देश्य नै सीधासाधालाई चिप्ला कुरा धसेर सुकुम्बासी बनाउनु हो । नेपालमा साँच्नै नै सरकार छ भने सिन्सियर पीडितलाई न्याय दिनुपर्छ । सिन्सियरले कतिलाई उठीबास लगायो ? यसको छानबिन हुनुपर्छ । अरुलाई रुवाएर यिनीहरुले गलत रुपमा जोडेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ ।
आफ्नो कालो कर्तुत बाहिरिन थालेपछि सिन्सियरका तीन हर्ताकर्ताले सम्पत्ति लुकाउन थालेको यिनीहरुलाई नजिकबाट नियालिरहेकाहरु बताउँछन् । स्थापनाकालदेखि नै सिन्सियरले घुस खाँदै आएको छ । १५ लाखको ट्याक्सी राखेर १० लाख रुपियाँ कर्जा दिँदा २५ हजार त घुस नै खाने गरेको ऋणीहरु बताउँछन् । सिन्सियरले सेवाशुल्क र चर्को ब्याज लिँदै आएको छ । यता, तीन किस्ता नतिर्ने बित्तिकै ट्याक्सी नै पचाइदिन्थ्यो । घर, जग्गा र शेयरमा पनि उही नै गर्छ ।
प्रहरी प्रशासन, राजनीतिक दल र गुण्डाको आडमा सिन्सियरले २०५७ सालदेखि यो धन्दा चलाउँदै आयो । यो कुरा बाहिर आएपछि सिन्सियरको होश उडेको छ । आफ्नो हर्कत ढाकछोप गर्नका लागि सिन्सियरले हरसम्भव गरिरहेको छ । सिन्सियर आफ्नो गल्ती सुधार्नतर्फ होइन्, झन् थर्काएर कर्तुत लुकाउनतिर लागिपरेको छ । सञ्चारमाध्यमले समाज र राज्यको आँखा खोलिदिएको हो । सहकारी खोलेर सिन्सियरले कसरी ठगीधन्दा मच्चाएको छ ? यो बाहिर ल्याइदिएको छ ।
सिन्सियरले सञ्चारकर्मी कुट्ने, मिडिया हाउसमा गुण्डा पठाउने, तोडफोड गर्ने धम्की दिने, प्रहरीको हवाला दिने, पाता फर्काउनेसम्म चेतावनी दिनेलगायतको काम गर्दै आएको छ । पहिले आफैं धम्काउने अनि प्रेस काउन्सिलमा गएर चोखो बन्न खोज्ने । कतिसम्म चलाखीपूर्ण काम गर्न खोजिरहेको छ सिन्सियरले । यद्यपि, उसको यो हर्कतले केही उखेल्नवाला छैन ।
पीडितहरुको पक्षमा कलम चलाउनु र यस्ता अवैधधन्दा चलाएर वर्षौंदेखि रजाँइ गर्दै आएका ठग संस्थाहरुको विरोधमा लेख्नु भनेको समाजलाई उजागर गराउनु हो । आफ्नो बारेमा राम्रो लेखे मात्र समाचार मान्ने यस्तो ठग संस्थालाई कानूनी दायरामा ल्याउनुपर्छ । पीडितले आत्महत्या गरेपछि मात्र सरकारले छानबिन अघि बढाउने हो ?
सरकार निरीह बन्दा सिन्सियरजस्ता ठगहरुको मनोबल बढेको छ । राजनीतिक दलका ठूल्ठूला नेता चिनेका छौं भन्दै ऋणीलाई चुस्न पाइन्छ ? उनीहरुलाई तहसनहस बनाउन मिल्छ ? सिन्सियरले मीटरब्याजमा कर्जा लगानी गर्दाखेरि धेरै विस्थापित भए । समाजको मुख देखाउने सक्ने अवस्था रहेन ।
एकातिर महंगो ब्याज अर्कोतिर एक किस्ता नतिर्ने बित्तिकै ब्याजको स्याज । घुस पनि खायो, चर्को सेवाशुल्क र महंगो ब्याज पनि लियो । तीन किस्ता नतिर्ने बित्तिकै सबै श्रीसम्पत्ति खाइदिइहाल्यो । अनि त बिचरा ती परिवारको लथालिंग भएन् र ? सिन्सियरको विरोधमा बोल्न सक्ने कोही भएनन् किनकि ऊसँंग राजनीतिक दल र प्रहरी प्रशासनको आड छ । गुण्डा पालेको छ । कसैले चुइँक्क आवाज निकाल्यो कि हातखुट्टा भाँच्ने र एउटा मुद्दा लगाएर जेल कोच्ने धम्की दिइहाल्छ । अनि कसले बोल्न आँट गर्छ ? जसले पत्रकारलाई त धम्काउन छोड्दैन्, त्यसले सीधासाधा जनतालाई बाँकी छोड्छ ? सिन्सियरको विरोधमा अब हरेक पीडित निस्किनुपर्ने बेला भएको छ ।
ज्योति बानियाँ, प्रेम महर्जन, माधव तिम्सिनालगायत उपभोक्ता अधिकारकर्मीहरु सिन्सियरको विरोधमा खडा हुन जरुरी भएको छ । पीडितहरुको न्यायको निम्ति उनीहरुको बोल्नुपर्छ, उजुरी हाल्नुपर्छ । सिन्सियरको ठगीधन्दाको विरोधमा कानून व्यवसायीहरु पनि जागरुक हुनपर्ने बेला आएको छ । सिन्सियरले अहिले पनि राज्य र जनताको आँखामा छारो हालिरहेको छ । राज्यको चौथों अंगलाई त थर्काउँछ भने ऋणीलाई कस्तो व्यवहार गर्छ होला ? ऋण खानेलाई त यसले सबैतिरबाट घेर्छ, च्याप्छ अनि धितो स्वाहा बनाइदिन्छ ।
एकाध मिडियाले हामीलाई हल्लाउन सक्दैन भन्ने भ्रम सिन्सियरमा छ । जब अति हुन्छ, त्यसले धेरै क्षति गर्छ भनेर सिन्सियरले बुझेको छैन । पीडितहरु डर मानेर आजसम्म चुप बसेका थिए । हामीलाई केही गर्ने हो कि ? आफ्नो परिवार खतरामा पर्ने हो कि ? भन्ने डरले सबै गुमसुम थिए यद्यपि त्यो अवस्थाको अन्त्य भएको छ । सिन्सियरबाट पीडित बनेकाहरु अब बोल्नेछन् । पछिल्लो केही समययता सिन्सियरमा अलिक चर्कै भीड देखिन्छ । आफ्नो बचत निकाल्नका लागि बचतकर्ता र शेयरधनीहरुलाई हतारो छ ।
सिन्सियरमा बचत गर्दै आएका सर्वसाधारण र व्यापारीहरुको पनि आँखा खुलेको छ । सिन्सियरको कर्जा लगानी सबै थोत्रा, पुराना र अवधि बटेका ट्याक्सीमा छ भन्ने त सबैलाई थाहा भइसकेको छ । २० वर्ष कटेका ट्याक्सीमा सिन्सियरले थुप्रै लगानी गरेको छ । सरकारले आयु पुगेका ट्याक्सी हटाउने निर्णय गरेको छ । कानुन बनेर कार्यान्वयनमा समेत गइसकेको छ । यी सवारीको दर्ता र रोड परमिट खारेज हुन्छ, बाटामा चल्न पाउँदैनन् । हिजो ऋण खानेलाई सोत्तर बनायो । अब बचतकर्ताको पालो आउने देखिएको छ ।
घुस खाएर जति सम्पत्ति जोडेको छ, यी तीन हर्ताकर्तालाई लुकाउनैकै सास्ती छ । बैंक तथा वित्तीय संस्थाको कारण धेरैले आत्महत्या गरे । पछिल्लो समय यो क्रम थप बढेको छ । बैंक, फाइनेन्स, सहकारी र लघुवित्तले सीधासाधालाई त मर्नपर्ने अवस्थामै पु¥याएको छ । खराब नियत भएका व्यक्तिले वित्तीय क्षेत्र चलाउँदा सर्वसाधारण तहसनहस बने । वित्तीय संस्थालाई नियमन नगर्ने, कानूनको दायरामा नल्याउने अनि जहिले जनता नै मर्नुपर्ने । संस्था भनेर ठगलाई सँधै जोगाइराख्ने ? यो त भएन नि ।
घुस पनि खाने, महंगो सेवाशुल्क र ब्याज पनि लिने, तीन किस्ता नतिर्ने बित्तिकै धितो खाइदिने, तीन पुस्ते निकाल्ने, कालोसूचीमा पठाउने र उनीहरुलाई मर्न बाध्य बनाउने । जनताका लागि राज्य कहाँ छ ? सिन्सियरजस्ता संस्थामाथि राज्यको आँखा जान जरुरी छ । बैंक, फाइनेन्सबाट धेरै पीडित बनेका छन् । धेरैले आत्महत्या गरेका छन् । कर आउँछ भन्दैमा राज्यद्वारा जनताको ज्यान लिनेलाई, उठीबास लगाउनेलाई छुट नहोस् ।