काठमाडौं / विशेष अदालतले चारजना उपसचिवसहित नौजनामाथि भ्रष्टाचारको कसूर ठहर गरेको छ । यातायात व्यवस्था कार्यालय कोशी इटहरी कार्यालयमा राजश्व रकम हिनामिना भएको भन्दै दुई फरक मितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो । विशेष अदालतका अनुसार सजाय निर्धारण भने चैत ८ गतेका लागि तोकेको छ ।
आयोगले यातायात व्यवस्था कार्यालय इटहरीको आर्थिक वर्ष २०७१÷७२ देखि २०७३÷७४ को फागुन मसान्तसम्मको राजश्व रकमबारे अनुसन्धान गरेकोमा ६१ करोड २१ लाख २८ हजार रुपियाँभन्दा बढी रकम हिनामिना भएको भेटिएको दाबी गरी मुद्दा दायर गरेको हो । उपसचिवहरू रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल र नयराज नेपालमाथि मुद्दा दायर भएको हो ।
दाहालमाथि १२ करोड ३० लाख, पौडेलमाथि २३ करोड ७७ लाख र नेपालमाथि २५ करोड १३ लाख रुपियाँभन्दा बढी बिगो मागदाबीसहित मुद्दा दायर भएको थियो ।
यसैगरी सोही कार्यालयका लेखा अधिकृतहरू कुमार कटवालमाथि दुई करोड १४ लाख र टीकाराम अधिकारीमाथि ५७ करोेड २५ लाख रुपियाँभन्दा बढी भ्रष्टाचार गरेको भन्दै उति नै रकम बिगो मागदाबीसहित मुद्दा दायर भएको थियो ।
यस्तै, लेखा अधिकृत सुरेश अधिकारीमाथि ६१ करोड २१ लाख, लेखापालहरू देवराज नेपालमाथि ४५ करोड ६१ लाख र रुद्रप्रसाद दाहालमाथि २१ करोड ६३ लाख बिगो मागदाबी गरिएको थियो । आर्थिक वर्ष २०६९/७० देखि २०७०÷७१ सम्म बैंक दाखिला गर्नुपर्ने आठ करोड ९६ लाख रुपियाँभन्दा बढी रकम मासेर हिनामिना गरेको अभियोगपत्रमा दाबी थियो ।
चारजना उपसचिव भ्रष्टाचारी ठहर
Facebook Comments Box