मुख्य समाचार : सरकार ढाल्ने योजनामा ओली दाहाल सहज अवस्थामा, एमाले अवसरको खोजीमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ पुष्पकमल दाहालले चैत्र ६ गते पुनः विश्वासको मत पाएपछि प्रमुख प्रतिपक्षमा पुगेको नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली भने विक्षिप्त बन्न पुगेका छन् । दोस्रो पटक विश्वासको मत लिंदाको समयमा ओलीका तर्फबाट विष्णुप्रसाद पौडेलले संसदमा दाहालप्रति लगाएका आरोपहरुको दाहालले भित्तामा पुग्ने गरी जबाफ दिएका छन् । दाहालको जबाफले ओली झनै विक्षिप्तमात्र भएका छैनन् कि दाहालप्रति आक्रामक समेत बन्ने अवस्था आएको छ । दाहालसँगको आफ्नो गठबन्धनलाई कायम राख्न नसकेका ओली त्यसको प्रमुख कारक ओली नै रहेको भनी दाहालले प्रष्ट पारेका कारण ओली झनै दाहालसँग इखिएको अवस्था छ ।
ओलीसँगको गठबन्धन बनाएको बेलामा भएका सहमतिहरु ओलीले उल्लंघन गरेका कारण त्यो गठबन्धन भत्किएको दाहालले संसदमा सार्वजनिक गरे । दाहालले भने, ‘ओलीजी मलाई बैशाखसम्म मात्र टिक्नु हुन्छ ।’ दाहालले प्रष्ट पार्र्द भने, ‘यसको मतलब म प्रधानमन्त्रीमा टिक्दिन ।’ ओलीले त्यस्तो भने पनि आफू एमाले र एमालेका अध्यक्ष ओलीसँग सैद्धान्तिक मतभिन्नताका कारण उक्त गठबन्धन तोड्न बाध्य भएको बताए ।
दाहालले संसदमा जबाफ दिंदै भने कि अबको यो गठबन्धन टिक्छ किनकि यहाँ सैद्धान्तिक कुरामा मेल छ । दाहालले आफूले शान्ति, सहमति, संविधान र गणतन्त्रको रक्षाको लागि नयाँ गठबन्धन बनाउन बाध्य रहेको बताउँदै एमालेसँगको गठबन्धन भत्किनुमा ओलीले प्रतिनिधिसभाको विघटनलाई सही भन्दै फेरि पनि पुरानै गतिविधि गर्ने छनक दिएका कारण आफू एमालेसँग सशंकित बन्न पुगेको स्पष्ट गरे ।
ओलीसँग बालकोटमा प्रधानमन्त्री बन्ने बेलामा आफूहरुका बीचमा पुराना कुरा नउठाउने, नयाँ कुरामा मात्र जाने सहमति भएको जानकारी गराउँदै दाहालले भने, ‘ओलीजीले फेरि पनि पुरानो कुरालाई उठाएर सर्त उल्लंघन गर्नुभयो । त्यसै दिन मैले पनि यो गठबन्धनको विकल्प खोज्ने निर्णयमा पुग्नु उचित हुन्छ भन्ने ठानेँ ।’
दाहालले आपूm बालकोट प्रधानमन्त्री बन्नका लागि गएको भन्ने कुरालाई पनि खण्डन गरेका छन् । उनले आफूलाई बालकोट लानका लागि के कस्ता कुरा गरिए भन्ने कुराको बेलिविस्तार पछि कुनै समयमा बताउने भन्ने उनले प्रधानमन्त्री बन्नका लागि मात्र भन्दा पनि एमाले त्यसमाथि ओलीले पुराना गल्तीलाई सच्याएर आफूलाई बोलाएको बुझेको बताउँदै दाहालले भने, ‘पछि ओलीजीले कुरा फेर्नुभयो । कांग्रेसलाई राष्ट्रपति दिएर शक्ति सन्तुलन मिलाउँ भन्दा उहाँले मान्दै मान्नुभएन । त्यस्तो अवस्थामा उहाँसँग रहिरहनु मुलुकका लागि घातक हुने ठानेर अर्को गठबन्धन बनाउन बाध्य भएँ ।’
दाहालले संसदमा विश्वासको मत लिंदै भनेका शब्दहरु ओलीको हृदयमा वाणका रुपमा गलेका छन् । सोही कारण ओली दाहाललाई बैशाखभित्रै प्रतिपक्षी दलको कित्तामा पु¥याउने ध्याउन्नमा रहेको पनि समाचार स्रोतले बताएको छ । यसका लागि ओलीले नेपाली कांग्रेसलाई प्रधानमन्त्री बन्ने प्रस्ताव गर्ने योजना बनाएको बताइएको छ । ओलीले सकेसम्म कांग्रेससँग आलोपालो नभए पूर्ण अवधि नै भए पनि कांग्रेसले सरकारको नेतृत्व गरोस् तर माओवादी केन्द्रलाई सरकारबाट बाहिर पु¥याउन सकियोस् भन्ने चाहनासहित योजना बुन्न थालेको बताइएको छ ।
यो कुरा कांग्रेसका लागि तत्कालका लागि लाभदायक जस्तो देखिए पनि यसतर्फ कांग्रेस आकर्षित हुने अवस्था नरहेको बताइन्छ । एमाले सरकारविहीन भएको अवस्थामा यस्ता विभिन्न खाले जालहरु फाल्न सक्ने कुरालाई कांग्रेसले बुझिसकेकोे बताउँदै कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘एमालेले जस्तो खेल खेल्न खोजे पनि त्यो संभव छैन । हामीलाई एमालेसँग मिलेर सरकार बनाउनुभन्दा एमालेलाई बाहिर राखेर सरकारमा सहभागी हुँदा सहज हुन्छ ।’ उनले भने, ‘एमालेले जुनसुकै बेला धोका दिन सक्छ । एमालेको प्रतिगमनको विरोधमा हामी सँगै रहेका दलहरु अहिले पनि एमालेबाट त्यो खतरा कायमै रहेका कारण एमालेसँग सहकार्यको संभावना छैन ।’
बैशाखलाई मध्यनजर गरेर ओलीले हालको गठबन्धनमा रहेका कुनै साना दललाई भए पनि सरकारबाट अलग्याउने नीति लिने भएको समाचार स्रोतले बताएको छ । यसरी कुनै सानै दलले भए पनि विश्वासको मत फिर्ता लिएको अवस्थामा दाहालले फेरि पनि विश्वासको मत लिनुपर्ने भन्ने मान्यतालाई ओली स्थापित गराउनुपर्ने भन्ने पक्षमा रहेको पनि स्रोतको दाबी छ । उता, त्यस्तो अवस्था नहुने भनी आपूmलाई कानूनविद्हरुले भनेको भनी दाहालले संसदमै बताएका छन् । बहुमत गुमेको स्पष्ट देखिएको अवस्थामा मात्र विश्वासको मत लिनुपर्ने भन्ने कुरा ओलीकै पालामा नजिर बनेको भन्ने उदाहरण दाहालले दिएका छन् ।
यसरी कुनै पनि बहानामा विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएमा त्यो बेला विभिन्न किसिमका खेल खेल्न सकिने भन्ने बुझाइमा ओली रहेको पनि स्रोतले बताएको छ । अहिलेको अवस्थामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारबाट बाहिर राख्न सकिएमा प्रतिपक्षी दलहरुलाई आफ्नो नियन्त्रणमा राखी कुनै पनि बेला सरकार परिवर्तनको लागि प्रयोग गर्ने दाऊमा ओली रहेको बताइएको छ । ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनमार्फत राप्रपा आफ्नो नियन्त्रणमा रहने भन्ने बुझेका छन् ।
यस्तो अवस्थामा ओली रास्वपालाई पनि सरकारबाट बाहिर राख्ने भगीरथ प्रयासमा लाग्ने स्रोतले दाबी ग¥यो । उता, रास्वपाले आफूले सरकारलाई दिएको विश्वासको मत कायमै राखेको अवस्था छ । यो स्थिति भनेको रास्वपा कुनै पनि बेला सरकारमा सामेल हुन सक्ने स्थिति हो ।
उता, जनमत पार्टीको गतिविधिबाट भने ओली खुशी देखिएका छन् । उपराष्ट्रपतिको निर्वाचनमा जसपालाई सत्तारुढ गठबन्धनले सघाउने निर्णय गरेको बेला जनमत पार्टीले छुट्टै उम्मेदवार बनाएको थियो । जनमत पार्टीबाट उम्मेदवार बनेकी ममता झालाई लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र रास्वपाले समर्थन गरेका थिए ।
यसरी सत्तारुढ दलहरुमै विमति रहेको अवस्थालाई ओलीले एकदमै ध्यानपूर्वक आफ्नो पक्षमा ल्याउने अवस्थाको रुपमा रुपान्तरण गर्न चाहिरहेको देखिन्छ । अझ, बैशाख १० गते हुने भनिएको उपनिर्वाचनमा बारामा जसपाबाट उपेन्द्र यादव उम्मेदवार बन्ने कुरालाई पनि ओलीले अवसरको रुपमा लिने बताइएको छ । यादवलाई सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनाउने तयारी भैरहेका बेला माओवादी केन्द्रबाट त्यो बेला उम्मेदवार बनेका व्यक्ति आफू उम्मेदवार बन्ने बताइरहेका छन् । त्यसमाथि जनमत पार्टीले समेत छुट्टै उम्मेदवार बनाउने तयारी गरिरहेको छ ।
यसरी जनमत पार्टीले उम्मेदवार उठाएको अवस्थामा लोसपाले समेत जनमत पार्टीलाई नै समर्थन गर्ने चर्चा छ । त्यसैगरी नाउपाले पनि जनमतलाई समर्थन गरेको अवस्थामा ओलीले त्यहाँ समेत खेल्न पाइने अवस्था बन्ने भनी मख्ख रहेको हालको स्थिति छ । उपेन्द्र यादवलाई जसरी पनि जिताउनुपर्ने दबाबमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी रहे पनि ओलीले भने कुनै न कुनै बहानामा सत्तारुढ दलहरुका बीचमा विमति ल्याउने प्रयास गर्ने बताइन्छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *