नसच्चिए सक्किने डरमा दलहरु: उपनिर्वाचनको झड्का, गठबन्धन कायमै रहने

Nayabimarsha (Weekly Newspaper from Nepal)

मुख्य समाचार

भक्तपुर/ यही बैशाख १० गते भएको उपनिर्वाचनको परिणाम सार्वजनिक भएसँगै ठूला दलहरुलाई ठूलो झड्का लाग्न पुगेको छ । खासगरी नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निर्वाचन परिणामले झड्का दिएको हो । यो उपनिर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी भने उत्साहित बनेको छ । यो उपनिर्वाचनबाट रास्वपाले संघीय संसदमा एक स्थान बढाउन पुगेको छ भने कांग्रेसले एक स्थान गुमाउन पुगेको छ । पराजित भएको निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारले सम्मानजनक मत ल्याए पनि एमालेका उम्मेदवारको भने लज्जास्पद हार हुन पुगेको छ । तीनवटा निर्वाचन क्षेत्रमा भएका उपनिर्वाचनमा एमालेले यसअघिको निर्वाचनमा ल्याएको मत वा समानुपातिक मत समेतलाई टिकाउन सकेन । यस्तै अवस्थामा अन्य दल पनि पुगेका छन् । उपनिर्वाचनमा माओवादी केन्द्र, एकीकृत समाजवादीले कुनै पनि निर्वाचनमा आफ्ना उम्मेदवार नबनाए पनि उनीहरुले सत्तागठबन्धनका दलका उम्मेदवारलाई सघाएका थिए ।
तनहूँ क्षेत्र नं.१, चितवन क्षेत्र नं.२ र बारा क्षेत्र नं.२ मा उपनिर्वाचन भएको थियो । तनहूँबाट यसअघि कांग्रेसबाट निर्वाचित भएका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र खाली भएको थियो । यसैगरी चितवनमा रास्वपाका सभापति रवि लामिछाने नागरिकता प्रकरणमा पदमुक्त भएपछि सो क्षेत्र पनि खाली भएको थियो । यस्तै, बाराबाट जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो निर्वाचन क्षेत्र पनि खाली भएको थियो ।
यसरी खाली भएको निर्वाचन क्षेत्रमध्ये तनहूँ कांग्रेसले गुमाउन पुगेको छ । सो क्षेत्रमा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । वाग्ले उपनिर्वाचनको उम्मेदवारको मनोनयनपत्र दाखिला गर्ने अघिल्लो दिनमात्र कांग्रेस परित्याग गरी रास्वपाबाट उम्मेदवार बनेका थिए । गोरखामा जन्मी चितवनमा बसाइँ सरी चितवनको मतदाता बनेका वाग्लेलाई रास्वपाले तनहूँबाट उम्मेदवार बनाएको थियो । उनले सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका कांग्रेसका गोविन्द भट्टराईलाई पराजित गरेका हुन् ।
यसअघिको निर्वाचनमा प्रत्यक्षमा छ हजार बढी तथा समानुपातिकमा करिब १३ हजार मत ल्याएको रास्वपाका वाग्लेले ३४,९१९ मत ल्याई विजयी भए । यसअघि कांग्रेसका पौडेलले २५,३६१ मत पाई विजयी हुँदा कांग्रेसले समानुपातिकमा २०,१५८ पाएको थियो । यस पटक सत्ता गठबन्धनबाट उम्मेदवार बनेका भट्टराईले कांग्रेसको समानुपातिक मतलाई मात्र जोगाउन सके । उनले २०,१२२ मत पाएका छन् ।
यो क्षेत्रमा एमालेलाई झनै ठूलो धक्का लाग्न पुगेको छ । यसअघिको निर्वाचनमा एमालेका उम्मेदवारले १९,९८१ मत प्रत्यक्षमा तथा समानुपातिकमा १६,६८३ मत पाएका थिए । कांग्रेस र रास्वपाको बीचमा मत काटिने तथा आफ्नो उम्मेदवार सहजै जित नजिक पुग्ने अपेक्षा एमालेको रहे पनि त्यसले हावा खान पुगेको पाइएको छ । एमालेबाट उम्मेदवार बनेका सर्वेन्द्र खनालले जम्मा ८,४८८ मत मात्र प्राप्त गर्न सके । एमालेको बाँकी सबै मत रास्वपाका वाग्लेलाई गएको बताइन्छ ।
उता, चितवनमा पुरानै विजेता अर्थात रास्वपाका रवि लामिछाने भारी मतका साथ विजयी भएका छन् । उनले ५४,१७६ मत ल्याई विजयी भए । उनले गत निर्वाचनको भन्दा पनि बढी मत पाउन सफल भए । यसअघि उनले ४९,३०० मत मात्र ल्याएका थिए । त्यो बेला कांग्रेसका उमेश श्रेष्ठले पाएको मत १४,९८८ जति पनि यस पटकका कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ल्याउन सकेनन् । जितनारायणले जम्मा ११,२१४ मत मात्र ल्याए । यसअघि कांग्रेसले समानुपातिकमा १२,१३२ मत पाएको थियो ।
कांग्रेसको भन्दा पनि बेहाल अवस्था एमालेका उम्मेदवारको देखिन पुग्यो । एमालेका रामप्रसाद न्यौपानेले १०,९३६ मत मात्र प्राप्त गरे जबकि यसअघिको निर्वाचनमा एमालेका उम्मेदवारले १४,६५२ मत पाएका थिए । कांग्रेसले आफ्नो समानुपातिक मत करिब जोगाएको अवस्थामा एमालेका उम्मेदवारले त्यो पनि जोगाउन सकेनन् । एमालेले समानुपातिकतर्फ १६,७८४ मत पाएको थियो ।
उता, बाराको निर्वाचन क्षेत्रमा भने रास्वपाले खासै उल्लेख्य मत पाउन सकेन । रास्वपाबाट उम्मेदवार बनेका रमेश खरेलले जम्मा २,८२९ मत पाएका छन् । यसअघि सो क्षेत्रमा रास्वपाले समानुपातिकतर्फ १,४५५ मत पाएको थियो । सो क्षेत्रबाट यसअघि जसपाबाट निर्वाचित भएका रामसहायप्रसाद यादवको भन्दा बढी मत ल्याएर जसपाका उम्मेदवार उपेन्द्र यादव विजयी भएका छन् । यादवले २८,४१५ मत पाई विजयी भए जबकि यसअघि रामसहायप्रसादले १३,८२३ मत मात्र प्राप्त गरेका थिए ।
यसअघि माओवादी केन्द्रबाट उम्मेदवार बनी उपविजेता बनेका शिवचन्द्र कुशवाहले यसअघि पाएको मतभन्दा बढी मत ल्याए पनि उनले जित निकाल्न सकेनन् । यस पटक उनी माओवादी केन्द्र त्यागी जनमत पार्टीबाट उम्मेदवार बनेका थिए । कुशवाहले यस पटक २३,३३४ मत प्राप्त गरी उपेन्द्र यादवलाई दह्रै दबाबमा पारेका थिए । यसअघि जनमत पार्टीका उम्मेदवारले २,७२५ मत मात्र प्राप्त गरेको अवस्थामा कुशवाहले ल्याएको मत जनमत पार्टीका लागि इज्जतिलो देखिएको छ किनकि जनमत एक्लै निर्वाचनमा होमिएको थियो जबकि उपेन्द्र यादवलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले साझा उम्मेदवारका रुपमा उठाएका थिए ।
यसरी हेर्दा बारामा पनि सत्तारुढ दलहरुका बीचमा गठबन्धन नभएको भए उपेन्द्र यादवको विजयमा कुशवाहा (जनमत पार्टी) ले तगारो लगाइदिने निश्चित देखिएको छ । उपेन्द्रको विजयसँगै हालको सत्तारुढ दलहरुको सहयात्रा सहज हुने बताइन्छ । यसअघि एमालेसँग गठबन्धन गरी निर्वाचनमा उठ्दा उपेन्द्रले पराजय भोग्नु परेको थियो । त्यो हार लगत्तै उनले एमालेसँगको गठबन्धन तोडेका थिए ।
अहिले पनि उनी निर्वाचित हुन नसकेको भए यही अवस्था आउने भयमा सत्तारुढ गठबन्धन रहेको थियो । जनमत पार्टी सरकारबाट बाहिरिएको अवस्थामा उपेन्द्रको दलको समर्थन वर्तमान सरकारलाई आवश्यक पर्ने स्थितिलाई मध्यनजर गरी सत्तारुढ दलमध्येका प्रमुख ठूला दलहरुको समर्थन पाउँदा पनि उनले पाँच हजार बढी मतले मात्र जनमत पार्टीका उम्मेदवारलाई पराजित गर्न सफल भए ।
उपनिर्वाचनको मतपरिणामलाई लिएर विभिन्न किसिमका टीकाटिप्पणी भैरहेका छन् । राजनीतिक विश्लेषक डा. गेजा शर्मा कांग्रेसजनमा ‘कांग्रेसको विकल्प खोज्ने कि ?’, ‘कांग्रेस भित्र विकल्प खोज्ने ?’ भनी प्रश्न उठ्न थालेको बताउँछन् । यसैगरी एमाले भित्र पनि हालको अवस्थाले तरंग ल्याइदिएको छ । एमालेले आफ्नो मतलाई कसैले खल्बल्याउन नसक्ने त्यसमाथि कार्यकर्ताको मत त कतै नजाने भनी दम्भ पाल्दै आएको अवस्थामा पछिल्लो मतपरिणामले राम्रै झड्का लाग्न पुगेको छ । एमालेले समर्थकको मत त के आफ्नो कार्यकर्ताको मत समेत जोगाउन नसकेको देखिएको छ ।
यो निर्वाचन परिणामले सत्ता गठबन्धनमा खटपट ल्याउने वा हालको गठबन्धन भत्कने पो हो कि भन्ने आशंका उब्जिरहेको छ । विभिन्न विश्लेषकहरु आ–आफ्नै किसिमका तर्कहरु गरिरहेका छन् । यो विषयमा अधिवक्ता भवानीप्रसाद अधिकारी भने उपेन्द्र यादवको विजयका कारण हालको सत्ता गठबन्धन अंकगणितीय रुपमा कायमै रहने धारणा राख्छन् । उनका अनुसार जनमत पार्टी सरकारबाट बाहिर नै रहने तथा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सामेल हुन नदिने संभावना बढी रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *