नागरिककातर्फबाट खबरदारी !

Nayabimarsha (Weekly Newspaper from Nepal)

रमेश ढकाल

भारतले हाम्रो सिमाना मिचेको कुरा होस् या उसले हामीमाथि अन्यायपूर्ण ढंगले लगाएको नाकाबन्दी । भारत र नेपालबीच बेला बेलामा ठाकठुक पर्दा हामीले सामना गर्नु परेका चुनौतीहरूलाई उपलब्धिमा बदल्ने कोसिस हामीले कहिल्यै गरेनौं । मैले यसलाई हामी नेपालीको दुर्बलतामात्र हैन दुर्भाग्य पनि मान्ने गरेको छु ।

मुख्य रुपमा हाम्रो यहीं कमजोरीका कारण भारतले हामीले उठाएका विषयहरुलाई भाउ दिने गरेको छैन अर्थात् हाम्रा कुराहरुलाई सधैं हलुकासँंग लिने गरेको छ । एक हिसाबले आफ्नो मनोमानी गर्दै आएको छ । यहाँसम्म कि भारतीय सुरक्षाकर्मीले तुइनको तार काटिदिँदा हाम्रा नागरिक महाकाली नदीमा खसेर बेपत्ता हुँदा पनि हाम्रो सरकार निरिह बनेर बस्ने गरेको छ । यस्तो स्थितिको सिर्जना हुनुमा आज हामी जति धेरै भारतलाई दोष दिन्छौँ त्योभन्दा धेरै दोष हाम्रा आफ्नै नेताहरुको रहने गरेको छ ।

यसो भन्दै गर्दा यसका लागि आज कुर्चीमा रहेका नेताहरुलाई मात्र मैले जिम्मेवार ठह¥याउन खोजेको भने बिलकुल हैन । हामी हाम्रा नेताहरुलाई देश र जनताको भाग्य निर्माताको रुपमा चुनावमा जिताएर माथि पठाउँछौँ । उनीहरु शक्तिशाली कुर्चीमा बस्छन् । शक्तिशाली कुर्चीमा बसेसँगै हाम्रा अधिकांश नेताहरु देश र जनतालाई बिर्सन्छन्, अनि आफ्नो र आफन्तीहरुको भाग्य निर्माणमा रमाउने गर्छन् ।
अहिले हाम्रा प्रधानमन्त्री भारत भ्रमणका छन् । खैर, प्रधानमन्त्रीलगायतका अन्य नेताहरुले बुझ्नुपर्ने एउटा कुरा के हो भने, भारतले सिर्जना गर्ने हरेक चुनौतीहरूलाई उपलब्धिमा बदल्दै अगाडि बढ्ने हिम्मत हामीले नगरेसम्म, विकास र समृद्धिको बाटोमा फड्को मार्न गाह्रो छ ।
यसै सन्दर्भमा एउटा ज्वलन्त उदाहरणका रुपमा अहिले म बस्दै आएको मेरो कर्मभूमि कतारलाई लिन सक्छौं । सन् ५ जुन २०१७ देखि ५ जनवरी २०२१ सम्म साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई) र इजिप्टले चौतर्फी रुपमा कतारमाथि नाकाबन्दी गरेका थिए । यो नाकाबन्दीको एक हजार दिन पूरा भएको दिन दि पेनिन्सुला कतारका एडिटर–इन–चीफ डा.खालिद अल–शफीको एउटा लेख आएको थियो ।

उक्त लेखमा उनले लेखेका थिए “१९ औं शताब्दीको शुरुदेखि नै कतारले राजनीतिक र भौगोलिक परिवेशमा झेल्नु परेका धेरै षडयन्त्र तथा उत्पीडनका चुनौतीहरूलाई उपलब्धीमा रूपान्तरण गर्दै आएको छ । पछिल्लो पटक हामीमाथि अन्याय पूर्ण रुपमा गरिएको घेराबन्दीबाट हामीले राजनीतिक, आर्थिक, कूटनीतिक र ऐतिहासिक रुपमा थुप्रै उपयोगी पाठहरू सिकेका छौं । हामी अहिलेको वास्तविकता र बस्तुस्थितिलाई मध्यनजर गर्दै एउटा उच्च महत्वकांक्षाका साथ भविष्यको सामना गर्न तयार छौं ।” यो पढिरहँदा कतारको नेतृत्वमा रहेको अदम्य साहस र आत्मविश्वासले मलाई नतमस्तक बनाएको थियो ।

यो पङ्क्तिकार आफैं प्रत्यक्ष साक्षी छ, आपूmमाथि छिमेकी राष्ट्रहरु मिलेर साढे तीन वर्षको अवधिसम्म अन्यायपूर्ण ढङ्गले लगाइएको नाकाबन्दीले सिर्जना गरेका कयौँ चुनौतीहरूलाई कतारको नेतृत्वले साँच्चिकै आफ्नो देशलाई जीसीसी भित्र अझ धेरै स्वतन्त्र तथा आत्मनिर्भर बनाउने एउटा सुनौलो अवसरमा परिवर्तन गरेर दुनियाँलाई नै चकित पारिदियो ।

दुग्धजन्य उत्पादनमा लगभग सम्पूर्ण रुपले नै आयातमा निर्भर रहेको कतारले, कतारवासीलाई दूधको अभाव हुन नदिन अस्ट्रेलिया र अमेरिकाबाट चार हजार गाईहरु त्यतिखेर तत्काल एयरलिफ्ट गरेर ल्याएको थियो । गाईहरूलाई यसरी एयरलिफ्ट गरेर ल्याइएको यो घटनालाई विश्व इतिहासकै सबैभन्दा ठूलो मानिएको थियो ।

आज कतार दूध दहीलगायत कतिपय सागसब्जी र अन्य थुप्रै दैनिक उपभोग्य बस्तुहरुको उत्पादन र आपूर्तिमा आत्मनिर्भर बनेको छ । कतारले अहिले आफ्ना दूग्धजन्य उत्पादनहरूलाई ओमान, अफगानिस्तान र यमनमा निर्यात गरिरहेको छ । यसका साथै मलेसिया, फिलिपिन्स, इन्डोनेसिया, अल्जेरिया र उज्वेकिस्तानलगायतका देशहरुमा कतारले छिट्टै नै आफ्ना दूग्ध उद्योगहरु विस्तार गर्दै छ

यसको विपरित हामी भने भारतले हामीमाथि जति पटक र जस्तासुकै थिचोमिचो गरे पनि सुनदेखि नून सबै र सधैं उसैसँंग भर पर्नुपरेको अवस्था छ । हाम्रो यस्तो अवस्थाले हामी सामान्य नागरिकलाई जति पीडा हुन्छ, यो पीडा हाम्रा नेताहरुलाई चै महसुस हुन्छ कि हुँदैन होला ?
नेपाललाई सिङ्गापुर जस्तै बनाउँछौँ भन्ने हाम्रा नेताहरुको भाषण सम्झँदा, कहिले काहीँ मेरो आँखा अगाडि बंगलादेश आएर उभिने गर्छ । हाम्रो देशसँगको तुलनामा, सन् १९७१ मा स्वतन्त्र बनेको बंगलादेशको इतिहास धेरै कलिलो छ । क्षेत्रफलका हिसाबले पनि हामीभन्दा सानो । त्यहाँको जनसंख्या हाम्रो भन्दा झन्डै छ गुणा धेरै छ । बंगलादेशको प्रतिव्यक्ति आय हाम्रोभन्दा डबल छ ।

बंगलादेश अहिले दक्षिण एशियामा दोस्रो ठूलो अर्थतन्त्रभएको देशमा गनिन्छ । विश्वबजारमा बंगलादेशको पकड हाम्रोभन्दा धेरै सशक्त छ । प्रविधिको प्रयोग तथा रोजगारीका अवसरहरु सिर्जना गर्ने कुरामा पनि उनीहरु हामीभन्दा धेरै अगाडि छन् । उनीहरु हाम्रो जस्तो दाता राष्ट्रहरुको आर्थिक सहायतामा हैन व्यापारमा विश्वास गर्छन् । केहि कमी कमजोरीहरू त्यहाँ पनि होलान्, तर एउटा कुरा भने हामी निर्धक्कसँंग भन्न सक्छौँ, बंगलादेशले हाम्रो देशको तुलनामा धेरै अब्बल नेता पाएको रहेछ ।
बंगलादेशसँगको तुलनामा हजारौं वर्षको गौरवमय इतिहास बोकेको हाम्रो देश । संसारको सबै भन्दाअग्लो शिखर सगरमाथाले सजिएको हाम्रो देश । गौतम बुद्धको देश । हाम्रा पुर्खाले हामीलाई बरु प्राण त्याग्न सिकाए तर कसैका सामु झुक्न सिकाएनन् । एक समयमा हाम्रा पुर्खाहरूको अद्भूत वीरता देखेर अंग्रेज सेना पनि नतमस्तक बनेको थियो । यी सबैका कारण विश्वमा हाम्रो आफ्नै सान छ, मान छ । यस्तो गौरवमय इतिहास भएर पनि हाम्रो देश विकास र समृद्धिका हिसाबले किन आज यति धेरै पछाडि छ ?

हाम्रो देशमा अनेकन् स्रोत र सम्भावना भएर पनि हामी सधैं परनिर्भर किन छौँ ? समस्या कहाँ र केमा छ ?अझै कहिलेसम्म रेमिट्यान्स, ऋण र अनुदानले हाम्रो देशको अर्थतन्त्र धानिनु पर्ने हो ? यस्ता बिषयमा हाम्रा नेताहरू एक ठाउँमा बसेर कहिल्यै छलफल गरेका होलान् ? कदापि गरेका छैनन् । भ्रष्टाचार तथा राज्यको श्रोत र सम्पत्ति दुरुपयोग र दोहन गर्ने लगायतका विषयमा भन्ने हाम्रा नेताहरुका बीचमा बराबर छलफल हुने गरेको छ । यसमा भने कसैले शंका नगर्दा हुन्छ अन्यथा नक्कली भुटानी शरणार्थी प्रकरण जस्तो संगठित अपराधको घटना घट्ने नै थिएन ।

लाउडा एअर काण्डहुँदै नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, ३३ किलो सुन, वाइडबडी, ललिता निवास, यति, ओम्नी, बूढीगण्डकी, मधेश प्रदेशमा साइकल वितरण लगायतका ठूला–ठूला दलका ठूला–ठूला नेता मुछिएका भ्रष्टाचारका फाइलहरु बन्द गर्न र भ्रष्टाचारीहरुलाई चोख्याउन हाम्रा नेताहरु अहिले पनि एकजुट नै देखिन्छन् ।

अहिले कुनै पनि भ्रष्टाचार वा अनियमितता भएको पाँच वर्ष कटेपछि मुद्दा चलाउन नपाइने भनेर भ्रष्टाचार ऐन संशोधन प्रस्तावमार्फत भ्रष्टाचारजन्य कसूरमाथि जसरी हदम्याद तोक्ने र भ्रष्टाचारीलाई उन्मुक्ति दिने षड्यन्त्र गरिदैछ । यो सबैको मिलेमतोमा योजनाबद्ध तरिकाले नै गरिदैछ ।
सरकारको यही हरकतले गर्दा, भ्रष्टाचारीहरु विरुद्ध सरकारले अहिले शुरु गरेको कारबाही के साँच्चिकै इमानदार भएर नै गर्दै गरेको हो त ? के अब हाम्रो देशमा भ्रष्टाचारीहरुका दिन सक्किएकै हो त ? यो विषयमा आमनागरिक निश्चिन्त हुनुको सट्टा, अझ धेरै सशङ्कित छन् ।
सरकार भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाइने दाबा गरिराखेको छ । योभन्दा पहिला बनेका सरकारले पनि यस्तै दाबा गर्ने गर्थे । यथार्थमा भने भ्रष्टाचारले देशलाई झनै भित्रभित्रै खोक्रो पार्दै लगेको विभिन्न घटनाहरुले देखाउने गरेको छ ।

झन् अहिले माथिल्लो तहका बहालवाला कर्मचारी तथा पूर्वमन्त्री, उपप्रधानमन्त्रीहरू नै भ्रष्टाचारमा संलग्न रहेको भनेर भटाभट पक्राउ परेका तथा भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संवैधानिक निकायको रूपमा स्थापना भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका बहालवाला प्रमुख आयुक्त नै भ्रष्टाचारमा मुछिएको भनेर आएका समाचारले आमजनतामा ठूलो शंका उत्पन्न गराएको छ ।
यद्यपि, अहिलेको सरकार तथाप्रहरी प्रशासनले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका दोषीहरुलाई कार्वाही गर्ने सवालमा जुन तदारुकता देखाएको छ, यसले भने आम जनताको मरिसकेको आशालाई पुनर्जीवित गर्न थोरै मद्दत पु¥याएको देखिन्छ । यो आशा पनि फेरि कहिले निराशामा परिणत हुने हो, यसको डर भने कायम नै छ । त्यसैले, सरकार तथा प्रहरी प्रशासनको यो कदम हात्ती आयो, हात्ती आयो फुस्सा भने जस्तो मात्र नबनोस् भनेर सरकार तथा सम्बन्धित सबै पक्षलाई आम नागरिकको तर्फबाट खबरदारी गर्न चाहन्छु । (भद्रपुर–झापा (हाल दोहा–कतार)  dhakalrp@gmail.com

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *