काँग्रेसमा दोश्रो पुस्ता गुमनाम तेश्रो हाबी हुँदै

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ नेपाली काँग्रेसमा पहिलो पुस्ता ठानिएका सभापति शेरबहादुर देउवाबाट पार्टी रुपान्तरण हुन नसक्ने बताइएको छ । पहिलो पुस्ताका नेताहरुमा राष्ट्रपति रामचन्द्र पौडेल, सभापति देउवा र नेता गोपालमान श्रेष्ठ लगायत रहेका छन् । यी नेताहरुमध्ये सकृय राजनीतिमा अब देउवा मात्र छन् ।

देउवाले नातावाद, कृपावाद, फरियावाद र तदर्थवादलाई महत्व दिँदा काँग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको जानकारहरुले बताएका छन् । काँग्रेसमा दोश्रो पुस्ता भनिएका नेताहरु विमलेन्द्र नीति, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला लगायतका नेताहरुलाई सभापति देउवाको छायाले डस्दा उनीहरुको भूमिका कमजोर बन्न पुगेको र कार्यकर्ताहरुले पनि पत्याउन छाडेको चर्चा काँग्रेस वृत्तमा चलेको छ ।
निधि र सिंह १४ औं महाधिवेशनमा सभापतिमा उठेर दोश्रो चरणमा देउवातिर ढल्केपछि गुमनाम बन्न पुगेका छन् । उनीहरुको भूमिका यतिबेला संगठनलाई सुदृढ बनाउनेतिरभन्दा सांसदको हाजिरी गरेर भत्ता पचाउनेमा केन्द्रित रहेको बताइएको छ । दलमा बहुमत रहेका कारण सभापति देउवाले केन्द्रीय सदस्य र भातृ संगठनलाई पूर्णता दिन आनाकानी गर्दै आइरहेका छन् ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा श्रीमती आरजु राणा देउवा पोलिएपछि र दाहिले हात ठानिएका बालकृष्ण खाण पक्राउ परेपछि देउवा मौन छन् । पहिलो र दोश्रो पुस्ताका नेताहरुबाट भद्रगोल बन्न पुगेपछि तेश्रो पुस्ताका नेताहरुले काँग्रेस रुपान्तरण अभियान शुरु गरेका छन् । जनकपुरबाट शुरु भएको यो अभियान पूर्वमेचीदेखि महाकालीसम्म सातवटै प्रदेशमा सञ्चालन गरिने बाइएको छ । यो अभियानमा संस्थापन इतर पक्षका नेताहरु सक्रिय रहेका छन् ।

सभापति देउवाले दलको संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने केन्द्रीय विभागहरु र वडा तहसम्मको कार्यकर्ताहरुलाई परिचालन गर्न नसक्दा काँग्रेसप्रति वितृष्णा शुरु हुन थालेको छ । देउवाको हर्कतले लोकप्रिय महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्मा गुटको ओत लाग्न बाध्य बनेका छन् । थापा र शर्माले दलमा हस्तक्षेप गर्न र रचनात्मक बन्न सकेका छैनन् ।

काँग्रेसका अधिकाँश केन्द्रीय नेताहरु सांसद भएकाले संसदीय गतिविधिमा केन्द्रित हुने गर्दा जिल्ला जाने र संगठनलाई पुनर्ताजगी बनाउने फुर्सद उनीहरुलाई छैन । यस्तो अवस्थामा महामन्त्रीद्वय थापा र शर्माले कांग्रेसमा हस्तक्षेप गरी विशेष महाधिवेशन र नीति महाधिवेशन नबोलाए २०८४ को चुनावमा काँग्रेसप्रति आस्था र भरोसा राख्नेहरुको भरोसा टुुट्ने निष्ठावान् काँग्रेसीहरुले बताएका छन् । अब देउवाबाट कांग्रेस नचल्ने उनीहरुले ठोकुवा गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *