समाजवादी मोर्चा रुपी अश्त्र : गठबन्धन नटुट्ने एमालेलाई गलाउने सोच

Nayabimarsha (Weekly Newspaper from Nepal)
मुख्य समाचार

भक्तपुर/ सोमबार नेपालको इतिहासमा समाजवादी मोर्चा नामको एक अश्त्र नेपाली राजनीतिमा आएको छ । सरकारमै रहेका तीनवटा दलहरु तथा वर्तमान राज्यसत्तालाई चुनौती दिंदै आएको एक दलसमेत गरी चार दलले समाजवादी मोर्चा गठन गरेका छन् । मुलुकलाई समाजवादसम्म पुर्‍याउने लक्ष्य लिएको भनिएको उक्त मोर्चाको उद्देश्य र गन्तव्य भने अनिश्चित देखिएको टिप्पणी हुन थालेको छ । उक्त मोर्चा कसकालागि किन गठन गरियो भनी प्रश्नहरु उठ्ने गरेका छन् । खासगरी मोर्चाको अवधारणा राख्दै आएका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई नै उक्त मोर्चामा अटाउन नसक्नु तथा संसदवादी र संसद विरोधी दलहरु एकै ठाउँमा देखिनु अनौठो मानिएको छ ।
उक्त मोर्चामा हालको सत्तारुढ घटकका तीन दलहरु रहेका छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) यो मोर्चामा समाहित भएका छन् । यसैगरी वर्तमान राज्यसत्ताको विरोधमा रहेको भनिएको नेत्रबहादुर चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पनि यो मोर्चामा सँगै देखिएको छ ।
यसरी एउटै मोर्चामा देखिए पनि मोर्चामा रहेका चारै दलको अवस्था र स्थिति पृथक अवस्थामा रहेको राजनीतिक विश्लेषक एवम् अधिवक्ता भवानीप्रसाद अधिकारी बताउँछन् । चार दल चारतिर फर्किएको अवस्थामा मोर्चामा देखिएको भन्दै विश्लेषक अधिकारी भन्छन्, ‘यो हाँसको समूह हो कि बकुल्लाको हो बुझ्नै गाह्रो भयो ।’
विश्लेषक अधिकारीले भने जस्तै बुझ्नै गाह्रो अवस्थामा यो मोर्चा देखिएको छ । मोर्चामा आवद्ध माओवादी केन्द्रले लिएको माओवादलाई माओवादी केन्द्रले परित्याग गरी नाम नै परिवर्तन गर्नुपर्ने भन्ने मान्यतामा नेकपा (एकीकृत समाजवादी) देखिएको छ । यसैगरी आफूलाई समाजवादी भन्ने गरेको एकीकृत समाजवादीलाई नेकपाले भने नेकपा (एमाले) कै पुच्छर जस्तो रहेको भन्ने खालको टिप्पणी गर्ने गरेको छ । उता, नेकपामाथि उग्र, अराजक तथा परिआउँदा ‘आतंकवादी’ भन्ने सम्मको आरोप लाग्दै आएको हो । अझ रमाइलो त उपेन्द्र यादव नेतृत्वको नेसपाको सहभागिता प्रश्नैप्रश्नले घेरिएको छ । आफूलाई तराई केन्द्रित दल भन्न रुचाउने नेसपाले समाजवादी मोर्चाको कित्तामा आपूmलाई राखी तराईमै आपूmलाई विवादित बनाउने कार्य गरेको छ ।
कतिपयले यो समाजवादी मोर्चालाई नेपालमा कम्युनिष्ट विचारधाराका दलहरुका बीचको मोर्चाको रुपमा भन्ने गरिएको छ । यसरी हेर्ने हो भने कम्युनिष्ट सोच भएको भनेर नथाक्ने नेकपा (एमाले) नै यो मोर्चामा देखिएको छैन । एमाले नदेखिएको मात्र होइन कि आफ्नो विरुद्धमा उक्त मोर्चा आएको बुझाइमा एमाले रहेको छ । यसैगरी जनमोर्चा नेपाल, नेपाल मजदुर किसान पार्टी जस्ता कम्युनिष्ट विचारधाराका दलहरु पनि उक्त मोर्चामा देखिएका छैनन् ।
आफूलाई सबैभन्दा ठूलो कम्युनिष्ट दल भन्ने नेकपा (एमाले) ले भने यो मोर्चालाई कम्युनिष्टहरुको मोर्चाको रुपमा भन्दा पनि सत्तामा मोलमोलाइ बढाउने प्रपञ्चको रुपमा व्याख्या गर्ने गरेको छ । संख्यात्मक रुपमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको अवस्था कमजोर रहेकाले सबै एकै ठाउँमा देखिँदा आफ्नो मोलमोलाइ गर्ने शक्ति बढ्ने भएकाले उनीहरु एक ठाउँमा पुगेको एमालेको बुझाइ रहेको छ । एमालेका नेताहरुले मोर्चाप्रति गर्ने गरेको विषवमनले पनि उक्त मोर्चामा एमाले नपुग्ने देखिएको बताइन्छ ।
सरकारमा सामेल सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने समाजवादी मोर्चाको गठनसँग बेखवर जस्तो देखिएको छ । कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले कांग्रेसको मुख्य लक्ष्य नै समाजवाद भनी आफूलाई समाजवादी नेताको रुपमा चित्रण गर्ने गरेका थिए । कांग्रेसको झण्डामा देखिने चार तारामध्ये एक ताराको अर्थ समाजवाद भनी केही वर्ष अघिसम्म पनि भन्ने गरिन्थ्यो । यस्तो अवस्थामा कांग्रेसले सोचेको समाजवाद र हालको समाजवादी मोर्चाले सोचेको समाजवाद एउटै खालको हो भने कांग्रेस पनि सोही कित्तामा पुग्नुपर्ने हो भनी सोचमग्न हुनेहरु पनि प्रशस्तै रहेका छन् ।
कांग्रेसले पनि एमालेकै जस्तो आफूलाई सरकारमा रहँदा तर्साउन सकिन्छ कि भन्ने सोचका साथ सरकारमै रहेका दलहरुले मोर्चाबन्दी गरेको बुझाइमा रहेको बताइन्छ । कांग्रेसका नेताहरुले यो मोर्चाले सत्तासंचालनमा कुनै भूमिका वा महत्व नराख्ने बताउने गरे पनि संख्यात्मक रुपमा मोर्चामा यति संख्यामा सांसदहरु एक ठाउँमा छन् भन्ने कुरा राखेर कांग्रेसलाई ‘साइज’ मा राख्ने प्रपञ्च गरिने आशंका गर्दै आएका छन् ।
यो मोर्चाको कारण हालको सत्तागठबन्धनमा कुनै पनि किसिमको दरार नआउने बताइएको छ । वर्तमान सत्तागठबन्धनमा हलचल ल्याउनका लागि कांग्रेस वा एमालेको भूमिका नै महत्वपूणर् रुपमा हुनुपर्ने अवस्था रहन्छ । कि कांग्रेस सरकारबाट बाहिरिनु पर्‍यो कि त एमाले भित्रिनु पर्‍यो । हालको अवस्थामा दुवै स्थिति नरहेको बताइन्छ । कांग्रेसले सरकारमै रहेर पनि मोर्चाको विषयलाई गम्भीर रुपमा लिएको छैन भने एमालेले पनि आफ्नो विरोधमा मोर्चा गठन गरिएको भन्ने बुझेकाले उसले पनि मोर्चालाई समर्थन गर्ने अवस्था छैन ।
उता, दुई वर्षअघिदेखि समाजवादी मोर्चा बनाइनुपर्ने धारणा राख्दै आएका नेसपाका अध्यक्ष बाबुराम भट्टराई नै यो मोर्चामा समाहित हुन सकेनन् । संघीय संसदमा एक स्थान मात्र जितेको नेसपालाई मोर्चामा नल्याउनका लागि नेसपाका अध्यक्ष उपेन्द्र यादवले जोडबल गरेका थिए । मोर्चामा नेसपा आउँदा जसपा नरहने वा जसपा आउँदा नेसपा नरहने अवस्था आएको थियो । त्यस्तो अवस्थामा नेसपा भन्दा जसपाको स्थिति संख्यात्मक रुपमा बढी भएकाले पनि आफ्नो मोलमोलाईको शक्ति बढाउनका लागि मोर्चामा जसपा अटाउन पुगेको बताइन्छ ।
समाजवादी मोर्चा रुपी अश्त्र ल्याइए पनि त्यसले खासै प्रहार गर्न भने नसक्ने बताइन्छ । उनीहरु विपरित ध्रुवमा रहनु तथा उनीहरुको उद्देश्य समेत स्पष्ट हुन नसक्नु यसको मुख्य कारक कुरा रहेको बताइन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *