देउवाले शशांक रोज्दा इतरपक्ष गोलबद्ध हुँदै

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली काँग्रेसको १५औं महाधिवेशन आउन अब २७ महिना मात्र बाँकी छ । उमेरका कारण १५ औं महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा फेरी सभापति बन्न सक्ने छैनन् । त्यसमाथि काँग्रेस विधानमा दुईपटक भन्दा बढी सभापित बन्न नपाइने व्यवस्था छ ।
देउवाले भावी सभापतिमा बी.पी. पुत्र शशांक कोइरालालाई अघि सार्ने सुइँको पाएपछि इतरपक्ष एक ढिक्का बन्न थालेको छ । गत भदौ १७ गते काँग्रेस नेता अर्जुननरसिंह के.सी.को नयाँ घर बुढानिलकण्ठ इटालीटारमा भावी सभापतिका लागि पहिलो चरणको छलफल गरेका छन् । उनीहरुले आफ्नो समूहमा काँग्रेस महत मन्त्री र प्रखर युवा नेता प्रदीप पौडेललाई पनि भित्र्याएर सशक्त बन्ने प्रयासमा जुटेका छन् ।
इतरपक्षमा हाल नङ्ग्रा विनाका बाघ जस्तो नेताहरु छन् । जसमा अर्जुननरसिंह केसी, बलबहादुर के.सी., जीवन परियार, बद्री पाण्डे, दिलेन्द्रप्रसाद बडुले छलफल गरेका थिए । उक्त छलफलमा शेखर कोइराला महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी र प्रदीप पौडेल थिएनन् । इतरपक्षका नेताहरुले गत २०७९ पुस ६ गते भएको संसदीय दलको नेताको चुनावमा महामन्त्री थापालाई शर्मा र पौडेलले पनि साथ दिएपछि इतरपक्षमा जोडिने विश्वास गरेका छन् ।
यता १५ औं महाधिवेशनमा आफू सभापतिमा लड्ने पूर्व महामन्त्री एवं काँग्रेस नेता शशांका कोइरालाले बताइसकेका छन् तर देउवाको साथ र समर्थन नपाए कोइराला ‘माछो–माछो भ्यागुतो’ बन्ने स्पष्ट छ । त्यसो त हालका काँग्रेस उपसभापति, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का पनि सभापतिमा उठ्ने चर्चा चलेको छ । नेता बालकृष्ण खाँण जेल परेपछि देउवालाई उत्तराधिकारी खोज्न सकस परेको छ । कुनै बेलाका प्रीय ठानिएका र उपसभापति समेत भैसकेका नेता विमलेन्द्र निधिसँग दूरी बढेकाले पनि देउवालाई उत्तराधिकारी छान्न पेचिलो समस्या बनेको छ ।
कोइराला–थापालाई हरेक कुरामा पेल्न थालेपछि शर्मा र पौडेललाई भित्र्याएर पार्टीको आन्तरिक विषय, सरकारको कामकारबाही र भ्रष्टाचारका बारेमा टुंगोमा पुग्न एकजुट हुन लागेको इतर श्रोतले बताएको छ । यो सरकारले भ्रष्टाचारको फाइल खोल्छ र कारवाही गर्छ, महँगी नियन्त्रण गर्छ र जनताका पक्षमा काम गर्छ भन्ने आशा र विश्वास नभएको गठबन्धनका नेताहरुले नै बताउँदै आएका छन् । पार्टीको आन्तरिक गतिविधि र काँग्रेसका मन्त्रीहरुले राम्रो काम गर्न नसकेपछि इतरपक्ष रुष्ट बनेको छ । २०८२ भित्र १५ औं महाधिवेशनमा देउवाले शशांकलाई अघि बढाउने तरखर गरेपछि इतरपक्ष एकजुट हुने प्रयासमा जुटेको छ । संस्थापत इतरपक्ष सशक्त र बलियो बने काँग्रेसका सिटौला देखिका गुटहरु भत्किने बताइएको छ ।
काँग्रेसको जनतासँग जोडिने कार्यक्रम त्यति फलदायी नभएको चर्चा चलेको छ । यतिबेला एमाले, माओवादीलगायतका दलहरु जनतासँग जोडिने अभियान शुरु गरेका छन् । देउवाले एक कार्यकाल शशांकलाई पार्टी सभापति बनाएर १६औं महाधिवेशनमा श्रीमती आरजु राणा देउवालाई सभापति बनाउने सोंचले अघि बढेको इतरपक्षका नेताहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *