नेम्वाङको अन्त्येष्टिमा राजकीय सम्मान

Nayabimarsha (Weekly Newspaper from Nepal)

मुख्य समाचार

भक्तपुर/नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ हिजो विहीबार पशुपतिनाथको मन्दिरस्थित आर्यघाटमा अन्त्येष्ठी गरिएको छ । नेम्वाङको अन्त्येष्ठीमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली लगायतका नेताहरुले अन्तिम श्रद्धाञ्जलि दिएका थिए । त्यसअघि नेम्वाङको पार्थीव शरिर लिएर बालुवाटारबाट शवयात्रा पशुपतिस्थित आर्यघाट पुगेको थियो । शवयात्रा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको थियो । नेम्वाङको पार्थीव शरीर निवासबाट मुन्धुम सँस्कृति अनुसारको विधिपूर्वक उठाइएको थियो । उनको अन्त्येष्टि मुन्धुम र हिन्दु सँस्कृति अनुसार गरिएको थियो ।


धार्मिक विधिपूर्वक अन्त्येष्ठी गरिनुपूर्व फूलमालाले सजाइएको चितामा नेम्वाङको पार्थीव शरीरलाई राखिएको थियो । त्यहाँ परिवारका सदस्यहरुले अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए । त्यसपछि एमालेका अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएका थिए । त्यसैगर िप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय झण्डा ओढाएका थिए ।
शवयात्राका क्रममा नेपाली सेनाको ब्याण्ड टोली अघि–अघि र शव बोकेको गाडी पछि–पछि थियो । तात्कालिन संविधानसभा अध्यक्ष नेम्वाङलाई अन्तिम बिदाई गर्न पशुपतिमा पनि सर्वसाधारणको उल्लेख्य संख्यामा उपस्थिति थियो । गत मंगलबार नेम्वाङको निधन भएको थियो । उनको निधनको शोकमा सरकारले हिजो विहीबार देशभर सार्वजनिक बिदा दिएको थियो ।
नेम्वाङको जीवनकालमा केही नराम्रा कार्यहरुको अपजस बोक्नुपर्ने अवस्था देखिए पनि तुलनात्मक रुपमा भने उनका राम्रा पक्षहरु बढी रहेको बताइन्छ । पछिल्लो समय हालको प्रतिनिधिसभाको निर्वाचनमा इलामबाट नेम्वाङ झिनो मतान्तरले निर्वाचित भएका थिए । राष्ट्रियस्तरको नेता बनेका नेम्वाङ मृदुभाषी नेताको कोटीमा पर्दथे । नेम्वाङ राष्ट्रपतिको पछिल्लो निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका थिए ।
हालका राष्ट्रपति रामचन्द्र पौडेलसँग नेम्वाङ भारी मतान्तरले पराजित भएका थिए । यी निर्वाचन परिणामले पछिल्लो समय नेम्वाङप्रतिको आकर्षण घट्दै गएको देखिएको भनी अधिवक्ता भवानीप्रसाद अधिकारी टिप्पणी गर्दछन् । अधिवक्ता अधिकारी भन्छन्, ‘२०७२ सालमा जारी भएको संविधानमा मुलुकलाई धर्म निरपेक्ष राष्ट्रको रुपमा राख्ने कार्यमा नेम्वाङलाई गलत रुपमा प्रयोग गरिएको आरोप लाग्दै आएको हो । नेम्वाङलगायतका केही नेताहरुका कारण मुलुकलाई धर्म निरपेक्ष राष्ट्र घोषित गराउन देशी विदेशी शक्तिहरु सफल भए । यो कार्य नेपालका लागि भने पटक्कै हितकर नरहेको बुझाइमा नेपाली जनता पुगेका कारण पनि नेम्वाङको लोकप्रीयतामा कमी आएको हो ।’
संविधानमा उक्त कुरा कपटपूर्ण रुपमा राखिएको भन्ने कुराको मतियारका रुपमा कतिपयले नेम्वाङलाई लिने गरे पनि संसद र संविधानसभाको संचालनको समयमा भने उनको शैली र हँसिलो प्रस्तुतीले निक्कै नै चर्चा पाएको थियो । सबैलाई मिलाएर समय दिने, सबैका कुरा सुन्ने, सन्तुलित रुपमा रहन सक्ने, कानूनको राम्रो ज्ञाता समेत रहेका नेम्वाङ आफ्नो दल भित्र पनि बढीले रुचाउने तथा थोरैले एकदमै आलोचना गर्ने नेतामा पर्ने गरेका बताइन्छ ।
विषयको राम्रो जानकार, कुरा सुन्न र बुझ्न सक्ने क्षमता, मृदुभाषी, शीष्ठ शैली, हँसिलो मुहार नेम्वाङको राम्रो पक्ष मानिन्छ । यसैगरी ‘एमाले भित्र अध्यक्ष ओली पक्षधरले नेम्वाङलाई एकदमै राम्रो रुपमा मान्ने गर्दथे किनकि उनी ओलीका लागि रक्षाकवज झैं बनिदिने गर्दथे । उनको ओलीप्रतिको यो लगावले ओलीलाई धेरैजसो फाइदा पुगे पनि एमाले विभाजन हुन, नेकपा विभाजन हुनुमा नेम्वाङले ओलीलाई सही सल्लाह नदिएको कारण पनि हो ।’ एमालेका एकजना केन्द्रीय सदस्यले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने । उनका अनुसार नेम्वाङ आफैं नै राम्रो नेता भएकाले उनले ओलीलाई सही सल्लाह दिई ओलीका गलत कदमहरुलाई समयमै रोक्न सकेको भए एमालेमा विभाजन नआउने मात्र होइन कि नेकपालाई समेत सग्लो रुपमै राख्न सकिने थियो ।
ओलीले दुई दुई पटक प्रतिनिधिसभा विघटन गर्दा नेम्वाङ ओलीको पक्षमा उभिनु पनि गलत रहेको भन्दै ती केन्द्रीय सदस्य भन्छन्, ‘यो मामलामा नेम्वाङ चिप्लिएको देखियो । संविधान निर्माण भएपछि कुनै पनि प्रधानमन्त्रीले आफूखुशी प्रतिनिधिसभा विघटन गर्न सक्दैन भन्ने मान्यता सार्वजनिक गरेका नेम्वाङले ओलीले विघटन गर्दा कुनै समय आफूले प्रतिक्रिया नदिने भनेको त कतिपय अवस्थामा ओलीको कदमको समर्थन गरेका थिए । नेम्वाङ जस्तो नेताले ओलीको गलत कदमलाई गलत नै भन्न सक्नुपर्ने थियो । त्यो नगर्दा भने नेम्वाङप्रति पार्टी पंक्तिमा पनि अलि सम्मान घट्न पुगेको थियो ।’
त्यसो त नेम्वाङलाई सर्वसाधारणले भने ‘माननीयज्यूहरु, तपाईलाई ….. समय छुट्याएको छु’ भनी हँसिलो मुद्रामा नेम्वाङले भन्ने गरेको कुरालाई बुझ्ने गरेका छन् । नेम्वाङ संविधानसभाको अध्यक्ष, प्रतिनिधिसभाको सभामुख, मन्त्री तथा सांसद जे भए पनि अधिकांशले उनलाई बुझ्ने र चिन्ने भनेको प्रतिनिधिसभाको सभामुखको रुपमा चिन्ने गरेको आम बुझाइ छ ।
नेम्वाङ हालको प्रतिनिधिसभाको सदस्यका रुपमा इलामबाट निर्वाचित भएको अवस्थामा उनको भूमिका नेकपा (एमाले) को उपाध्यक्ष तथा प्रतिनिधिसभाका उपनेताको रुपमा रहेको थियो । पछिल्लो समय विभिन्न कानूनहरुको निर्माणलाई अन्तिम तहमा पु¥याउने कार्यमा नेम्वाङ तल्लीन रहेका थिए ।
गत आइतबारसम्म सार्वजनिक कार्यक्रममा सहभागी हुँदै कानून निर्माणको कार्यमा लागि रहेका नेम्वाङ सोमबार भने अलि सञ्चो नभएकाले घरमै आराम गरी बसेका बताइएको छ । यसरी घरमै ज्वरो आएर आराम गर्दै रहेका नेम्वाङ सोमबारको राति अर्थात मंगलबारको विहान करिब १ बजेको समयमा शौचालयमा जाँदा अचेत भई लडेको बताइएको छ । त्यस्तो अवस्थामा रहेका नेम्वाङलाई बालुवाटारबाट महाराजगञ्जस्थित त्रि.वि.शिक्षण अस्पतालमा १ बजेर ५० मिनेटमा पु¥याउँदा उनको निधन भैसकेको भनी अस्पतालले घोषणा गरेको थियो ।
यसरी निधन भएका नेम्वाङका दुई छोराहरु विदेशमा रही फर्कन समय लागेका कारण उनको अन्त्येष्टि भने विहीबार मात्र गरिएको हो । उनका छोराहरु बुधबार नेपाल आइपुगेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *