‘राजा’ को पक्षमा जनलहर: गणतन्त्रको विकल्प खोजिँदै ! दलहरु सशंकित

Nayabimarsha (Weekly Newspaper from Nepal)

मुख्य समाचार

भक्तपुर/ संवैधानिक राजतन्त्रको अन्त्य गराइएको १५ वर्षपछि राजसंस्थाको पक्षमा जनता खुल्न थालेका छन् । पछिल्लो समयमा ‘राजा’ ज्ञानेन्द्र शाह सम्मिलित कार्यक्रमहरुमा जनलहर बढ्न थालेको छ । ‘राजा’ को पक्षमा यसै हप्ता भक्तपुरमा देखिएको जनलहरले राजतन्त्रप्रतिको आकर्षण बढेको मात्र देखिएको छैन कि गणतान्त्रिक व्यवस्थाप्रति जनताको अरुचि देखिएको पनि प्रष्ट हुँदै गएको राजनीतिक वृत्तमा चर्चा चल्न थालेको छ ।
गणतन्त्रको घोषणापछि चुलिएको बेथितिले जनतामा यो व्यवस्थाप्रति वितृष्णा बढ्न थालेको हो । गणतन्त्रको नाममा लुटतन्त्र हाबी भैरहेको हालको अवस्थामा जनताले गणतन्त्रले एउटा राजाको सट्टामा धेरै राजाहरु जन्माएको भन्दै राजसंस्था नै विकल्प रहेको जस्तो गरी प्रदर्शनीहरु गर्न थालेका छन् । राजसंस्थाप्रति जनआकर्षण बढ्नुमा धेरै कारणहरु रहेको भनिन थालेको छ ।
२०६५ जेठ १५ गते पहिलो संविधानसभाको बैठकबाट नेपालमा औपचारिक रुपमा राजतन्त्रको अवशान गराइएको थियो । त्यसकालागि २०५६ को पुनस्र्थापित संसदको जगमा बनेको माओवादीसहितको अन्तरिम व्यवस्थापिकाले गरेको थियो । पहिलो संविधान सभाको पहिलोे बैठकले औपचारिक रुपमा गणतन्त्र घोषणा गर्ने कार्य गरेको थियो । त्यसको दुई सातापछि नै ‘राजा’ ज्ञानेन्द्रको परिवारले नारायणहिटी राजदरबार सहजै छोडी स्वदेशमै रहने कुरा सार्वजनिक गरेका थिए ।
गणतान्त्रिक व्यवस्थामा मुलुकले ठूलो फड्को मात्र पो हो कि भन्नेहरु थिए । गणतन्त्रको पक्षका नेताहरुले ठूला ठूला कुराहरु हुने बताउका थिए । राजतन्त्र नै विकासको विरोधी रहेको भन्ने जस्तो गरी नेताहरुले भन्ने गरेका कारण पनि जनता साँच्चै हो कि जस्तो देखिएको थियो । जनताले आशा गरे पनि जनचाहना अनुसारको कुनै पनि कार्यहरु हुन नसकेको अवस्था छ ।
‘भ्रष्टाचार, बेथिति र नेता भनाउँदाहरुको गैरकानूनी गतिविधिको कारण जनतामा निराशा छाएको छ । यो व्यवस्थाले एउटा राजा फ्यालेर सयौं राजाहरुको जन्म गराएका कारण पनि जनतामा गणतन्त्रप्रति आकर्षण बढ्न नसकेको अवस्था छ ।’ आफ्नो नाम छाप्न नचाहने एक राजनीतिक विश्लेषक भन्छन्, ‘यस्तै हो, नेताहरुले आफूलाई नसच्याउने हो भने यो व्यवस्थाको विकल्प नै खोज्न सक्ने अवस्था देखिन थालेको छ ।’
गणतान्त्रिक व्यवस्थाप्रतिको विकर्षण र ‘राजतन्त्र’ प्रतिको आकर्षणको रुपमा पछिल्ला दुई घटनाक्रमलाई राजनीतिक विश्लेषकहरुले आधार बनाउने गरेका छन् । आइतबार भक्तपुरको तलेजु मन्दिर दर्शन गर्न गएका ‘राजा’ ज्ञानेन्द्रको पक्षमा जनलहर स्वतस्फुर्त रुपमा देखिएको थियो । यसैगरी गणतान्त्रिक व्यवस्थाका राष्ट्रपति रामचन्द्र पौडेल सोमबार जनकपुरमा पुगी नागरिक अभिनन्दनमा सरिक हँुदा राजनीतिक दलहरुले जनतालाई आउन भनी राजनीतिक रुपमा प्रचार प्रसार गर्दा पनि तुलनात्मक रुपमा पौडेल सरिक कार्यक्रममा आकर्षण देखिएको थिएन । केही सुरक्षाकर्मी र मन्दिरका पुजारीले गरेको स्वागत बाहेक राष्ट्रपति पौडेलको पक्षमा आम जनताको आकर्षण देखिएको थिएन ।
यसरी दुई दिनको समयमा भएका दुई घटनाक्रमलाई जनस्तरबाट एकदमै मिहिन रुपमा विश्लेषण गर्ने कार्य भैरहेको छ । भक्तपुर जिल्लालाई राजनीतिक रुपमा विश्लेषण गरिने हो भने नेपाल मजदुर किसान पार्टीको मूल विज रहेको जिल्ला हो । सो पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको भक्तहरु बढी भएको क्षेत्रको रुपमा भक्तपुर नगरक्षेत्रलाई लिने गरिएको छ ।
यसैगरी निर्वाचित सांसद र स्थानीय प्रतिनिधिहरुको हिसाबले हेर्ने हो भने नेपाली कांग्रेसको राम्रो उपस्थिति रहेको जिल्ला हो भक्तपुर । यसैगरी वडास्तरमा नेकपा (एमाले) पनि तुलनात्मक रुपमा राम्रो प्रतिनिधित्व गराउन सफल जिल्लाको रुपमा रहेको जिल्ला हो भक्तपुर ।
यसरी विश्लेषण गरेर हेर्ने हो भने नेमकिपा, कांग्रेस र एमाले हालसम्म पनि गणतन्त्र पक्षधर दलहरु हुन् । उनीहरुको चाहनालाई मात्र ध्यान दिने हो भने भक्तपुरमा ‘राजा’ को पक्षमा कुनै पनि किसिमको जनतम नदेखिनु पर्ने हो । त्यस विपरित भक्तपुरमा स्वतस्फुर्त रुपमा जनलहर देखिनुले राजतन्त्रवादीहरुलाई हौस्याउने कार्य गरेको छ ।
उता, राष्ट्रपति पौडेल गएको जिल्ला धनुषालाई पनि राजनीतिक रुपमा विश्लेषण गर्ने हो भने नेमकिपाको सट्टामा सो जिल्लामा तराई केन्द्रित दलहरुको उपस्थितिलाई लिन मिल्ने अवस्था छ । यसैगरी कांग्रेस, एमालेको समेत राम्रो उपस्थिति रहेको धनुषामा भएको कार्यक्रममा राष्ट्रपतिलाई अभिनन्दन गर्न भनी जनस्तरबाट मानिसहरु खासै आएको नदेखिएको बताइन्छ ।
उत्पादनमुखी अर्थतन्त्रमा जोड नदिने सरकारको कार्यका कारण पनि जनतामा गणतन्त्रप्रतिको विकर्षण बढ्नुमा अर्को कारण रहेको छ । स्वदेशी उत्पादनले कुनै क्षेत्रको पनि आवश्यकता पूर्ति गर्न नसकेको कारण विदेशी उत्पादनले बजार भरिएको अवस्था छ । यसैगरी उच्च शिक्षा र वैदेशिक रोजगारीका लागि विदेसिने नेपालीको संख्या पनि बढोत्तरी भएको छ । यस्तो अवस्थाले पनि गणतन्त्रप्रति जनतामा आस्था कम हुँदै गएको छ ।
केही दिन पहिले कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण हुनुलाई पनि जनआक्रोशको रुपमा लिइएको छ ।
राजतन्त्रप्रतिको जनआकर्षणलाई भने गणतन्त्रवादी नेताहरुले भने सहज रुपमा लिन नसकेको अवस्था देखिएको छ । यो विषयलाई लिएर जनताले आफ्नो आकर्षण राजतन्त्रप्रति देखाएको कुरालाई एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले पचाउन सकेका छैनन् । विभिन्न जिल्लामा ओलीलगायतका नेताहरु निस्कँदा, दलले अनिवार्य उपस्थितिका लागि उर्दी जारी गर्दा समेत जम्मा हुनेहरु भन्दा ‘राजा’ सहभागी हुने कार्यक्रममा जनताको आगमन स्वतस्फुर्त रुपमा हुने गरेको छ ।
यो अवस्थालाई नियाल्दै राजनीतिक विश्लेषकहरु भने जनताले गणतन्त्रको विकल्प खोज्न थालेको भन्ने गरी व्याख्या गर्न थालेका छन् । दलहरुको विकल्प नयाँ उदाएका दलहरु समेत नरहेको ठम्याइमा जनता पुग्न थालेको बताइन्छ । यस्तो अवस्थामा जनताको चाहना अनुरुपका कार्यहरु गर्न दल तथा नेताहरु चुकेको खण्डमा मुलुकमा राजसंस्थाको पुनर्बहाली हुन सक्ने भनी चर्चा चल्न थालेको समाचार स्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *