मध्यपूर्वको भ्रमणपछि महेश श्रेष्ठमा उत्साह

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी महेशकुमार श्रेष्ठले विदेशमा रहेका नेपाली श्रमिकहरुको हकहितका लागि १० करोड रुपिंयाँ बराबरको कोष खडा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मध्यपूर्व र एशियाका देशहरुको भ्रमणका क्रममा कुवेत पुगेका उनले नेपाल सरकार, वैदेशिक रोजगार व्यवसायी संघ र दातृ निकायसँंग समन्वय गरी कम्तीमा रु.१० करोडको श्रमिक कल्याण कोष खडा गर्ने प्रतिबद्धता जनाएका हुन् । त्यस्तै उनले एनआरएनए राहत कोषमा पाँच लाख रुपियाँ अनुदान दिने पनि घोषणा गरेका छन् ।
‘मध्यपूर्व साथै एशियाका देशहरुको भ्रमणका क्रममा धेरैभन्दा धेरै नेपालीको श्रमसम्बन्धी समस्या रहेको पाएँ । त्यसका लागि प्रत्येक बर्ष १० करोड रुपिंयाँ संकलन हुनेगरी कोष खडा गर्ने प्रतिबद्धता जनाउँदछु । यो काम विजयी भएर गएको पहिलो बर्षबाट नै शुरु गर्नेछु,’ उनले भने । ‘त्यसबाहेक सरकारसँग मिलेर नीति निर्माणमा प्रशस्त कामहरु गर्नुपर्नेछ । घरेलु कामदार तथा श्रमिकको समस्या, दोहोरो श्रम सम्झौता, श्रम सहचारी र श्रम स्वीकृतिका क्रममा हुने झन्झट नीतिमार्फत समाधान गर्नुपर्ने हुन्छ । त्यस्तो नीति बनाउन नेपाल सरकारसंँग पहल गर्ने मेरो पहिलो प्राथमिकतामा पर्छ ।’ उनले नयाँ विमर्शसँग कुरा गर्दै भने ।
विदेशमा रहेका नेपालीको भूगोल वा देशका आधारमा फरक फरक समस्याहरु हुने गरेकाले विद्यार्थी र श्रमिकका समस्या समाधान गर्न सरकारसँग सहकार्य जरुरी रहेको पनि उनले औंल्याए । ‘एनआरएनए आइसीसीको काम भनेको नीति बनाउने हो र एनसीसीको काम मानवीय आपतविपतमा सहयोग गर्ने हो । दुवैको सहकार्यमा हामी प्रवासका नेपालीहरुको हक हितमा नै काम गर्छौं,’ उनले अगाडि भने, ‘म विभिन्न क्षेत्रमा विज्ञहरुलाई राखेर भिजनरी खाका बनाएर काम गर्छु । काम गर्नका लागि नै चुनावी दौडाहामा छु । सबैको सहयोगको अपेक्षा गरेको छु ।’
साउदी अरब, दुबई, मलेसिया, बहराइन लगायतका देशको भ्रमण गरिसकेपछि उनले आफू उत्साहित भएको उनले प्रतिक्रिया दिएका छन् । ‘डेलिगेट्स र गैर आवासीय नेपालीको साथ सहयोगले विजय नजिक पुगेको अनुभूति भइरहेको छ । परिणाम सकारात्मक आउँछ भन्नेमा विश्वस्त छु,’ उनले भने । विदेशिनु नेपालीको बाध्यता भएकाले गरिबी न्यूनीकरण गर्दै नेपाललाई समृद्धितर्फ लैजान एनआरएनएको ठूलो भूमिका हुने भन्दै श्रेष्ठले बार्षिक २० खर्ब बढी आम्दानी गरिरहेका विदेशका नेपालीसँंग ठूलो सम्भावना रहेको औंल्याए । लहडमा बनाइएका कतिपय नीति तथा कानूनहरुका कारण नेपालीहरुले दुःख पाइरहेको उनको प्रतिक्रिया छ ।
उनले दुई बर्ष भित्रमा एनआरएनएलाई एकता र सुदृढ बनाएर पद्धति बसाउने पनि प्रतिज्ञा गरेका छन् । भदौ २९ गते ललितपुरको हिमालय होटलमा एक समारोहबीच २०२३–२५ का लागि एनआरएनए अध्यक्ष पदमा उम्मेदवारी घोषणा र प्रतिबद्धता पत्र सार्वजनिक गरेपछि जापान भ्रमण सकेर श्रेष्ठले मध्यपूर्व र एशियाली देशका गैर आवासीय नेपालीहरुसँग भेटघाट गरेका हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *