भूकम्पपीडितको उद्धार र राहतमा ध्यान देऊ

Nayabimarsha (Weekly Newspaper from Nepal)

सम्पादकीय

बझाङमा मंगलबार गएको भूकम्पबाट भएको क्षतिको विवरण संकलन गर्दै पीडितलाई तत्काल राहत दिन माग गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरलगायत नेताहरूको नेतृत्वको सर्वदलीय प्रतिनिधि मण्डलले राहतका लागि पहल थालेका हुन् । बुधबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरिएको हो । मंगलबार गएको भूकम्पले बझाङका तलकोट, मस्टा, खप्तडछान्ना, जयपृथ्वी नगरपालिका क्षेत्रमा क्षति पुगेको छ । यसैगरी सुर्मा, छविसपाथिभेरा, दुर्गाथली, थलारा, केदारस्यु, वित्थड, बुङगललगात पालिका तथा सुदूरपश्चिमका जिल्लामा धनजनको ठूलो क्षति भएको भनी प्रतिनिधि मण्डलले सरकारको ध्यानाकर्षण गराएको हो ।

भूकम्पका कारण एक जनाको ज्यान गएको छ । यसैगरी २१ वटा सामुदायिक भवन, अधिकांश सामुदायिक विद्यालय र हजारौंको संख्यामा निजी व्यक्तिका घर भत्किएको प्रतिनिधि मण्डले जानकारी गराएको छ । यही कारण जनताले सकसपूर्ण जीवन विताउन बाध्य रहेको भनी सरकारले राहत प्रदान गर्नुपर्ने माग राखिएको हो । प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आफू स्थलगत निरीक्षणमा जाने र विहीबार नै राहत उद्धारका लागि बैठक डाकिएको जानकारी गराएका थिए । सो प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्य भानुभक्त जोशी, अछामबाट प्रतिनिधि सभा सदस्य शेरबहादुर कुवर, अछामबाटै प्रतिनिधि सभा सदस्य पुष्पबहादुर शाह, संविधानसभा सदस्य धर्मराज विश्वकर्मा, दुर्गाथली गाउँपालिका बझाङका अध्यक्ष दिलबहादुर थापा, कांग्रेस बझाङका नेता सत्यराज भण्डारी र नन्दकृष्ण जोशीको उपस्थितिमा प्रधानमन्त्री दाहालले पीडितहरुले राहत पाउने कुराको विश्वास दिलाएका थिए ।

नेपाल भूकम्पीय जोखिममा रहेको छ । २०७२ सालमा आएको भूकम्पका कारण अझै पनि पुनर्निर्माण हुन नसकिरहेको अवस्था छ । यस्तो स्थितिमा बझाङ केन्द्रविन्दु भएर गएको उक्त भूकम्पले नेपालीजनमा झनै पीडा थप्ने काम गरेको छ । यसरी विपद् आएको अवस्थामा सबैभन्दा मुख्य रुपमा स्थानीय निकायले तत्कालै राहतका लागि योगदान दिनुपर्ने हुन्छ । यसैगरी संघीय सरकारले पनि यस्तो अवस्थालाई ख्याल गरी तुरुन्तै उद्धार तथा राहतको लागि पहल गर्नैपर्ने हुन्छ । सरकारले जनतालाई पर्दा राज्य छ भन्ने अनुभूति दिलाउनुपर्ने हुन्छ । जनतालाई समस्या पर्दा नै सरकारको मुख ताक्नुपर्ने अवस्था आउने हो । यो कुरालाई सरकारले सबैभन्दा पहिले सोच्नुपर्ने हुन्छ । यसैगरी आमनागरिकले पनि पीडितका लागि व्यक्तिगत रुपमा पनि राहत दिने खुला दिल देखाउनु जरुरी छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *