भवन विभागमा नयाँ डिजी सडकमा पनि चर्चा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गत फागुन १७ गते शहर विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले आवकाश पाए । उक्त रिक्त महानिर्देशकमा समीकरण परिवर्तन भएपछि नेकपा (एकीकृत समाजवादी) का नेता एवं शहरी विकास मन्त्री धनबहादुर बुढा र मन्त्रालयलाई राम्रोसँग बुझेका विज्ञ सचिव मणिराम गेलालले वरिष्ठ प्राविधिक सहसचिव कुमार घिमिरेलाई भवन विभागको महानिर्देशक बनाएका छन् ।
स्वार्थ बाझिने मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री बुढा यार्सागुम्बा, हिमाली जडीबुटीको व्यापार र निर्माण व्यवसायीमा आवद्ध रहेको समाचार श्रोतले जनाएको छ । राप्रपाबाट राजनीति शुरु गरी नेकपा एसबाट मन्त्री बनेका बुढा विकासे मन्त्रालयको अनुभवमा कमजोर मानिन्छन् । मन्त्रालय र विभागमा महानिर्देशक बन्ने चाहना राखेका सहसचिवहरुलाई पाखा लगाएर अनुभवी एवं कार्यक्षमता भएका घिमिरेलाई महानिर्देशक बनाएर मन्त्री तथा सचिवले राम्रो कामको थालनी गरेको चर्चा चलेको छ ।
९–१० महिनामात्र सेवा अवधि बाँकी रहेका घिमिरेले विभागलाई गतिशील बनाउँछन् कि पुरानै उठ्तीपुठ्तीको बोलीमा अघि बढाउँछन् त्यो भने हेर्न बाँकी नै छ ।
गत फागुन ३० गते महानिर्देशक बनेका घिमिरे विभागकै उपमहानिर्देशक र मर्मत सम्भार डिभिजन अनामनगरमा बसेर अनुभव हासिल गरेका व्यक्ति हुन् । यता गत २०७९ फागुन ३ गते सडक विभागको महानिर्देशक बनेका सुशीलबाबु ढकालले कुशलतापूर्वक १३ महिना पूरा गरेका छन् । अर्थमन्त्रालयले निर्माण व्यवसायीहरुको पुरानो दायित्व भुक्तानी नगर्दा ध्वस्त बनेको सडकको विकासलाई विस्तारै लयमा फर्काएर अहोरात्र बजेट व्यवस्थापनमा जुटेका महानिर्देशक ढकाललाई हटाउने भित्री रुपमा चलखेल शुरु भएको जानकारहरुले बताएका छन् ।
डिजी बन्न मन्त्रालयका सु.ई. उमेशविन्दु श्रेष्ठ, विभागको योजना हेर्ने उमनी रामहरी पोख्रेल र विभागकै बैदेशिक महाशाखाका उपमहानिर्देशक डा. विजय जैशीबीच तीब्र प्रतिस्पर्धा चलेको विभाग श्रोतले बताएको छ । प्रतिस्पर्धीहरुमध्ये जैशी क्षमतावान् र सडकको बारेमा विज्ञ मानिन्छन् । बजेटको अभावले रन्थनिएको सडक विभाग आ.व.को अन्त्यमा मन्त्री रघुवीर महासेठलाई टेण्डर हालेर कोही जान तयार नभएको अवस्थामा ढकाललाई आगामी श्रावण–भाद्रसम्म काम गर्ने मौका दिनुपर्ने जानकारहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *