आन्तरिक राजश्व र भन्सारका डिजी परिवर्तन

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ आन्तरिक राजश्व विभागका महानिर्देशक भूपाल बराल दुई महिनामै विभागबाट सरुवा भएका छन् । बराललाई तात्कालिन अर्थमन्त्री प्रकाशशरण महतले गत माघको तेश्रो साता विभागको महानिर्देशक बनाएका थिए । काँग्रेसको ट्याग लागेका बराललाई अर्थ मन्त्रालयबाटै सरुवा गरी अन्यत्र पठाइएको छ ।
श्रोतले दिएको जानकारी अनुसार बराललाई बन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ । सत्ता समीकरण परिवर्तन भएसँगै २०६८ सालमा अर्थमन्त्री हुँदा गुरिल्ला अर्थमन्त्रीको आरोप लागेका र १२ वर्षपछि पुन अर्थमन्त्री बनेका माओवादीका नेता एवं सांसद वर्षमान पुनले डिजी परिविर्तन गरेका हुन् । बराललाई गत चैत ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरुवा गरेको हो ।
बरालसँगै विभागका उपमहानिर्देशक अर्जुनप्रसाद भट्टराईलाई पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पठाइएको छ । बाहिरबाट ढुण्डीप्रसाद निरौला, शिवलाल तिवारी र नारायणप्रसाद सापकोटा अर्थमन्त्रालयमा भित्रिएका छन् ।
आन्तरिक राजश्व विभागका महानिर्देशकमा तिवारीलाई पठाइएको छ । यसैगरी भन्सार विभागको महानिर्देशक शोभाकान्त पौडेललाई पनि सरुवा गरी अर्थ मन्त्रालयमा पठाई उक्त ठाउँमा बाहिर सरुवा गरी ल्याइएका ढुण्डीप्रसाद निरौलालाई पठाइएको छ । पौडेल २०८० को बजेट आएको दुई दिन पछाडि भन्सारको महानिर्देशक बनेका थिए ।
अर्थमन्त्रालयमा दोश्रो पटक प्रवेश गरेका अर्थमन्त्री पुनले अर्थतन्त्र सुधार गर्ने मनसायसहित विगतको गुरिल्ला अर्थमन्त्रीको छविलाई सुधार गर्दै संकटग्रस्त अर्थतन्त्रलाई सुधार गर्न सक्दछन् कि सक्दैनन्, त्यो भने हेर्न बाँकी नै छ । नेपाली काँग्रेसलाई चक्मा खुवाउँदै अर्थतन्त्रको बागडोर सम्हालेका अर्थमन्त्री पुनले त्यसको शुरुवात कर्मचारी सरुवाबाट गरेका छन् । अव अर्थसचिव र अन्य व्यक्तिहरु माथि पनि सरुवाको डण्डा चलाइने तैयारी भैरहेको समाचार श्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *