खेमनाथ दाहालको ‘सिर्जनामा दृष्टि’

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ साहित्यकार खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण गरिएको छ । शनिबार साहित्यिक पत्रकार संघको आयोजनामा यहाँ एक विशेष समारोहबीच स्रष्टा दाहालको भूमिकासंग्रह कृति ‘सिर्जनामा दृष्टि’ को लोकार्पण गरिएको हो ।
संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा वरिष्ठ इतिहासविद् प्रा.डा.सुरेन्द्र के.सी.रहेका थिए । कृति सर्जक महाकाव्यकार खेमनाथ दाहाल, विशिष्ठ अतिथि विशिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, सामालोचक प्रा.डा.कृष्णप्रसाद दाहाल, समीक्षक डा.यज्ञश्वर निरौला, गीतकार समाजसेवी सोभित उप्रेती, प्रा.डा.गोविन्दमान सिंह कार्की, उषा दाहाललगायतले उक्त कृतिको लोकार्पण गरेका थिए ।
गीतकार÷निर्देशक गणेश सुवेदीले सहजीकरण गरेको कार्यक्रमको प्रमुख अतिथि के.सी.ले समसामयिक देशको परिस्थितिको चर्चा गर्दै देशमा देखिएका तमाम विकृतिलाई पनि सर्जकहरूले उजागर गर्नुपर्ने धारणा राखे । विभिन्न समयमा तमाम घटनाक्रमको उदाहरण दिँदै सर्जकहरूले त्यसको खबरदारी गर्नुपर्ने बताउँदै के.सी.ले भने, ‘देशको राजनीतिक परिस्थिति राम्रो हुँदामात्र सबैतिर राम्रो हुन्छ, कठिन परिस्थितिमा पनि सर्जकहरू निरन्तर आफ्ना साधनामा तल्लिन रहेका छन् तर राज्यनिरीह छ । हामी सबैले आ–आफ्नो कर्तव्य पूरा गर्नुपर्छ । देशको मुख्य समस्या भनेको सही मानिस सही ठाउँमा नहुनु हो ।’
कृतिको समीक्षात्मक टिप्पणी गर्दै डा.निरौलाले स्रष्टा दाहालको मूल विधा काव्य भए पनि उनले अन्य क्षेत्रमा त्यतिकै सशक्त रूपमा कलम चलाउँदै आएको बताए । ‘यस कृतिले स्रष्टा दाहालको साहित्यक्षेत्रमा नयाँ परिचय स्थापित भएको छ ।’ उनले कृतिमा फरक विधाका १६ पुस्तकको भूमिका यसमा समावेश भएको बताए ।
स्रष्टा दाहालले कृति कसरी प्रकाशन भयो भन्ने बारेमा आफ्नो भनाइ राख्दै यसको प्रकाशनका लागि जनपक्ष प्रकाशन सिक्किम र यससँग जोडिएका सबैमा धन्यवाद दिए । यस्तै, समालोचक प्रा.डा.कृष्णप्रसाद दाहालले स्रष्टा दाहालको ‘स्वेतपत्र’ महाकाव्यले एउटा उचाइ प्राप्त गरेको बताए । ‘स्रष्टा दाहालले नियात्रा, उपन्यास र कवितामा आफूलाई प्रस्तुत गर्दै आएको जानकारी दिंदै प्रा.डा.दाहालले स्रष्टा दाहालका सबै कृति सशक्त रहेका धारणा राखे ।
समारोहमा वरिष्ठ समालोचक प्रमोद प्रधानले स्रष्टा दाहालको व्यक्तित्व र कृतित्वका बारेमा आफू परिचित रहेको बताउँदै उनको नियात्रा ‘यात्राको सिकर्नीमा’ मा आफूले समीक्षा लेखेको सम्झना गरे ।
वरिष्ठ पत्रकार एवं साहित्यकार प्रा.पुरुषोत्तम दाहालले स्रष्टा दाहालसँग आफू सानोछँदादेखि नै परिचित भएको बताए । प्रकाशक संस्था जनपक्ष प्रकाशनका प्रमुख पुण्यप्रसाद शर्मासँग आफ्नो बनारस भेटको सम्झना गर्दै प्रा.दाहालले नेपाली साहित्यको श्रीवृद्धिमा सिक्किम, दार्जिलिङको ठूलो योगदान रहँदै आएको बताए ।
वरिष्ठ कलाकार मदनदास श्रेष्ठले भाषा, साहित्य कला र संस्कृतिले हामीलाई जीवन्त बनाई राख्ने बताउँदै यसको संरक्षण, सम्बद्र्धनमा सबैले आ–आफ्नो स्थानबाट भूमिका निभाउनुपर्ने धारणा राखे ।
समारोहमा मिलाप प्रकाशनका अध्यक्ष कृष्ण भुसालले स्वागत मन्तव्य राखेका थिए । समारोहका सभापति साहित्यकार लेकालीले सर्जक दाहाललाई बधाई तथा धन्यवाद दिँदै स्रष्टा सर्जकले आफ्नोे सिर्जनमा मौलिकतालाई प्राथकितमा राख्नुपर्ने धारणा राखे ।
३५६ पृष्ठको ‘सिर्जनमा दृष्टि’ मा पुण्यप्रसाद शर्मा (सिक्किम) को ‘विश्वका सर्वश्रेष्ठ कविताहरू’, लेखनाथ पोखरेलका ‘फकलीको गाउँ’, मार्बल हाउसकी शालिनी र चिबे नकटो’, विमला ढुंगना निरौला (अमेरिका) को ‘यात्रामा देश’, वसन्त श्रेष्ठ (अमेरिका) को ‘अंगालो भरिको अनुभूति’ का भूमिकालाई समेटिएका छन् । यसैगरी डा.डी.आर. उपाध्यायको ‘कसुर’, मिलन शाह शंकरको ‘कर्ना’, जनक रावलको ‘खाटा बसेको घाउ’, मायादेवी गुरुङ (बेलायत) को ‘ऐना’, अनु शाह (अमेरिका) को ‘अनुराग’, गोपाल भण्डारी (अमेरिका) को ‘गोपाल भण्डारीका छन्द कविताहरू’, गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’, लक्ष्मी श्रेष्ठ ‘सगरमाथाको आर्तनाद’, ईश्वरीप्रसाद भुसालको ‘अर्पण’ र राजु सिटौला (अमेरिका) को ‘जीवन मृत्यु’ जस्ता १६ कृतिका भूमिका समावेश छन् । कृतिको सम्पादन रमेश दाहालले गरेका हुन् ।
लोकार्पण समारोहमा साहित्यकार लेखनाथ पोखरेल, रमेश दाहाल, जनक रावल, प्रा.सविता बस्नेत, सन्तोष श्रेष्ठ, डा.बुनु दाहाल, निता श्रेष्ठ, गीता अधिकारी, मदन दाहाल, मिलन शाह शंकर, लक्ष्मीनारायण भट्टराई, सानुकाजी श्रेष्ठ, पीताम्बर आचार्य, भोला अधिकारी, तुलसी गिरी ‘भावुक’, सुभाष शाह शंकर, सुरेन्द्र थापालगायत व्यक्तित्वहरूको उपस्थिति रहेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *