काठमाडौं/ नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिका भट्ट आएपछि सुधारका संकेतहरु देखिन थालेका छन् । खुल्ला प्रतिस्पर्धाबाट आएका उमेश थानीले राजीनामा दिएपछि गत २०८० फागुनको दोस्रो साताबाट भट्टले निगमको नेतृत्व सम्हालेका थिए । आयल निगमको इतिहासमा पिएचडी डाक्टरले नेतृत्व सम्हालेको यो पहिलो भएको जानकारहरुले बताएका छन् ।
उनीभन्दा अगाडि निगमको नेतृत्व इञ्जिनियर पृष्ठभूमिका व्यक्तिहरुले राजनीतिक दलका नेताहरुलाई प्रभावमा पारी सम्हाल्दै आएका थिए । थानीभन्दा अगाडिका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले निगमलाई ध्वस्त पारी ऋणको भारी बोकाएर उठ्नै नसक्ने बनाएको समाचार श्रोतले बताएको छ । लथालिंग भताभुङ्ग अवस्थामा पुगेको निगम हाल सबल र सक्षम बन्दै गएको छ ।
पछिल्लो समय पाइपलाइन निर्माणमा जोड दिँदै आएको निगमले लोथर अमलेखगञ्ज र सिलीगुढीदेखि झापासम्म पाइपलाइन बिस्तारमा सकृयरुपले लागिपरेको छ भने अमलेखगञ्जमा करिब एक लाख किलोलिटर क्षमताको देशकै सबभन्दा ठूलो इन्धन भण्डारण गृह बनाउने र अटोमेसनमा लैजाने तयारीमा जुटेको छ । यस बाहेक रुपन्देहीको रोहिणी नदी किनारको २१ विघा जग्गाको संरक्षणका लागि पनि काम अघि बढाएको समाचार श्रोतले बताएको छ ।
एयरपोर्टबाट इन्धन डिपोलाई पुनर्संरचना गर्ने, मध्यपहाडी लोकमार्ग अन्तर्गत विभिन्न ठाउँमा पेट्रोल पम्प निर्माण गर्ने कार्यलाई पनि निगमले अघि बढाएको छ । डेढ वर्षदेखि अघि बढ्न नसकेको भारतीय आयल कर्पाेरेशन र नेपाल आयल निगमबीचको जीटुजी सम्झौता पनि अघि बढेको छ । यस्का अतिरिक्त पहाडी क्षेत्रमा बोतलमा पेट्रोल बेच्नुपर्ने अवस्थाको अन्त्य गर्दै धनगढीमा पनि भण्डारण गृह बनाउन जग्गा प्राप्तीका लागि कार्य योजना अघि बढाएपछि आयल निगममा सुधारका संकेतहरु देखिन थालेका छन् ।
आयल निगमका कार्यकारी नीतिगत सुधारमा केन्द्रित
Facebook Comments Box