काठमाडौं/ पूर्वी नाकाको लाइफलाइन ठानिएको बी.पी. राजमार्ग गत असोज १०–१२ गतेको बाढी पहिरोका कारण क्षत विक्षत बन्न पुगेको छ । बर्षा आउन ६–७ महिना मात्र बाँकी हुँदा पनि अझै निर्माण कार्य शुरु हुन सकेको छैन ।
बी.पी. राजमार्ग जापान सरकारको सहयोगमा निर्माण भएकाले भौतिक मन्त्रालय र सडक विभागले जापान सरकारले बनाई देला कि भन्ने आश गरेर बसेको छ । खास गरी सडक विभागको नेतृत्व असक्षम हुँदा आज सम्म बजेट पनि निकासा हुन सकेको छैन । यसका कारण निर्माण कार्य प्रभावित बनेको छ । निर्माण कार्र्य छिटो शुरु गर्नेबारे अध्ययन गर्न संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय बबरमहलका डा. निर्देशक शुभराज न्यौपाने बी.पी. राजमार्गको प्रभावित क्षेत्रमा गएका छन् । यसैगरी सडक विभागका महानिर्देशक रामहरि पोखरेल मुग्लिन–पोखरा खण्ड र मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने पर्वत बाग्लुङ्ग खण्डको निरीक्षणमा निस्किएको समाचार श्रोतले बताएको छ ।
त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्मा सडक अनुगमनकैै लागि पूर्वाञ्चलतिर लागेको श्रोतले बताएको छ । नेपालमा सडक निर्माणको विधिवत थालनी वि.सं.१९८० बाट शुरु भए पनि पूर्ण बन्न नसकेको जानकारहरुले बताएका छन् । देश विकासको मेरुदण्ड मानिने सडक सञ्जालको अवस्था जुन व्यवस्था र मन्त्रीहरु आए पनि सन्तोषजनकरुपमा हुन सकेको छैन । बरु सडक निर्माणलाई मन्त्री सचिव महानिर्देशक, डिभिजन प्रमुख योजना प्रमुख र इन्जिनियरहरुले कमाई गर्नेमा माध्यम बनाउँदै आएका छन् ।
बी.पी. राजमार्ग बाहेक हाल मुग्लिन–पोखरा, नारायणगढ– बुटवल, लौकही काँकडभिट्टा सडकको अवस्था कहालीलाग्दो मात्र नभै जोखिमपूर्ण बन्दा समेत विभाग नेतृत्व कर्मकाण्डी अनुगमन र निर्देशन दिएर कानमा तेल हालेर बसेको सरोकारवालाहरुले बताएका छन् । गत असोज १०–१२ गतेको बाढीले काभ्रेभञ्ज्याङ्ग नेपालथोक खण्डको १२ कि.मि. सडक बढी क्षति गरेको छ । १२ कि.मि.मध्ये ८.७ कि.मि.सडक खण्ड रोशी खोलाले बगाएर ध्वस्त पारेको अवस्थामा अहिले अस्थायी डाइभर्सन बनाएर यातायातका साधन चलाइएको छ ।
दैनिक ८–१० हजार सवारीसाधन गुड्ने बी.पी. राजमार्गको उक्त सडकखण्डमा चौकी भञ्याङ्गमा ट्राफिक जाम भएपछि यात्रुहरु घण्टौसम्म हैरानीमा पर्दै आएका छन् । दातृ निकायले चासो नदेखाउँदा र श्रोत सुनिश्चितता नहुँदा तत्कालै ठेक्का लाग्ने अवस्था नरहेको समाचार श्रोतले बताएको छ । सडक डिभिजन भक्तपुर र खाल्टे (पहिलाको खुर्काेट) ले यो सडक निर्माणमा अगुवाई र अध्ययन गरे पनि बजेटको अभावमा ‘दिनभरी करायो, दक्षिणा हरायो’ भने झै भएको बताइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अनुभवी र क्षमतावान् सचिव भए पनि विभागको नेतृत्व अक्षम भएपछि त्यस्को आरोप मन्त्री देवेन्द्र दाहाल र सचिव शर्माले खेप्नु परेको समाचार छ । सडक विभागलाई यतिबेला बी.पी. राजमार्ग, मुग्लिन पोखरा र नारायणगढ–बुटबल सडक टाउको दुखाई बन्न पुगेको सडक विभागमा चर्चा चलेको छ । यहि हिसाबले यी सडकहरु सम्पन्न हुन अझै केही वर्ष लाग्ने देखिन्छ ।
सडक विभागलाई बी.पी. राजमार्ग टाउको दुखाई
Facebook Comments Box