विदेश जाँदा सचेत रहन परराष्ट्रको आग्रह

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाल सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जानका लागि तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) सार्वजनिक गरेको छ ।
त्यहाँ जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) सार्वजनिक गरिएको भनी परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयले सोमबार ट्राभल एड्भाइजरी जारी गर्दै नेपाली नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको हो ।
ती देशमा आकर्षक तलब र सुविधा दिने भनी विभिन्न प्रलोभनहरू देखाई ठगी कार्य भैरहेको भन्ने कुरा आएकाले त्यसको सतर्कताका लागि यो सूचना जारी गरिएको पनि मन्त्रालयकले जनाएको छ ।
नेपालमा रहेका तथा वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा युएईसहित अन्य मुलुकमा रहेका नेपालीलाई थाइल्याण्डको बैंकक, याहुनको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई विभिन्न माध्यमबाट म्यान्माको कायिन प्रान्तको म्यावडीमा लगी जबर्जस्ती अवैध कार्यमा लगाइने गरिएको पाइएको भन्दै मन्त्रालयले सचेत गराएको हो । पछिल्ला दिनमा मानव बेचबिखन एवं अन्य आपराधिक गतिविधिमा संलग्न गिरोहले नेपाली नागरिकलाई कम्बोडिया, लाओस र म्यान्मामा लगी जबर्जस्ती अवैध कार्यमा लगाउने गरेको सूचना मन्त्रालयले पाई यो सूचना जारी गर्नुपरेको बताएको छ ।
रोजगारदाताले राहदानी खोसिदिने, १२÷१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिनेलगायतका समस्या रहेको सूचनाहरू आएको पनि मन्त्रालयले जनाएको छ । यस्तो जानकारी आउनासाथ उद्धारका लागि नेपाली राजदूतावास याहुन र बैंककमा आवेदन गर्ने नेपालीको सङ्ख्यामा उल्लेखनीय रूपमा वृद्धि भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
बैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिने जोसुकै व्यक्तिलाई विदेशमा पु¥याई अलपत्र पार्ने, नेपाल सरकारको प्रचलित कानूनबमोजिम निषेध गरिएका कार्यमा संलग्न हुने वा यस किसिमले क्रियाकलाप गर्ने÷गराउने कार्य कानूनबमोजिम दण्डनीय भएकाले यस्ता गैरकानूनी कार्य नगर्न÷नगराउन र यसतर्फ सचेत रहन सम्बन्धित सबैमा परराष्ट्र मन्त्रालयले अनुरोध पनि उक्त सूचनामार्फत गरेको छ ।
“वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि भिजिट भिसामा यात्रा नगर्न हुन र रोजगारीको प्रस्ताव स्वीकार गर्नुअघि विदेशस्थित सम्बन्धित नेपाली नियोगमार्फत विदेशी फर्म, कम्पनी र रोजगारदाताका बारेमा पर्याप्त जानकारी लिन तथा व्यक्तिगत रूपमा ती फर्म, कम्पनी र रोजगारदाताको वेबसाइट जाँच गर्नुहुन अनुरोध गरिन्छ”, भनी मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *