एस.भट्टराई
अष्ट्रेलिया/ अष्ट्रेलियाका लागि नेपालका राजदूत चित्रलेखा यादवले यहाँका गभर्नर समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् ।
गभर्नर जनरल साम मोस्टिनसमक्ष राजदूत यादवले मङ्गलबार क्यानबेरामा आयोजित विशेष समारोहमा ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी थिइन् । सोही समारोहपछि राजदूत यादवले गभर्नर जनरलसँग शिष्टाचार भेट गरेको नेपाली दूतावाससूत्रबाट जानकारी प्राप्त भएको छ ।
त्यस अवसरमा राजदूत यादवले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट शुभकामना व्यक्त गरेको जानकारी गराएकी थिइन् । यसैगरी यादवले राष्ट्रपति पौडेलका तर्फबाट गभर्नर जनरललाई नेपाल भ्रमण गर्न आमन्त्रण पनि गरेकी थिइन् ।
सो भेटमा गभर्नर जनरल र नेपाली राजदूतबीच नेपाल–अष्ट्रेलिया सम्बन्धका विविध पक्ष तथा साझा हित र चासोका विषयमा विचारविमर्श भएको जनाइएको छ । पारस्परिक समझदारी, विश्वास र सहयोगमा आधारित द्विदेशीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन क्रियाशील रहने प्रतिबद्धता राजदूत यादवले व्यक्त गरेको जनाइएको छ ।
समारोहमा अष्ट्रेलिया सरकारका उच्चपदस्थ अधिकारी र नेपाली दूतावासका कर्मचारीहरूको उपस्थिति थियो । उपसभामुख, शिक्षामन्त्रीसमेतको जिम्मेदारी सफलतापूर्वक सम्हालिसकेकी यादवको राजदूतको रुपमा यो नै पहिलो अनुभव हो ।
अष्ट्रेलियामा राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
Facebook Comments Box
