काठमाडौं । स्रष्टा अमर बान्तुका एक साथ पाँच गीतको भिडियो सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा एक भव्य समारोहबीच मिलाप मासिकको आयोजनामा गीतकार, संगीतकार, गायक एवं कवि बान्तुका पाँच गीतको भिडियो सार्वजनिक गरिएको हो ।
समारोहमा ‘हरपल हरक्षण’, ‘माया हल्का हल्का’, ‘मनको फूलबारी’, ‘सम्बन्ध’ र तिम्रै प्रवाह’ गीतका भिडियो सार्वजनिक गरिएको थियो । सबै गीतका भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । ‘हरपल हरक्षण’ मा शब्द एवं संगीत अमर बान्तुको रहेको छ भने श्वर मनोज थापा र सुनिता थेगिमको छ । यस्तै ‘हल्का हल्कमा’ पनि शब्द एवं संगीत अमर बान्तुको छ भने सत्यराज आचार्य र सहिमा श्रेष्ठले श्वर दिएका छन् । त्यस्तै ‘मनको फूलबारीमा पनि शब्द एवं संगीत अमर बान्तुको छ भने श्वर सारिका घिमिरे र बिसी राईको छ ।
यस्तै, ‘सम्बन्ध’ मा एसी कोइरालाको शब्द, संगीत अमर बान्तुको छ भने श्वर प्रताप दासको छ । त्यस्तै ‘तिम्रै प्रवाह’ मा अमर बान्तुको गायन, शब्द र संगीत रहेको छ । यो गीतको भिडियोमा बान्तुलाई भावना राईले अभियनमा साथ दिएकी छिन् । सबै गीतका भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका हुन् ।
समारोहमा मिलापका सम्पादक कृष्ण भुसालको सभापतित्व रहेको थियो भने पूर्वमन्त्री एवं गीतकार एस.पी. कोइरालाले स्वागत मन्तव्य राखेका थिए । भीम विराग प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले गीतसंगीत साहित्यले मानिसलाई जोड्ने बताउँदै कवि बान्तुका बारेमा लेख्नुभएको कविता वाचन गरेका थिए ।
त्यस्तै गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले बान्तुले गीतकारको अक्षय कोष स्थापना गरेर ठूलो कार्य गरेको सम्झना गर्दै उनको व्यक्तित्वको चर्चा गरेका थिए । निर्देशक एवं नायिका दीपाश्री निरौलाले बान्तुको एउटा गीतमा आफूले पनि अभिनय गरेको सम्झना गर्दै उनी सर्वप्रिय व्यक्तित्व भएको चर्चा गरिन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्वअध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले बान्तुको लेखनमात्र नभएर कविता वाचनकला पनि सशक्त रहेको जिकिर गरे । तस्बिर ः सुरेन्द्र थापा

अमर बान्तुका पाँच भिडियो
Facebook Comments Box