चिकित्सकहरु पुस्तकमा समेटिए

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाल चिकित्सक संघले आफ्‌नो स्थापना दिवसलाई नौलो ढंगले मनाएको छ । स्थापनाकालदेखि हालसम्म भएका ३२ अध्यक्षहरुलाई समेटेर लेखिएको पुस्तक ‘चिकित्सक नेतृत्व’ लाई स्थापना दिवसको अवसर पारेर विमोचन गरिएको छ ।
संघ स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पुस्तकको विमोचन गरे । पुस्तकमा संघका ३२ जना अध्यक्षको जीवनी, संघमा उनीहरूले गरेका योगदान, संघर्ष लगायतका विषय समावेश गरिएको जनाइएको छ । विमोचनपछि राष्ट्रपति पौडेलले दक्ष र विज्ञ चिकित्सकहरु नेपालमै उत्पादन हुनु र नेपालमै स्तरीय स्वास्थ्य उपचारको थालनी हुनु सुखद् पक्ष रहेको बताए ।
पौडेलले नेपालमा पर्याप्त जनशक्ति उत्पादन भए पनि त्यस अनुसार अवसरहरु सिर्जना नभएकोमा चिन्ता व्यक्त गरे । संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्ने चिकित्सकहरूको सम्मान र स्मरण दुवै हुने भन्दै संघले यो पुस्तक प्रकाशनको निर्णय गरेको जानकारी दिए । पुस्तकको सम्पादन पत्रकार प्रवीण ढकालले गरेका हुन् । पुस्तकबाट संघको इतिहाससँगै नेपालको चिकित्सा इतिहासको संरक्षण हुने सम्पादक ढकालले बताए ।
२००७ साल फागुन २० गते नेपाल चिकित्सक संघको स्थापना भएको हो । यो नै नेपालको पहिलो पेशागत संघ रहेको बताइएको छ । संघको पहिलो अध्यक्ष डा. सिद्धिमणि आचार्य दीक्षित हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *