दाहाल ओलीविरोधी गठबन्धनको तयारीमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नयाँ गठबन्धनको तयारीमा जुटेका छन् । हालका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले आफूलाई धोका दिंदा प्रतिपक्षमा पुग्नुपरेको निष्कर्षमा पुगेका दाहाल ओलीलाई प्रतिपक्षमा पु¥याउने तयारीमा लागेका छन् । यसका लागि दाहालको प्रयास भने ओलीविरोधीहरुलाई एक ठाउँमा ल्याउनु रहेको छ । ओलीका आलोचकका रुपमा रहेका भनिने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) समेतलाई खुशी पार्ने ध्याउन्नमा दाहाल लागेका छन् ।
नेकपा (माओवादी केन्द्र) को तराई केन्द्रित कार्यक्रममा दाहाल बालेनको पैत्रिक बासस्थान रहेको महोत्तरीमा पुग्दा उनले नयाँ र पुराना सबै शक्तिहरु राष्ट्रिय हितका लागि एक हुनुपर्ने धारणा राखे । उनले विहीबार महोत्तरीमा आयोजित कार्यक्रममा बालेनको पैत्रिक ठाउँलाई इंगित गर्दै राष्ट्रवादीहरु एक कित्तामा उभिएर विरोधीहरुको सातो लिनुपर्ने धारणा राखे ।
उनले पछिल्लो समय ओलीविरोधीहरुलाई संगठित गर्ने कार्य गर्दै आएका छन् । शुरुको समयमा ओलीसँग निकटता देखाएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई समेत आफ्नो हातमा लिने काम दाहालले गरिसकेका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत आफ्नो कित्तामा रहेको ठान्ने अवस्थामा दाहाल रहेका छन् । अध्यादेशलाई संसदबाट पारित गर्ने सन्दर्भमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई आफ्नै पक्षमा उभ्याउन आफू सफल भएको बुझाइमा दाहाल रहेका छन् ।
यसैगरी सरकारमै रहेर पनि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलगायतका केही दलहरु ओलीविरोधी कित्तामै रहेको बुझाइमा दाहाल छन् । त्यसैले पनि दाहाल आप्mनो कित्तामा अरुहरुलाई ल्याउने प्रयासमा लागिरहेका छन् । यसका लागि ठाउँ अनुसार जे पनि बोल्न तथा प्रतिक्रिया दिन दाहाल प्रयासरत रहेका बताइएको छ । तराईमा जाँदा एउटा कुरा पहाडमा जाँदा अर्को कुरा गर्न पनि दाहाल तयार रहेको उनका अभिव्यक्तिहरुले देखाउने गरेको छ ।
दाहाल ओलीको विरुद्धमा मात्र केन्द्रित भैरहेका छैनन् कि हालको सत्ता समीकरणलाई नै फेरबदल गराउने प्रयासमा लागि रहेका छन् । यसका लागि उनले सत्ताको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको साथ पाउनका लागि विभिन्न प्रयासहरु गरिरहेका छन् । ओलीका हरेक कुरालाई नजिकबाट नियाली आफ्नै ढंगबाट विश्लेषण गर्दै आएका दाहाल ओलीका हरेक क्रियाको प्रतिक्रिया दिइरहेका छन् । यस क्रममा दाहालको ध्यान सरकारको नेतृत्व परिवर्तनमा केन्द्रित रहेको देखिन्छ । यसका लागि दाहाल सरकारको नेतृत्व कांग्रेसका सभापति शेरबहादुर देउवाले लिइ दिए हुने भन्ने पक्षमा देखिएका छन् ।
देउवाप्रति भारतीय सत्तापक्ष पनि सकारात्मक बनिदिए राम्रो हुने भन्ने पक्षमा दाहालले प्रयास गरिरहेका छन् । यसका लागि आफ्नो कूटनीतिक प्रयास दाहालले जारी राखेको अवस्था छ । दाहालले भारतमा पनि आफ्नो प्रयासलाई जारी राखेको स्रोतले बताएको छ । भारतीय सत्ता पक्ष पनि ओलीसँग रुष्ठ रहँदै आएको छ । ओली प्रधानमन्त्री भएको आठ महिना हुँदासम्म पनि ओलीलाई भारतको सत्ता पक्षले निमन्त्रणा दिएको छैन । यो कारणले ओली भने निक्कै नै तनावमा छन् ।
ओलीको यो तनावले दाहाललाई भने राहत मिल्ने गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई महत्व नदिएकोमा खुशी भएका दाहाल मोदीले देउवालाई पनि भाउ नदिएको भने रुष्ठ छन् । ओलीलाई साथ दिएको भनी मोदी पनि देउवासँग रिसाएको बुझाइमा दाहाल पुगेका छन् । त्यसो त दाहालले कांग्रेस र माओवादी केन्द्रको प्रयासमा पुरानै सत्ता गठबन्धनलाई ब्युँझाउने प्रयास पनि नगरेका होइनन् । त्यसका लागि उनले देउवालाई खबर पनि पठाएका थिए । त्यो बेला देउवाले महत्व नदिएकाले दाहालले ओलीलाई सत्ताच्युत गर्न पाएका थिएनन् ।
पछिल्लो समय ओलीप्रतिको नकारात्मकता झनै बढेको अवस्था छ । जताततै ओलीको विरोध भैरहेको अवस्था छ । यस्तै अवस्थाका बीच केही समयअघि ओलीले एमालेका प्रभावशाली नेता भीमबहादुर रावललाई पार्टीबाट निष्कासित गरेका थिए । रावलका कारण कर्णाली र सुदूरपश्चिममा एमाले र ओलीलाई धक्का लाग्ने स्थिति छ । यसरी ओलीको कार्यशैलीको विरोध गर्नेमा रावल पनि अग्रपंक्तिमा देखिएका दाहालले उनको पनि साथ खोजिरहेका छन् । यसैगरी सामाजिक अभियन्ताका रुपमा रहेका दुर्गा प्रसाइँको समूहलाई पनि आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *