नियात्रा : भाग्यले ठगेको ताल ‘लेक सुपेरियर’ निहार्न पुग्दा …

Nayabimarsha (Weekly Newspaper from Nepal)
मुरारीराज मिश्र

लगभग हरेक मिनेटको अन्तराल जस्तोमा देखिने सानाठूला तालहरूलाई पछाडि छोड्दै प्रतिघण्टा ७०–८० माइलको रफ्तारले हाइवेमा बेतोडले कुदिरहेको थियो, हामी चढेको गाडी ।
हामी अर्थात् पत्नी कल्पना, छोरी डा. सम्पदा, छोरा इ. कौशल र ज्वाइँ डा. टेलर ज्याकोव सुलेरुड अनि म समेत पाँचजना । छोरी गाडी चलाउँदै थिइन्, ज्वाइँ अगाडिको सीटमा हुनुहुन्थ्यो भने हामी आमाबाबु र छोरा पछिल्लो सीटमा थियौं ।
हाम्रो भ्रमणको उद्देश्य विश्वको सबैभन्दा ठूलो ताजा पानीको ताल लेक सुपेरियर (ीबपभ क्गउभचष्यच) को अवलोकन र डुलुथ शहरमा बस्ने सम्धी सम्धिनीको निमन्त्रणामा वहाँहरूसँग भेटघाट थियो ।
काठमाडौंबाट ३ वटा प्लेनको झन्डै २४ घण्टाको उडानपछि ३ अक्टोबर २०२४ को राति, श्रीमती र म पारिवारिक भेटघाटको क्रममा छोरी सम्पदाको कर्मथलो अमेरिकी राज्य मिनिसोटा आइपुगेका थियौं । छोरा कौशल पनि एक महिनाको बिदा मिलाएर बेलायतबाट यतै आएका थिए । यसै मेसोमा छोरी–ज्वाइँ मिलेर हामीले घुम्ने ठाउँको रूपमा छनौट गरेका ठाउँमध्येको एक स्थान लेक सुपेरियरमा जाने साइत, हामी यता आएको १३ दिनपछि १६ अक्टोबर २०२४ मा जुरेको थियो ।
मिनिसोटालाई तालै तालको राज्य भनिंदो रहेछ । यहाँ सानाठूला गरेर दस हजार भन्दा बढी स्व–निर्मित तालहरू रहेछन् । प्राकृतिक सौन्दर्यको लागि प्रसिद्ध मिनिसोटा संसारको चौथो ठूलो नदी मिसिसिपीको उद्गम स्थल पनि हो । बिहानको खाना खाएर हामी घरबाट निस्कियौं । मिनिसोटाको राजधानी सेन्ट पाओलको व्यस्त शहर मिनियापोलिसबाट केही बेरको यात्रापछि हामी शहरभन्दा बाहिरको तीव्र गतिको हाइवेमा प्रवेश ग¥यौँ । हाइवेका दुवैतिर हरिया रूखहरू र तीनका बीच–बीचमा राता पात भएका रूखले गर्दा वातावरण लोभलाग्दो थियो ।
यतातिरका जग्गामा मकै खेती मात्रै हुने रहेछ । अहिले मकै टिपिसकेकाले बारीमा जताततै मकैका ढोड र कतै ढोडलाई मेसिनको सहायताले पेलेर गोलो पाङ्ग्राजस्तो बनाएर राखेका दृश्य देखिन्थे । ठाउँठाउँमा हावाबाट बिजुली उत्पादन गर्ने पङ्खा विन्ड मिल घुमिरहेका थिए । सररर चलिरहेको चिसो हावाका कारण बाहिरी वातावरण भने चिसो थियो ।
समथर बाटो र लेन अनुशासनले गर्दा अत्यधिक स्पीडमा पनि सवारीसाधन व्यवस्थित रूपमा चलिरहेका थिए । हर्न बजाएको कतै सुनिंदैन थियो । भ्रमण अवधिभर यताका ट्राफिक प्रहरी कस्ता हुन्छन् भनी हेर्न समेत पाइएन । काठमाडौंमा सवारीका कर्कश हर्न सुन्दै र ट्राफिक प्रहरीको उपस्थितिको बावजूद अनियन्त्रित र अव्यवस्थित ट्राफिक व्यवस्थापन देख्दै आएको मलाई, यता भने हर्न बजाएको पटक्कै नसुन्दा र कतै पनि ट्राफिक प्रहरी नहुँदा पनि संयमित र नियन्त्रित रूपमा चलेको यातायात व्यवस्थापन प्रणाली देख्दा मलाई कस्तो–कस्तो लाग्यो । सबैले इमानदारीपूर्वक नियम पालना गर्ने हो भने सबै समस्या स्वतः समाधान हुनेरहेछन् नि भन्ने विचार पनि मनमा खेले ।
बाटोमा मानिस हिंडेको देख्न शहरी क्षेत्रमा समेत मुश्किल हुने यहाँ, हाइवेमा त झन् मानिस हिंडेको देख्नु स्यालको सिङ भेटे झैं हुने नै भयो । बाटोका दुवै तर्फ करीब प्रत्येक घण्टाको दूरीमा पिउने पानी, शौचालय, आराम कक्ष र पेय पदार्थ तथा खाजा स्वचालित रूपमा किन्न मिल्ने फराकिलो क्षेत्रफलमा बनेका सफा र सुविधा सम्पन्न रेष्ट एरिया बनाइएका रहेछन् । सवारी चालक फ्रेस हुँदै रोकिंदै यात्रा गरून् र दुर्घटना नहोस् भन्ने कुरालाई ध्यानमा राखेर यस्ता रेष्ट एरियाहरू स्थानीय निकायबाट बनाएर सञ्चालन गरिएको रहेछ ।
यो देखेर, काठमाडौंबाहिर यात्रा गर्दा बाटोमा शौच लाग्दा झाडी वा कुनाकाप्चामा जानुको विकल्प नभेटेको मलाई अचम्म लाग्यो । देश संघीयताका गएको र ३ तहको सरकार मौजूद रहेको अवस्थामा आफ्नो क्षेत्रमा आउनेजाने यात्रुको सुविधाको लागि कम्तीमा पनि ठाउँठाउँमा व्यवस्थित शौचालय र पिउने पानीको व्यवस्था त स्थानीय निकायले गर्न सक्नुपर्ने नै हो कुराहरू सोचाइमा आए । फेरि, आफ्नै सुविधाको लागि मरिहत्ते गर्ने हाम्रा जनप्रतिनिधिको दिमागमा यस्तो जनसुविधाको कुरा के आउँथ्यो होला र ! भन्ने सोचाइ आएपछि मन अमिलो भयो ।
गाडीभित्र छोरा, छोरी र ज्वाइँ आफ्नै तालमा गफिंदै थिए । हामी बुढाबुढी भने दुई बेग्लाबेग्लै देशमा रहेका छोराछोरी सहित विदेशी भूमिमा यसरी एकैपल्ट सपरिवार यात्रा गर्ने अकल्पनीय मौका जुरेकोमा मनमनै पशुपतिनाथलाई धन्यवाद दिंदै थियौं ।
विश्राम सहित करीब ३ घण्टाको यात्रापछि छोरीले मिनिसोटाको डुलुथ स्थित ¥याडिसन होटेलको ‘हार्वर भ्यू ३६०’ रेष्टुरेन्ट पु¥याइन् । गाडी पार्किङमा राखेर हामी लिफ्टबाट रेष्टुरेन्टको सबैभन्दा माथिल्लो तल्लामा गयौं । यो घुम्ने रेष्टुरेन्ट रहेछ । एक ठाउँमा बसेपछि थाहै नपाउनेगरी ३६० डिग्री घुमेर चारैतिरको दृष्य देख्न सकिने । यहाँबाट हेर्दा जताततै लमतन्न परेको लेक सुपेरियर ताल मात्रै देखिन्थ्यो । गाढा नीलो पानीयुक्त, विशाल र सिमानाविहीन ताल !
यता आउने अघिल्लो दिन टेक्सास राज्यमा रहेका भाइ प्रदीप अर्यालसँगको फोनवार्तामा लेक सुपेरियरको कुरा चल्दा उनले “दादा, लेक सुपेरियर त नामले मात्रै ताल हो, यो यति ठूलो छ कि वास्तवमा यसलाई ताल हैन समुद्र नै भन्नुपर्छ” भनेका थिए । झन् आफ्नै आँखाले देखेपछि त प्रदीप भाइको कुरामा लालमोहर लगाउन करै लाग्यो मलाई । उसै पनि भूपरिवेष्टित देशको बासिन्दा भएकोले यत्रो ठूलो ताल देख्दा समुन्द्रको आभाष भयो मलाई । मन रोमाञ्चित भयो ।
म एकटकले नीलो विशालकाय ताल निहार्न थालें । भाग्यले मानिसलाई ठगेको भन्ने कुरा त सुनिंदै आएको हो तर भाग्यले प्रकृति र स्थानलाई पनि ठग्दो रहेछ भन्ने कुरा यहाँ आएपछि देखियो ! यदि यसो नहुँदो हो त, समुद्र हुन चाहिने सबै गुण भए तापनि यसको पहिचान तालको रूपमा मात्रै सीमित हुँदैनथ्यो होला शायद !
“हैन बाबा, ताल यहाँबाट मात्रै हेर्ने कि त्यसलाई छुन पनि जाने ?” छोरी सम्पदाको प्रश्नले मलाई यथार्थको धरातलमा ल्याइपु¥यायो । म बाहेक सबैले खाजा खाइसकेछन् । मैले पनि हतारहतार खाएँ । बिल भुक्तानी गरेर हामी ओर्लियौं । यहाँबाट ताल नजिकै पर्ने भएकाले गाडीलाई पार्किङमै छोडेर लेक सुपेरियर छुन पैदलै अघि बढ्यौं । करिव ५–७ मिनेटको दूरीमा हामीले तालको नीलो पानी छोएर, समुन्द्रको उपाधि पाउन नसकेको यो तालको मनभित्र गुम्सिएको पीडा र चिसोपनको राम्रैसँग अनुभूत ग¥यौँ ।
क्षेत्रफलको आधारमा विश्वको सबैभन्दा ठूलो ताजा पानीको ताल लेक सुपेरियर क्यानाडाको ओन्टारियोसम्म फैलिएको र समुद्र जस्तै विशाल छ । यसको आकार १ लाख २८ हजार वर्ग किलोमिटर रहेको छ । समुद्र सतहभन्दा माथि रहेको एउटै कारणले मात्र यसलाई ताल भनिएको रहेछ ! यो तालको उत्तरमा क्यानाडा र अमेरिकाको मिनिसोटा तथा दक्षिणमा विस्कान्सिन र मिचिगन राज्य पर्दछन् । यो एक हिमनदी हो । यसले विश्वको सतहको ताजा पानीको दश प्रतिशत ओगटेको छ । यसको नीलो पानी र बलौटे किनाराहरूले समुद्र बिर्साउँछन् ।
केही बेर हामीले लेक सुपेरियरसँग बितायौं । तस्वीर खिच्यौं । तालमा रमाउँदै पौडिरहेका बकुल्ला प्रजातिका चराका बथानका गतिविधि निहार्यौं । तैरिंदै गन्तव्यतिर जानलागेका जहाज हे¥यौं । जति हेरे पनि आँखा र मनलाई दृश्यको रसास्वादन गर्न पुगेको थिएन । तर, सम्धी लियोन सुलेरुड हामीलाई कुरिरहनु भएकोले फर्कनुपर्ने बाध्यता थियो । मनले नमान्दा नमान्दै लेक सुपेरियरलाई बाइबाइ ग¥यौँ ।
त्यहाँबाट फर्केर सम्धी लियोनको घर गयौं । उहाँले हार्दिकताका साथ स्वागत गर्नुभयो । लेक सुपेरियरभन्दा अलिक हाइटमा रहेको उहाँको घरबाट फेरि पनि नीलो ताल निहार्ने मौका मिल्यो हामीलाई । मनभरी लेक सुपेरियरको सौन्दर्य र आफन्तजनको न्यानो आतिथ्य सँगाल्दै मौका मिले फेरि पनि भेट्ने वाचा गरेर, डुलुथबाट हामी आफ्नो बासस्थान रहेको मिनियापोलिस ग्लेसन लेक रोडतर्फ हुँइकियौं । (साहित्यपोष्ट डटकमबाट)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *