जनकपुरधाम/ भारतको जम्मू–कश्मीरको पहलगाममा आतंकवादी आक्रमणको क्रममा सुदीप न्यौपानेको हत्याविरुद्ध जनकपुरधाममा विशाल विरोध प्रदर्शन भएको छ ।
नेपाल–भारत खुला सीमा संवाद समूहको आयोजनामा मंगलबार जनकचोकमा सो आतंकवादी आक्रमणको विरुद्धमा विशाल प्रदर्शनी भएको हो ।
आतंककारी आक्रमणमा एक नेपाली नागरिक सुदीप न्यौपानेसहित २७ जनाको ज्यान गएपछि त्यसको विरोधमा हजारौंको संख्यामा नागरिक सहभागी भई आक्रोशपूर्ण विरोध कार्यक्रम सम्पन्न गरिएको थियो । विरोध कार्यक्रमको क्रममा पाकिस्तानी सेना प्रमुख आसिफ मुनिरले आतंकवादीहरूप्रति सहानुभूति जनाउँदै दिएको अभिव्यक्तिको विरोध पनि गरिएको थियो । जनकचोकदेखि जानकी मन्दिर परिक्रमा गर्दै शान्तिपूर्ण तर आक्रोशपूर्ण रुपमा सडकमा प्रदर्शनकारी उत्रिएका थिए ।
कार्यक्रमको अध्यक्षता नेपाल–भारत खुला सीमा संवाद समूहका प्रदेश सह–अध्यक्ष दीपक यादवले गरेका थिए । प्रमुख अतिथि संस्थाका अध्यक्ष डा.राजीव झा रहेका थिए । कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता अनिल महासेठ, संजय चौधरी, संजय सिह, रामजीवन साह, अभियानी चुरे संघर्ष समितिका प्रतिनिधिहरू, स्थानीय अगुवा तथा जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो ।
प्रमुख सहभागीहरूमा पूर्वजिसस उपप्रमुख दीपक झा, जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर –३ वार्ड अध्यक्ष दीपेन्द्र साह, नेता चन्देश्वर साह, सुनिल यादव, कृष्णकुमार साह लगायत थिए ।
कार्यक्रममा हिन्दू तथा मुस्लिम समुदायका युवाहरू स्वस्फूर्त रूपमा सहभागी भई एकताको सन्देश दिँदै आतंकवादका विरुद्ध एकजुट भएर आवाज उठाएका थिए ।
सुदीप हत्याको विरोधमा प्रदर्शनी
Facebook Comments Box
