जनमुखी बनेन सरकार: गठबन्धन बिगार्दै ओली, आन्दोलन चर्किदै

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुुर/ खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान सरकार जनमुखी बन्न नसकेको भनी आलोचना भैरहेको छ । यस्तो हुनुमा वर्तमान सरकार स्थिर सरकार भएर पनि सोचेअनुसारको काम गर्न नसक्नु हो । करिब दुई तिहाइको सरकार भए पनि वर्तमान सरकारले जनताको पक्षमा खासै कार्य नगरेको भनी सर्वत्रबाट आलोचना भैरहेको छ । देशका प्रमुख ठूला दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) सहितको दह्रो सरकार बने पनि उपलब्धी भने नभएको बताइन्छ । जुन उद्देश्यले सरकार गठन गरिएको थियो, त्यसतर्फ सरकारले ध्यानै दिएको छैन । सरकार गठन हुँदा प्रमुख रुपमा संविधानको संशोधन गरिने भनी सात बुँदा सार्वजनिक गरिएको थियो । करिब १० महिना सरकार चलाउँदा पनि ओलीले संविधान संशोधनको लागि भनी कुनै पनि पहल गरेको देखिएको छैन । संशोधन नै मुद्दा हुन्थ्यो भने सरकारले त्यसका लागि राष्ट्रिय सहमतिको प्रयास गथ्र्यो तर त्यसतर्फ कुनै पनि किसिमको काम कारबाहीको थालनी समेत नभएको अवस्था छ ।
वर्तमान सरकार करिब दुई तिहाइको भएको हुँदा जनताको पक्षमा कामहरु हुने अपेक्षा गरिएको थियो । वर्तमान प्रधानमन्त्री ओली चौथो पटक प्रधानमन्त्रीमा आसीन भएका तथा उमेरका कारण पनि ज्येष्ठ नागरिकको रुपमा रहेकाले उनले यो अवसरको सदुपयोग गरी देश र जनताको पक्षमा काम गर्ने अपेक्षा गरिएको थियो । विगतमा भएका गल्तीहरुलाई नदो¥याउने अपेक्षा गरिएको थियो ।
वर्तमान सरकारको गति हेर्दा भने सरकारले जनताको पक्षमा रत्तिभर काम नगरेको जस्तो देखिएको छ । प्रधानमन्त्री ओली देशको लागि आफूलाई समर्पित गर्नुपर्नेमा त्यस विपरित उभिँदै गरेको आभास सर्वत्र गरिन थालिएको छ । ओलीले आफ्नो दल, त्यसमाथि आफ्नो गुट तथा आफन्तहरुको लागि मात्र प्रधानमन्त्री बनेको जस्तो व्यवहार देखाउँदै आएका भनी उनको आलोचना भैरहेको छ ।
राजनीतिक नियुक्तिहरुमा ओली आफू केन्द्रित बनिरहेका भनी उनको विरुद्धमा बोल्नेहरुको संख्यामा बढोत्तरी भैरहेको छ । नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा आफ्नो सालो नाता पर्ने हितेन्द्र शाक्यलाई ल्याउनु उनको स्वार्थ रहेको भनिने गरिन्छ । कुलमान घिसिङजस्ता चर्चित पात्रलाई हटाएर शाक्यलाई ल्याएपछि ओलीको आलोचना झनै बढेको छ ।
ओलीले नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने पात्रमा समेत आफैंले भागबण्डा खोजेका थिए । आफ्नो निर्वाचन क्षेत्रकै भएको तथा ओलीकै दलको समर्थक भएको आधारलाई टेक्दै ओलीले निलम ढुंगानालाई गभर्नर बनाउन प्रयास गरेका बताइन्छ । महाप्रसाद अधिकारी गभर्नरबाट सेवानिवृत्त हुनु एक महिनापूर्व नै गभर्नर नियुक्त गरिसक्नुपर्नेमा त्यस विपरित करिब दुई महिनापछि नयाँ गभर्नर नियुक्तिको काम भएको छ ।
गभर्नरमा ओलीले आफू निकटकोलाई बनाउन भगीरथ प्रयास गरेका थिए । उनले यसका लागि साम, दाम, दण्ड र भेदको नीति लिएका थिए । उनले ढुंगानाको विकल्पमा कांग्रेसलाई नाम दिन भनेका थिए । कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्ला विकल्पमा नेपाल राष्ट्र बैंककै कर्मचारी डा. गुणाकर भट्टको नाम दिएका थिए । सबै हिसाबले भट्ट योग्य देखिए पनि ओलीले ढुंगानालाई प्रयोग गरी भट्टको राजीनामालाई स्वीकृत नगरी राखि दिएको आरोप छ ।
त्यसपछि ओलीले अर्को नाम दिन भनी देउवालाई भनेका थिए । देउवाले प्रा.डा. विश्वनाथ पौडेलको नाम दिए । त्यसपछि ओलीले पौडेललाई नियुक्त नगरी बरु भट्टलाई नै बनाउने भन्न थाले । त्यस्तो खेलबाट सोझो कुरा गर्ने स्वभावका देउवा चिढिन पुगे । ओलीले बोलाउँदा समेत देउवा भेटवार्ताका लागि गएनन् । देउवा रिसाए उस्तै परे सरकार नै ढल्ने अवस्था आउने बुझेका ओलीले अन्ततः पौडेललाई गभर्नर बनाउन बाध्य भए ।
यसैगरी आफ्नै सरकारमा रहेका अन्य दललाई चिढ्याउने कार्यमा ओली लागि रहेका बताइन्छ । उनको हर्कत हेर्दा उनी आफैं आफ्नो सरकार ढाल्न लागि परेका त होइनन् भन्ने अवस्था देखिएको राजनीतिक विश्लेषक रामेश्वर ढकाल विश्लेषण गर्छन् । ओलीकै बेलामा रेशम चौधरी काण्ड बल्झिनु, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको बीचमा हुने भनिएको एकता रोकिनु, नाउपामा विवाद कायमै रहनु, सरकारमै रहेका मधेश केन्द्रित दलहरुले छुट्टै मोर्चा बनाउनु आदिले गर्दा यी सबै ओलीका लागि प्रत्युत्पादक देखिएका छन् ।
ओली आफ्नो दलको दुई तिहाइको सरकार भए झैं गरी एक्लै हिंड्न थालेको अवस्थालाई ओली आफैंले गठबन्धन तोड्ने संकेतको रुपमा रुपमा पनि राजनीतिक रुपमा विश्लेषण भैरहेको छ ।
उता, ओलीको कर्म र बोलीका कारण आफ्नो सरकार आफैं ढाल्ने अवस्थामा पु¥याउने हुन् कि पनि भन्न थालिएको छ । राजनीतिको एकदमै चतुर खेलाडी ठान्ने ओली धेर बाठो बन्दा चिप्लिने खतरा रहेको भन्ने गरिन्छ । ओलीकै कारण काठमाडौं महानगरपालिकाका प्रमुख बालेन चिढिएर बसेको अवस्था छ । यसैगरी ओली राजावादीहरुलाई पनि चिढ्याउने कार्य गर्दै आएका छन् । हुँदाहुँदा राजा ज्ञानेन्द्रका नाति हृदयेन्द्रलाई समेत खैरो खन्ने काम ओलीले गरेका छन् ।
यसैगरी शिक्षक, चिकित्सक, कर्मचारी, प्रशासक सबैलाई चिढ्याउने कर्म ओली स्वयम्ले गर्दै आएको बताइन्छ । आफ्नो मात्र स्वार्थमा केन्द्रित रहेका ओलीले अन्य दलका नेताहरुको मानमर्दनलाई पनि कायमै राखेको आरोप छ । यसैगरी भ्रष्ट, तस्कर आदिलाई संरक्षण दिने कार्य सरकारीस्तरबाट भैरहेको भनी वर्तमान सरकारकै आलोचना भैरहेको छ ।
यस्तो अवस्थामा राजावादीहरुले यही जेठ १५ गते काठमाडौंमा आन्दोलन गर्ने भनेको छ । यसै बेला पारेर हृदयेन्द्र समेत नेपाल आएका छन् । ओलीले जति आलोचना ग¥यो त्यति नै हृदयेन्द्र समेतको समर्थकहरु बढि रहेका छन् । राजावादीको आन्दोलनदेखि शिक्षकहरुको आन्दोलनको चर्चा चलेको छ । यसैगरी कर्मचारी प्रशासन पनि सरकारसँग रुष्ट देखिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *