काठमाडौं/ साहित्यिक मासिक पत्रिका मधुपर्कको वार्षिकोत्सवमा तीनजना साहित्यकारलाई सम्मान गरिने भएको छ । मधुपर्क गोरखापत्र संस्थानद्वारा प्रकाशित हुँदै आएको साहित्यिक पत्रिका हो । यसले जेठ ३० गते हुने वार्षिकोत्सवमा मधुपर्क सम्मान, २०८२ प्रदान गरिने भएको छ ।
नेपाली साहित्यका विशिष्ट साधकहरूलाई सम्मान गर्ने उद्देश्यले मधुपर्क सम्मान, २०८२ (पद्यतर्फ), मधुपर्क सम्मान, २०८२ (गद्यतर्फ) र मधुपर्क सम्मान, २०८२ (खुला प्रतिभातर्फ) गरी तीन विधामा सम्मान प्रदान गरिने संस्थानले जनाएको छ ।
प्रा. कृष्ण गौतमको संयोजकत्वमा गठित उपसमितिको सिफारिस अनुसार सम्मान पाउने साहित्यकारहरू हुनुहुन्छ । मधुपर्क सम्मान, २०८२ (पद्यतर्फ) कवि ज्ञान उदासलाई सम्मानित गरिनेछ । उदास २००० मङ्सिर २४ गते संखुवासभामा जन्मनुभएका उदासले २०१८ सालमा ‘आमासित’ कविताबाट साहित्यिक यात्रा हुरु गर्नुभएको थियो । उहाँका ‘कुनबेस’, ‘हामी बस पर्खिरहेका छौँ बस्’, ‘मनका कुराहरू’, ‘ज्ञान उदासका कविता’, ‘मेरो पुरानो कविता’, ‘यस्तो लाग्छ’, र ‘खाली सारङ्गी’ जस्ता कृतिहरू प्रकाशित छन् । उहाँले ‘हस्ताक्षर’, ‘नानीका कथाको किताब’, ‘स्रष्टा हस्ताक्षर’, ‘पहाड साहित्यिक’, ‘नानी’ बालपत्रिका र ‘नयाँ खबर’ कागजको पनि सम्पादन गर्नुभएको छ ।
मधुपर्क सम्मान, २०८२ (गद्यतर्फ) कथाकार ध्रुव सापकोटालाई सम्मान गरिनेछ । वि.सं.२००९ साउन ८ गते काभ्रेपलाञ्चोकमा जन्मनुभएका सापकोटा झण्डै ६ दशकदेखि नेपाली साहित्यमा क्रियाशील हुनुहुन्छ । ‘प्रतिव्यूहचक्र’, ‘उच्चारण’, ‘नेपथ्य’, ‘हामी हाँसीरहेका छौँ’, ‘अन्धकार’, ‘बितेका’, ‘विचारका लाश’, ‘विखण्डित’, ‘अकल्पनीय’, ‘आकाश विभाजित छ’, ‘अवतार विघटन’, ‘देहमुक्त’ र ‘ज्यागा’ जस्ता उल्लेखनीय कृतिहरू उहाँका छन् । ध्रुवचन्द्र गौतमसँगको संयुक्त कृति ‘ज्यागा’ ले भुटानी शरणार्थीको पीडालाई उजागर गरेको छ ।
मधुपर्क सम्मान, २०८२ (खुला प्रतिभातर्फ) कथाकार पद्मावती सिंहलाई सम्मान गरिनेछ । २००५ बैशाख ९ गते काठमाडौंमा जन्मनुभएकी सिंहको पहिलो प्रकाशित कथा ‘पथ्थरको हृदय’ हो । २०२२ बाट साहित्यिक यात्रा शुरु गर्नुभएकी उहाँका ‘कथादी’, ‘कथायन’, ‘कथाकार’, ‘मौन सम्पति’, ‘पद्मावतीका कथा’, ‘समय दंश’ लगायत आठ कथा सङ्ग्रह र ‘समानान्तर आकाश’, ‘निःशब्द यात्रा’, ‘मौन अक्षर’ गरी तीन उपन्यास प्रकाशित छन् । उहाँका दुई गीति एल्बम् पनि बजारमा उपलब्ध छन् ।
प्रत्येक सम्मानित व्यक्तिलाई जनही ५० हजार रुपियाँ नगद र सम्मानपत्र प्रदान गरिने मधुपर्कका निमित्त सम्पादक त्रिभुवनचन्द्र वाग्लेले जानकारी दिनुभयो ।
मधुपर्कले सम्मान गर्ने
Facebook Comments Box
