वैदेशिक रोजगार विभागमा सुधारको संकेत

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ मानव तस्तरको अखडा मानिएको वैदेशिक रोजगार विभागमा नयाँ महानिर्देशकका रुपमा कमलप्रसाद भट्टराई आएपछि विगतको बेथितिको अन्त्य हुन थालेको छ ।
विगतमा थिति र नीति भत्काएर कुम्ल्याउन पल्केका उपसचिवहरु सरुवा भएपछि तुलनात्मक रुपमा सेवाग्राहीले छिटो र छरितो रुपमा सेवा पाउन थालेको जानकारहरुले बताएका छन् । अझै पनि वैदेशिक रोजगार विभागमा पूर्ण रुपले सुधार आउन सकेको छैन ।
विगतमा श्रम स्वीकृति शाखा र प्रशासन शाखालाई कमाउने शाखाका रुपमा लिइन्थ्यो । अहिले ती शाखाहरुमा नयाँ उपसचिवहरु आउनुका साथै प्रत्येक दिन अनुशासन र आचरणमा रहेर महानिर्देशक भट्टराईले निर्देशन दिँदै अनुगमन समेत दिन थालेपछि विभागको धुलाम्मे भएको छविमा सुधारका संकेतहरु देखिएका छन् ।
यस अगाडि म्यानपावरहरुको कार्यालय झेलामा हुने परिपाटीलाई अन्त्य गर्दै अवदेखी इजाजत प्राप्त संस्था (म्यानपावर) नवीकरण गर्दा संस्था रहेको डिजिटल ठेगाना खुल्ने गरी गुगल प्लस कोड उपलब्ध गराउनुपर्ने र संस्थाको वेभ साइड समेत पठाउनुपर्ने प्रावधानले अब वैदेशिक रोजगारमा जाने श्रमिकहरु ठगीमा पर्ने संभावना कम रहेको समाचार श्रोतले जानकारी दिएको छ । विभागले गत जेठ २६ गते प्रकाशन गरेको सूचनामा वैदेशिक रोजगार ऐन २०६४, वैदेशिक रोजगार नियमावली २०६४ लगायत वैदेशिक रोजगारमा जाने कामदारहरुलाई सीपमूलक तालिम प्रदान गर्ने संस्थाहरुले खास देशमा पठाउनको लागि कानून बमोजिम तोकिएको समयाववधि भित्र इजातजपत्र र अनुमतिपत्र नवीकरण गर्न अनुरोध गरेको छ । विगतमा मन्त्रालयका मन्त्रीदेखि सचिव र उच्च पदस्थ कर्मचारीहरुको संरक्षणमा विभागमा दैनिक ७०–७५ लाख रुपियाँ बराबरको घुसको कारोबार हुने गरेको तथ्य पूर्वश्रममन्त्री एवं सांसद डी.पी. (डोलप्रसाद) अर्यालले नै प्रतिनिधिसभाको बैठकमा उल्लेख गरेका थिए ।
देशको वर्तमान अवस्थालाई ध्यानमा राखेर साहुुसँग ऋण काढी सुनौलो सपना देखेर वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई दलाल र म्यानपावरले ठग्ने प्रवृत्तिमा महानिर्देशक भट्टराईको प्रयासले कमी ल्याउने अपेक्षा गरिएको छ । महानिर्देशक भट्टराई सुधारवादी प्रशासकका रुपमा चिनिन्छन् र निकट भविष्यमै सविच बन्ने लाइनमा रहेको समाचार श्रोतले बताएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *