भिजिट भिजाको सुई गृहसचिवतिर पनि सोझियो

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / भित्रुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयबाट भिजिट भिजाका नाममा नेपाली युवायुतीहरुलाई ठगेर मोटो रकम असुली र मानव तस्करी गरेको प्रकरणमा गृहसचिव गोकर्णमणि दुवाडीतिर पनि छानविनको सुई तेर्सिएको छ ।
गृहसचिव दुवाडीले आवश्यकताभन्दा बढी कर्मचारी खटाएर असुली धन्दालाई निरन्तरता दिएको पाइएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृहमन्त्रालयलाई स्पष्टीकरण सोधेको समाचार श्रोतले बताएको छ । हाल छजनाको मात्र उपसचिव दरबन्दी रहेको अध्यागमन कार्यालय एयरपोर्टमा आठजना उपसचिव रहेको समाचार श्रोतले जानकारी दिएको छ । उपसचिवहरु अञ्जन न्यौपाने, अच्युत श्रेष्ठ, खेमराज उपाध्याय, निराजन श्रेष्ठ, ईश्वरीदत्त पनेरु र फणिन्द्र पौडेल रहेका छन् । यिनीहरु सबै गृहसचिव दुवाडीको छात्रछाया र आशिर्वादले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय एयरपोर्टमा रजगज गर्दै आइरहेका बताइएको छ ।
भिजिट भिषा प्रकरण चर्चामा आएपछि अहिले नायब सुब्बा र अध्यागमन अधिकृतको दरबन्दी घटाइएको छ । कुनै बेला त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय जान तछाँड र मछाड गर्ने कर्मचारीहरु अख्तियारको छापापछि भागाभागको अवस्थामा पुगेका छन् । गृहमन्त्री, गृहसचिव र कर्मचारी प्रशासन प्रमुखलाई मोटो रकम बुझाएर एकपटक मात्र नभै तीनपटकसम्म एयरपोर्ट गएर चलखेल गरेको समाचार श्रोतले जानकारी दिएको छ ।
त्रिभुवन विमानस्थल अध्यागमन गएर ब्रम्हलुट गर्ने अधिकृतहरुमा आनन्द विष्ट, अम्बिका खत्री, गणेशविक्रम शाह, चञ्चल खड्का, चिरञ्जिवी जीएम, दीपेश विडारी, दीपक पाण्डे, सीताराम शर्मा, सुन्दर वान्तवा, सुवास शर्मा पौडेल र सन्देश जोशी रहेका छन् । यसैगरी शम्भु ठगुन्ना, सुरेन्द्र थापा, मार्शल पन्त, प्रभा अर्याल, रेश्मा बुढाथोकी, लोकेन्द्र विष्ट, लोकहरि थापा, दुर्गा थापा, मुना कुँवर, ज्योत्सना भट्ट, हरि पोख्रेल र दीपेन्द्र शाही लगायतको नाम चर्चामा छ । यिनीहरु सबै गृहमन्त्रालयका उच्च अधिकारीहरुलाई प्रभावमा पारेर गएको श्रोतले जानकारी दिएको छ । अध्यागमनको मापदण्डलाई कागजमा सिमित राखी रकमलाई प्राथमिकता दिँदा गृहमन्त्रालय विवादमा तानिएको जानकारहरुले बताएका छन् ।
अख्तियारकै चासो अनुसार प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले गृहसचिव दुवाडीलाई स्पष्टीकरण सोधेपछि कालो बादल मडारिएको समाचार सूत्रले बताएको छ । गृहसचिव दुवाडीले भान्जा नाता पर्ने नापीका अमिन आनन्द बुर्लाकोटीमार्फत भिजिट भिजामा चलखेल गर्ने गरेको बताइएको छ । पैसाका लागि मरिहत्ते गर्ने गृहसचिव दुवाडी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव हुँदा पनि कर्मचारीहरुको सरुवामा हजार पाँच सयका लागि हिरिक्क हुने गरेको समाचार श्रोतले जानकारी दिएको छ ।
यसैमाथि तात्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठले आसचपु बापतको रकम काटेपछि गृहसचिव दुवाडी मुर्छित परेको चर्चा चलेको छ । हालका मुख्यसचिव एकनारायण अर्याल गृहसचिव हुँदा आर्थिक विकास र अध्यागमनको सेटिङ्ग नगरी थिति र नीति बनाएर गृह मन्त्रालयमा सुधारका कामको थालनी गरेका थिए । हाल राजनीतिक प्रतिशोध बनाएर राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक अन्य राजनीतिक दलहरुले सहमति गरेको अवस्थामा रास्वपाबाटै दुई पटक गृहमन्त्री बनेका रवि लामिछानेको कार्यकालमा समेत त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा मानव तस्करहरुले मानिसहरु पठाउने गरेको तर अहिले जस्तो चर्चामा नभएको समाचारमा जनाइएको छ ।
२०६४ सालमा मुलुकमा गणतन्त्र आएपछि थुप्रै व्यक्तिहरु गृहमन्त्री बनेका छन् र त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयबाट पनि भिजिट भिजाका नाममा मान्छेहरु निरन्तर उडिरहेको बुझिएको छ । २०६४ सालपछि माओवादी केन्द्रबाट कृष्णबहादुर महरा, जनार्दन शर्मा र रामबहादुर थापा (हाल गुमनाम एमाले) गृहमन्त्री बनेका थिए ।
त्यसैगरी काँग्रेसबाट कृष्णप्रसाद सिटौटा, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, बालकृष्ण खाँण र रमेश लेखक समेत गरी पाँचजना गृहमन्त्री बन्दा सिटौला, खाँण र लेखकको पालामा काँग्रेस पार्टीलाई अफावसिद्ध बन्न पुगेको चर्चा चलेको छ ।
एमालेको पालामा वामदेव गौतम (२ पटक), भीमबहादुर रावल र खगराज अधिकारी (१३ दिन) गृहमन्त्री बनेका थिए । खिलराज रेग्मी नेतृत्वको मन्त्रिपरिषद्मा पूर्वमुख्यसचिव माधव घिमिरे (हाल स्वर्गीय), राष्ट्रिय स्वतन्त्र पार्टीका छोटो समयका लागि रवि लामिछाने गृहमन्त्री बन्दा राष्ट्रिय परिचयपत्रको छपाई काण्डमा परेका थिए । साँच्चिकै निष्पक्ष छानविन गर्ने हो भने २०५५ सालयताका सबै तहका मन्त्री, सचिव र कर्मचारीलाई छानविनको दायरामा ल्याउनु पर्ने भनी राजनीतिक वृत्तमा चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *