म्याग्दी/ किताबका पानाहरू पल्टाएर मात्र होइन, जीवनका रंगहरूमा रंगिएर सिक्ने एउटा अनुपम अवसर बेनी नगरपालिका–१०, वाखेतको श्री विद्योदय आधारभूत विद्यालयले सिर्जना गरेको छ ।
‘बुक फ्रि फ्राइडे’ नामक नवप्रवर्तनशील अभियानले विद्यार्थीहरूलाई परम्परागत पाठ्यपुस्तकको साँघुरो घेराबाट मुक्त गर्दै उनीहरूको सृजनशीलता, आत्मविश्वास र जीवन कौशललाई उजागर गर्ने प्रेरणादायी यात्रा शुरु गरेको हो । यो पहलले हरेक बालबालिकाको मनमा सपनाको बीउ रोप्दै उनीहरूलाई जीवनको साँचो अर्थ बुझाउने सुनौलो अवसर प्रदान गर्ने जर्मको गरेको भनी चचौ पाएको छ ।
शुुक्रबार विद्यालयको कौसीमा हाउस अनुसार ब्लक विभाजन गरी विद्यार्थीहरूले माटो, कम्पोस्ट मल र बालुुवाको मिश्रण तयार गरेर पुुरना बोरा र काठका फ्रेम बनाएर बिरुवा रोपेका छन् । कौसीमा विद्यार्थीहरू आफ्ना हातले फर्सी, भिन्डी, खुर्सानी, मुला, रायो, सिमीलगायत मौसमी तरकारीहरू रोपेर कृषिजन्य ज्ञानसँगै श्रम संस्कार सिक्दैछन् । यसले विद्यार्थीहरूलाई प्रकृतिसँगको सम्बन्ध र जिम्मेवारीबोध विकास गराउन मद्दत पु¥याउने विद्यालयको अपेक्षा छ ।
विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीले यो अभियानलाई थप सशक्त बनाउन अथक नेतृत्व प्रदान गरिरहेका गरिरहनुु भएको छ । उहाँ भन्नुहुन्छ, ‘‘हाम्रो विद्यालयले सधैं विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकता दिएको छ । ‘बुक फ्रि फ्राइडे’ ले हाम्रा विद्यार्थीहरूलाई किताबी ज्ञानभन्दा माथि उठेर जीवनका व्यावहारिक पाठहरू सिक्ने अवसर प्रदान गरेको छ । हामी यो अभियानलाई अझ विस्तार गर्न चाहन्छौं, तर यसका लागि समुदायको साथ र सहयोग अपरिहार्य छ ।’’
यता, विद्यालयमा सञ्चालित कार्यक्रमले विद्यार्थीको आत्मबल अभिवृद्धि गर्न सघाउने विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीकाबहादुुर पाइजाको विश्वास छ । उहाँले भन्नुुभयोे, ‘श्रम र उत्पादनसँग जोडिएको शिक्षा दीर्घकालीन परिवर्तन ल्याउन सक्छ ।’ बेनी नगरपालिका–१०, का वडा अध्यक्ष मस्वीर रोकाले कार्यक्रमप्रति वडा कार्यालयको पूर्ण साथ रहने उल्लेख गर्दै भन्नुुभयो, ‘शिक्षा केवल किताबमा सीमित हुनुहुँदैन । यस्तो व्यवहारिक अभ्यासबाट बालबालिकामा नेतृत्व, श्रमशीलता र जीवन बुझ्ने चेत विकास हुन्छ। वडा कार्यालयले थप प्रविधि, स्रोत र सामग्रीको सहयोग गर्दै लैजाने प्रतिबद्धता लिएको छ ।’’
अभियानको पहिलो चरणमा तरकारी खेती शुरु गरिएको छ भने आगामी दिनमा विद्यार्थीहरुले कौसीमा तरकारी फलाउने, रंगीचंगी फूलबारी सजाउने, बगैंचाको स्याहार गर्ने, स्वच्छता अभियानमा जुट्ने, चित्रकला, हस्तकला, कविता लेखन, उद्घोषण तथा पत्रकारिता, वक्तृत्वकला, खेलकुद र सांस्कृतिक गतिविधिमा रमाउने अवसरले विद्यार्थीहरूको मनमा उत्साह र उमंगको नयाँ रंग भर्नेछन् । बि.सं. २०२२ मा स्थापना भएको विद्यालय हाल बालविकासदेखि कक्षा ८ सम्म ७७ जना विद्यार्थीहरु अध्ययनरत छन् भने विद्यालयमा कर्मचारी, बालविकास र निजीसहित ११ जना शिक्षक कर्मचारीहरु कार्र्यरत छन् ।
आधारभूत विद्यालयको एकल प्रयासले म्याग्दीमै पहिलो पटक शुरुवात गरिएको ‘बुक फ्रि फ्राइडे’ अभियानले विद्यालय, समुदाय र जीवनलाई जोड्ने सुनौलो सेतु बनाएर समग्र शिक्षाको मर्मलाई जीवन्त बनाउँदै राष्ट्रिय शिक्षा नीतिले परिकल्पना गरेको ‘‘सीपमूलक, नैतिक र व्यावहारिक शिक्षा” को सपनालाई साकार पार्ने विद्यालयको विश्वास छ । यो अभियानलाई निरन्तरता दिन र थप प्रभावकारी बनाउन अभिभावक, शिक्षक, समुदाय र सरोकारवालाहरूको सहयोग अपरिहार्य रहेको भन्दै विद्यालयले सबैलाई यो प्रेरणादायी यात्रामा हातेमालो गर्न अपिल गरेको छ ।
‘बुक फ्रि फ्राइडे’: सिकाइको नयाँ यात्रा
Facebook Comments Box
