आमा, म कहिले ठूलो हुन्छु ? ll रमेश ढकाल ll

Nayabimarsha (Weekly Newspaper from Nepal)

एउटा हुर्कदै गरेको सानो छोरा ः (आमाको नजिक गएर) आमा, म कहिले ठूलो हुन्छु, जब म तपाईलाई सोधे बिना नै घरबाट बाहिर निस्कन सक्छु ?

आमाः तिमीलाई ठूलो हुन निक्कै समय लाग्छ छोरा किनकि त्यति ठूलो त अहिलेसम्म तिम्रो बुबा पनि बन्न सक्नु भएको छैन ।

हिजो आजका प्रायः सबै केटाकेटीहरु केवल छिट्टै ठूलो हुन याने हुर्कन चाहन्छन् तर छिट्टै हुर्कने चक्करमा उनीहरु आफ्नो बचपनको अर्थात् शैशवकालकोे त्यो एउटा पुलकित अवस्था भुसुक्कै बितेको भने पत्तै पाउँदैनन् । जब उनीहरु अलिक हुर्कन्छन्, त्यसपछि उनीहरु कलेज जान चाहन्छन् । जब उनीहरु कलेज पुग्छन्, धेरैजसो चैं पढाईमा ध्यान लगाउनुभन्दा पनि कहिले पढाई सकेर एउटा राम्रो जागिर पाउन सकिएला भन्ने कुरामा केन्द्रित हुने गर्दछन् ।

जागिर त पाईहालिन्छ नि, पहिला अध्ययनमा ध्यान केन्द्रित गरौँ । राम्रो संग अध्ययन गरौँ । तर होइन हाम्रो ध्यान जागीर प्राप्त गर्ने कुरामा नै केन्द्रित रहन्छ ।

एकजना विद्यार्थी एमबीएमा भर्नाका लागि कलेजको बाहिर बसेर फाराम भर्दै गर्दा, नजिकैमा देखिएका कलेजका चौकिदारलाई यो कलेज कस्तो छ ? भनेर प्रश्न गर्छन् ।

चौकिदारः कलेज एकदम राम्रो छ । वास्तवमा मैले पनि यहीं कलेजबाट एमबीए गरेको हुँ । चिन्ता नगर, पछि केही बन्न सकेनौ भने कमसेकम यो कलेजको चौकिदार त अवश्य पनि बन्ने छौ ।

हिजोआज हाम्रा अधिकांश भाइबहिनीहरुको ध्यान अध्ययन गर्नमा भन्दा पनि धेरै चाहिँ पैसा कमिने जागिर कसरी प्राप्त गर्ने होला भन्ने कुरामा नै केन्द्रित रहने गर्दछ । जुन एक तरिकाले स्वाभाविक पनि हो तर महत्वपूर्ण कुरा के हो भने, आफ्नो अध्ययनमा चै धेरै ध्यान केन्द्रित गर्न सके, राम्रो अंक ल्याएर उत्तीर्ण गर्न सकिने थियो र राम्रो अंक ल्याएर उत्तीर्ण गर्न सके, स्वतः राम्रो तलब भएको जागिर पनि प्राप्त हुने थियो ।

दुःख सुख जब डिग्री प्राप्त हुन्छ । हामी नोकरी गर्न शुरु गर्छौँ । हामी धेरैको स्वभाव कस्तो हुन्छ भने, नोकरी शुरु गरे संँगसंँगै हामीमा पदोन्नतिको चिन्ता पनि शुरु हुने गर्छ । पदोन्नति पाउने र धेरै पैसा कमाउने चिन्ताले गर्दा हामी आफ्नो काम खुशी भएर गर्ने तथा नयाँ नयाँ कुराहरु सिकेर आफ्नो काम गर्ने क्षमताको विकास गर्ने कुरामा भनेपछि भर पर्न पुग्दछौँ ।

जब हामी विद्यालयमा हुन्छौँ, हामी ठूलो हुने, कलेज पुग्ने चिन्ताबाट ग्रसित हुन्छौँ । जब कलेज पुग्छौँ हामी डिग्री लिएर जागीर खाने चिन्ताबाट ग्रसित हुन्छौँ । जब जागीर शुरु गर्छौँ, पदोन्नति पाउने र धेरै पैसा कमाउने चिन्तामा पिरोल्लिने गर्दछौँ । जब हामी अलिक पैसा कमाउन थाल्छौँ, अनि सुन्दर जीवनसाथी पाउने चिन्तामा पिरोल्लिन थाल्दछौँ । जब म आपूmले सोचे जस्तै सुन्दर जीवनसाथी भेट्ने छु तब गएर चै म खुशी हुनेछु र विवाह गरेर एकदम आनन्दको जीवन जिउने छु भन्ने कल्पनामा हामी जीवनलाई एक तरिकाले चलाइ राखेका हुन्छौँ ।

यस्तै यस्तै कल्पनामा हामी जीवनको वर्तमान क्षणको आनन्द लिनुको सट्टामा आगामी दिनको चिन्ताका कारण जीवनका ती हरेक क्षण तथा चरणहरूको आनन्द लिन बिर्सन्छौँ । यसका कारण जीवनयात्राका ती तमाम चरणहरूमा हामी जुन रुपमा फस्टाउनु पर्ने, फुल्नु पर्ने र फक्रनु पर्ने हुन्थ्यो त्यो रुपमा फस्टाउन, फुल्न र फक्रन भने सक्दैनौँ ।

कलेज पुगौं अनि खुशी हुने छु । डिग्री प्राप्त होस् अनि खुशी हुने छु । जागिर प्राप्त होस् अनि खुशी हुने छु । सुन्दर जीवनसाथी भेट्टाउँ अनि खुशी हुने छु ।

आपूmले सोचेको वा रोजेको त्यो खास गन्तव्य आइपुगोस् अनि मात्र म खुशी हुने छु भन्ने खाले एउटा काल्पनिक अवधारणा वा सोचको हामी प्रायः सबै शिकार हुने गरेका छौं । जसका करण हामी हाम्रो जीवनको वर्तमान क्षणको मज्जा उठाउन भने बिर्सिन्छौँ । अर्थात् जीवनको पूर्ण आनन्द लिनबाट चुक्दछौं ।

त्यसैले याद राख्नुस्, जीवनको कुनै खास गन्तव्यमा पुग्नका लागि यात्रा गर्दै गर्दा बाटोमा आईपर्ने ती हरेक घुम्तीहरुमा रमाउन सक्नुपर्छ तब मात्र हाम्रो जीवन सन्तुलित र सार्थक बन्न सक्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *