नागरिक लगानीको उपदानमा को को ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भएका छन् ।
नेरुडे लघुवित्तमा कार्यरत करिब १ हजार १ सयजना कर्मचारी रहेका छन् । उपकार लघुवित्तमा एक सयभन्दा बढी कर्मचारी रहेका बताइएको छ । कोषको यस योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारीहरू सहभागी हुन सक्ने व्यवस्था रहेको कोषले जनाएको छ । यसअन्तर्गत योगदानमा वा गैर योगदानमा आधारित भएर संघ–संस्थाले उपदान कोष व्यवस्थापन गर्न सक्नेछन् ।
सोही व्यवस्था अनुसार दुवै लघु वित्त वित्तीय संस्था कोषको उपदान योजनामा आवद्ध भएका हुन् । यसअघि पनि कोषसँग नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भइसकेको छ । कोषले २०५५ देखि शुरु गरेको उपदान तथा पेन्सन योजनामा विभिन्न संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको उपदान तथा पेन्सनबापतको रकम संकलन गरी लगानी गर्ने र कर्मचारी निवृत भएपछि भुक्तानी गर्ने गरिएको छ ।
यस योजनामा योगदानमा आधारित र गैर योगदनामा आधारित रकम जम्मा गरी सहभागी हुन सकिने व्यवस्था छ । हाल यस योजनामा १ हजार १५० संगठित संस्था र त्यस्ता संस्थामा कार्यरत करिब ३३ हजार कर्मचारी सहभागी रहेका छन् । यस योजनामा व्यक्तिगत सहभागिता जनाउने कर्मचारीहरूले आवास कर्जा सुविधा, घर मर्मत, पुनर्संरचना, पुनर्तालिकीकरण र घर सजावटका लागि कर्जा सुविधा पाउने बताइएको छ । त्यसैगरी सहभागीहरूले आर्थिक, सामाजिक, सांस्कृतिक र पारिवारिक प्रकृतिका भइपरी आउने कार्यका लागि सरल कर्जा सुविधा पाउने व्यवस्था समेत रहेको जनाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *