कौशल कुमार भट्टराई
गएको भदौ २३ र २४ गते भएका प्रदर्शनीको दौरान र पश्चातको अवस्थामा नेपाली सेनाको भूमिकालाई लिएर विभिन्न कोणबाट टिप्पणी भैरहेका छन् । यस क्रममा प्रधानसेनापति अशोकराज सिग्देलको भूमिकालाई लिएर पनि टिप्पणीहरु भैरहेका छन् । म आफू एक सञ्चारकर्मी भएका नाताले मैले पनि सेना र सेनापतिको भूमिकालाई सुक्ष्म रुपमा व्यक्तिगत तवरबाट मूल्यांकन गरेँ । यसक्रममा मैले भने दुवै अर्थात् सेना र प्रधानसेनापतिको भूमिकालाई नकारात्मक भन्दा सकारात्मक पक्ष बढी देखेँ ।
सकारात्मक यस अर्थमा कि भदौ २४ गते तात्कालिन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले प्रधानसेनापति सहितको सुरक्षा अंगहरुलाई युवापुस्ता (जेन–जी) ले चलाएको प्रदर्शनी वा आन्दोलनलाई दबाउन निर्देशन दिएको भन्ने कुरा आयो । त्यो समयमा पनि सुरक्षा अंगका प्रमुखहरुले ओलीलाई परिस्थिति फरक रहेको भन्दै राजीनामा गर्न सुझाएका भनी समाचारहरु आएका थिए ।
पदलोलुप ओलीले राजीनामाको ‘र’ पनि सुन्न नचाहेको बरु पेलेरै जान चाहेको भन्ने चाहना व्यक्त गरे रे । उक्त कुराले सुरक्षा प्रमुखहरु अचम्मित हुनु भएको थियो रे । उहाँहरुले नेपाली जनतालाई मारेर निकास ननिस्कने भन्ने राय दिएपछि पनि ओलीले राजीनामा नदिई बसेको भन्ने कुरा आएको छ । सुरक्षा अंगहरुले दिएको रायमा ओली सहमत भै विहानै राजीनामा दिएको भए २४ गतेको तोडफोड तथा आगजनीका घटनाहरु नहुने संभावना बढी देखिन्छ ।
आन्दोलनरत पक्षमाथि अघिल्लो दिन अर्थात् २३ गते निर्ममतापूर्वक युवाजनलाई टाउको र छातीमा गोली प्रहार गर्ने कार्य ओली नेतृत्वको सरकारले गरेको थियो । २४ गतेको विहानसम्म करिब दुई दर्जन मानिसहरुको मृत्यु भएका समाचारहरु आइरहेका थिए । २३ गते नै तात्कालिन गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा गर्नुभएको थियो । उहाँको राजीनामा स्वीकृत गरिएको मन्त्रिपरिषद्कै बैठकबाट प्रधानमन्त्री ओलीको पनि राजीनामा आउने अपेक्षा गरिएको थियो ।
हठी एवम् जिद्दी स्वभावका ओलीले राजीनामाको कुरा सुन्न समेत सक्नु भएन । त्यसमाथि तात्कालिन सञ्चारमन्त्री पृथ्वी सुव्वा गुरुङले २३ गतेको घटनालाई लिएर समवेदना प्रकट गर्नुको साटो प्रधानमन्त्री ओलीको पक्षमा पक्षपोषण गर्ने कार्य गर्नु भयो । उहाँले ओलीले कुनै हालतमा पनि राजीनामा नगर्ने भन्ने कुरा सार्वजनिक गर्नासाथ जनआक्रोश झनै बढेको थियो ।
यो सबै कुरालाई बुझेर खासगरी प्रधानसेनापति सिग्देलले ओलीलाई २४ गते विहानै राजीनामा गर्न सुझाएको भन्ने कुरा आयो । अवस्थालाई मूल्यांकन गरी सिग्देलले दिनुभएको सुझावलाई ओलीले समयमै मानेको भए २४ गतेको घटना नहुने विश्लेषण गरिँदै आएको छ ।
यो अवस्थालाई नेपाली सेनाको भूमिकाको कोणबाट विश्लेषण गर्दा नेपाली जनतालाई मार्ने पक्षमा आफूहरु नउभिने बरु राजीनामा विकल्प हुन सक्छ भन्ने सुझाव दिनुलाई उचित मान्न सकिन्छ । प्रधानसेनापतिको सुझावलाई ओलीले मानिदिएको भए उहाँ लगायतका उच्च पदस्थहरुले भाग्नुपर्ने, लुक्नुपर्ने अवस्था आउँदैनथ्यो । ओलीको हठले गर्दा त्यसको विरोधमा जताततै आगजनी र तोडफोड हुन थाले ।
नेपाली सेनाले पनि नेपाली जनतालाई मार्नु उचित देखेन । अघिल्लो दिन नै कलिला युवायुवतीहरु हताहत भएको घटनाबाट आहत भएका नेपालीजनको अवस्थालाई बुझेर सेना टुलुटुलु हेर्न बाध्य भएको थियो । नेपाली सेनाले चाहेको भए अझै नै धेरै धनजनको क्षति गराउन सक्थ्यो । गोली चलाएको भए ठूलो मात्रामा जनधनको क्षति हुने अवस्था थियो । अघिल्लो दिनको घटनाबाट विरक्त देखिएका नेपालीजनको पक्षमा सेनाले साथ दिँदा त्यो दिन प्रदर्शनकारीहरुमाथि गोली चलाउने कार्य भएन ।
त्यसपछि ओलीको राजीनामा दिउँसो करिब दुई बजे आयो । ओलीको राजीनामा आउँदा धेरै नै नोक्सानी भैसकेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा समेत प्रदर्शनकारीहरु पुग्ने अवस्था देखेपछि त्यही नेपाली सेनाले ओलीलाई समेत उद्धार गरी शिवपुरीमा पु¥याउनु परेको थियो । आफ्नो सल्लाहलाई नमानेको झोंक सेनाले देखाएन । उस्तै सेना हुन्थ्यो र इवि साँधेर बसेको हुन्थ्यो भने ओलीको समेत उद्धार नगर्न सक्ने अवस्था थियो । तर पनि सेनाले आफ्नो कर्तव्यबाट आफूलाई विमुख गराएन ।
ओली लगायतका नेताहरु तथा उनीहरुको परिवारमाथि सांघातिक हमला हुने निश्चित अवस्था सेनाले देखिसकेको थियो । सेनाले सोही अवस्थाको विश्लेषण गरी उच्च पदस्थ सबैजनालाई समयमै सुरक्षित स्थानमा पु¥याएकाले उहाँहरुको जीवन रक्षा गर्ने कार्य पनि सेनाले नै गरिदिएको छ । त्यो कर्म पनि सेनाको सही कर्मको रुपमा हेरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेललाई समेत सुरक्षितस्थानमा लानुपर्ने जिम्मेदारी पनि सेनाले समयमै निभायो ।
त्यसपछि शून्यको अवस्थामा मुलुक पुग्यो । प्रहरी, प्रशासन आफ्नो ज्यान जोगाउनु नै ठूलो कर्म हो भन्ने अवस्थामा पुगिसकेका थिए । जताततै आगजनी हुन थाल्नु तथा प्रहरीलाई देख्यो कि जाइलाग्ने अवस्थाका कारण शान्तिसुरक्षाको अवस्था नाजुक बन्न पुगेको थियो । त्यो बेला सबैको आशा भने नेपाली सेनामाथि नै थियो । नभन्दै नेपाली सेनाले अवस्थालाई आफ्नो हातमा लिने कार्य ग¥यो । निषेधाज्ञा तथा कप्mर्य लगाउँदै सेनाले स्थिति सम्हाल्ने कार्य गर्न थाल्यो ।
एकातिर मानवीय क्षति नहोस्, नेताहरुलाई सकुशल राख्न सकियोस् भन्ने जिम्मेदारी पनि सेनाकै काँधमा आएको थियो । अर्कातर्फ शान्तिसुरक्षा कायम गर्नुपर्ने दायित्व पनि सेनाकै काँधमा थियो ।
यसरी धेरैतिरको भूमिका निर्वाह गर्नुपर्ने अवस्थामा पुगेको सेनाले सिंहदरबार, सर्वोच्च अदालत, अदालतहरु, प्रशासनिक भवनहरुमा आगलागी हुँदा त्यसलाई रोक्न सकेन भन्ने गुनासो जनस्तरबाट आयो । सेनाले भौतिकबस्तुलाई भन्दा पनि मानवीय क्षतिलाई रोक्न खोज्दा ठूलो मात्रामा भौतिकबस्तुहरुको क्षति हुन पुगेको देखिन्छ । यसैगरी सेनाले २४ गते राति १० बजेदेखि आफूहरु परिचालित हुने भनेर किन पर्खिएको होला भनी प्रश्न उठाउने ठाउँ भने रहेको छ । त्यतिञ्जेलसम्म धेरै ऐतिहासिक संरचनाहरु खरानी भैसकेका थिए ।
आगजनीको अवस्थामा सेनाको भूमिकासँगै काठमाडौं उपत्यकामा रहेका पालिकाहरुका दमकलहरुको कुरालाई लिएर पनि टिप्पणी गर्नुपर्ने अवस्था आयो । काठमाडौं महानगरपालिकादेखि विभिन्न पालिकाले दमकललाई बाहिर निकाल्ने काम गरेनन् । उनीहरुले त्यसरी ननिकाल्नुमा गत फागुन १५ गते भएको राजावादीहरुको प्रदर्शनीका दौरान दमकलहरुमाथि भएको तोडफोड भएको घटना हुनु हुन सक्छ ।
त्यसको अपजस पनि सेनामाथि नै आएको देखिन्छ । खासगरी नेपाली सेनाको मुख्यालय रहेको भद्रकाली र सिंहदरबारबीचको दूरी करिब एक किलोमिटर मात्र छ । त्यस्तो अवस्थामा सेनाले सिंहदरबार क्षेत्रमा रहेका सरकारी संरचनाहरुलाई जल्नबाट रोक्न सक्ने थियो कि भनी भन्ने गरिएको छ । अझ राति १० बजेदेखि मात्र परिचालित हुने भनी किन भनियो भन्ने कुराको चित्तबुझ्दो जवाफ भने आएको छैन ।
यसरी भूमिकै भूमिकामा परेको सेनामाथि अबको राजनीतिक निकास कसरी दिने भन्ने महत्वपूर्ण भूमिका पनि थपिन पुग्यो । सबैले आशा गर्ने ठाउँ भनेकै त्यही नेपाली सेना थियो । दलहरुमाथि विश्वास गुमेको अनि प्रहरी–प्रशासनप्रति जनआक्रोश बढेको बेलामा सेनाको मुख ताक्नैपर्ने अवस्थामा नेपालीजन पुगेका थियौं ।
प्रदर्शनकारीको माग अनुसारको सरकार कसरी गठन गर्ने भन्ने कुराले सेनामाथि दबाब बढ्न पुग्यो । संविधानलाई कसरी जोगाउने भन्ने कुरालाई समेत ख्याल सेनाले गर्नु परेको थियो । यसैगरी आन्दोलनकारीको मागलाई समेत समेट्न सक्नुपर्ने अवस्थाको निकास निकाल्नुपर्ने स्थिति थियो । यसरी चेपुवामा परेका प्रधानसेनापति अशोजराज सिग्देलले नेताहरुलाई सुरक्षित राखी आन्दोलनरत पक्षसँग वार्ता थाल्नु भएको थियो । अझ आन्दोलनरत पक्ष नै को हो भन्ने यकिन नभएको अवस्थामा उनीहरुबाट वास्तविक आयोजक खोज्नुपर्ने अवस्थामा प्रधानसेनापति सिग्देल रहनु भएको थियो ।
त्यसैले उहाँले आन्दोलनकारीका पक्षबाट आफ्ना कुरा आउनु प¥यो भनी मौका दिनु भयो । त्यसक्रममा विभिन्न व्यक्तिहरु आफूलाई आन्दोलनकारीको प्रतिनिधि भनी देखाउन थाले । उनीहरुका बीचमा नै मतैक्यता हुन सकेन । त्यस्तो अवस्थामा राजनीतिक निकास दिन सेनालाई कठिन थियो ।
विभिन्न हल्लाहरु चल्न थालेका थिए । सेनाले शासनसत्ता हातमा लिनेदेखि राजालाई स्थापित गर्नेसम्मका हल्ला चल्न थालेका थिए । मानिसहरु पनि पक्ष विपक्षमा अभिमत दिन थालेका थिए । यस्तो अवस्थालाई सम्हाल्नु कम चुनौतीपूर्ण थिएन नेपाली सेनाको लागि । हल्लाहरुलाई शान्तपार्नका लागि आन्दोलनरत पक्षबाट नयाँ प्रधानमन्त्रीको लागि नाम माग गर्ने कार्य समेत सेनाले नै गरिदिनु परेको थियो ।
राष्ट्रपति रामचन्द्र पोडेलदेखि तात्कालिन प्रधानमन्त्री ओली समेत कुनै प्रतिक्रिया दिन सक्ने अवस्थामा देखिनु भएन । उहाँहरु आफूलाई सुरक्षित रुपमा राखिनु नै ठूलो अवस्था हो भन्ने स्थितिमा पुग्नु भएको थियो । त्यस्तो बेलामा पनि प्रधानसेनापतिले आफूले शासनसत्ता हातमा लिन सक्ने अवस्थामा पनि त्यस्तो कार्य गर्नु भएन । उहाँले राजनीतिक दलका नेताहरुदेखि आन्दोलनरत पक्षसमेतलाई समेटी नयाँ निकासको खोजी गरिरहनु भयो ।
त्यसै क्रममा आन्दोलनरत पक्षबाट पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम आयो । त्यसमा दलका नेताहरु पनि सहमतै थिए । उनीहरु कार्कीलाई संविधानसम्मत कसरी ल्याउन सकिएला भन्ने कुराको खोजी हुनुपर्ने भन्ने पक्षमा थिए । उता, आन्दोलनरत पक्ष भने जसरी पनि ल्याइनुपर्छ, संवैधानिक व्यवस्था भन्दा पनि आन्दोलनको माग ठूलो हो भन्ने पक्षमा थिए ।
यस्तो अवस्थामा पनि प्रधानसेनापति सिग्देलले आन्दोलनकारी र दलका नेताहरुले चाहेको संविधान बचाउने भन्ने दुवै कुरालाई ख्याल गरेको देखियो । विभिन्न हल्लाहरुलाई चिर्दै राष्ट्रपति पौडेल र दलका नेताहरुका बीचमा वार्ता गराउन पनि सिग्देल सफल हुनुभयो । यस्तै, आन्दोलनरत पक्षहरुलाई समेटेर उहाँहरुको चाहना बमोजिम सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनेसम्मको कार्य खासगरी प्रधानसेनापति सिग्देल र नेपाली सेनाले सहज रुपमा गरेको देखियो ।
यसपछि भोलिका दिनमा पनि नेपाली सेनामाथि विश्वास जगाउने कार्य प्रधानसेनापति सिग्देलले कायमै राख्नु भएको छ । सेनालाई आफ्नो कर्तव्यपालनमा कायम राखी भोलिका दिनमा पनि शिर उँचो राख्ने कार्य भएको छ । सेनाको विषयलाई लिएर विभिन्न आशंकाहरु जन्मिएका थिए, तिनलाई चिर्ने कार्य पनि उहाँले गर्नु भएको छ । अतः मुलुकको विग्रेको राजनीतिलाई सहज रुपमा अवतरण गराउन सफल प्रधानसेनापति सिग्देल र नेपाली सेनालाई साधुवाद नै दिनुपर्छ ।
