यतिखेर हाम्रा नगर तथा गाउँहरुमा चुनावको रौनक निक्कै बढेको छ । राजनीतिक दलहरु गाउँगाउँ टोल टोलमा विभिन्न समितिहरु गठन गर्दै हिंडेका समाचार तथा तस्वीरहरु सामाजिक संजालमा बग्रेल्ती देख्न पढ्न पाइन्छन् ।
चुनाव लागेसँंगै दलहरु जसरी गाउँगाउँ टोल टोलमा सकृय हुन्छन्, चुनाव सकिएसंँगै उनीहरु आ–आफ्ना स्वार्थ पूरा गर्नमा व्यस्त हुने गरेका छन् । अधिकांश नेताकार्यकर्ताहरुको प्राथमिकता देश बनाउने भन्दा पनि आफ्नो परिवार तथा दललाई समृद्ध बनाउनमा केन्द्रित रहने गरेको तीतो यथार्तलाई हामी सबैले भोगी सकेका छौं । नेताहरुको स्वार्थ मिल्दा जुट्ने, नमिल्दा फुट्ने राजनीतिले देशलाई कयौँ वर्ष पछाडि धकेलेको यथार्थ पनि हामी कसैबाट छिपेको छैन । गएको निर्वाचनमा प्रतिबद्धता गरे अनुरुप काम गरेर देखाउन नसक्दा यो पटक सबै राजनीतिक दलहरुलाई पछिल्लो पटकको स्थानीय निर्वाचनमा भन्दा अझ सशक्त रुपमा आमजनता सामु प्रस्तुत हुनुपर्ने चुनौती थपिएको छ । सम्भावित प्रत्याशीहरु भने यो कुरालाई बुझेर पनि आपूmहरुलाई नयाँ ढङ्गले प्रस्तुत गर्न सकिराखेका देखिँदैनन् ।
राजनीतिक दलका नेता तथा तिनका कार्यकर्ताहरुमा हामी जवाफदेही बन्नुपर्छ भन्ने कुराको चेत अझै पनि पलाउन नसकेको हो या यिनीहरुको हेपाहा पवृत्ति अझै बढ्दै गएको हो । यी दुई कुरामा यसै हो भनेर भन्न सकिने अवस्था छैन । कदाचित् दलका नेता तथा कार्यकर्ताहरुले अझै पनि आमजनतालाई छल्न सकिन्छ, झुक्याउन सकिन्छ, लट्याउन सकिन्छ भन्ने खाले पुरानै हेपाहा सोच राखेर अघि बढ्न खोजेका हुन् भने त्यो उनीहरुका लागि दुर्भाग्यपूर्ण साबित हुन सक्छ । अब आमजनता झुटा प्रतिबद्धता सुन्न हैन प्रमाण हेर्न चाहन्छन् । यसको मतलब, अब पहिलाको जस्तो तिमीले प्रतिबद्धता गरेर मात्र पुग्दैन, आफ्ना प्रतिबद्धता पूरा गरेर देखाउनका लागि मसँंग यस्तायस्ता योजनाहरु छन् भनेर तिम्रा योजनाका स्पस्ट खाकाहरु प्रस्तुत गरेर देखाउन सक्नु पर्छ । तब मात्र आमजनताले पत्याउने विश्वास गर्नेे एउटा परिस्थिति सिर्जना हुन सक्छ ।
अहिलेको यो सूचनाप्रविधिको युगमा हरेक नागरिकको हातहातमा मोबाइल फोन छ । एउटा सानो मोबाइल फोनको स्क्रिनमा दुनियाँमा के भैराखेको छ, मिनेट मिनेटका सूचना तथा समाचारहरु आम जनताले सुन्ने, देख्ने तथा पढ्ने गरेका छन् । रसियाले युक्रेन माथि धावा बोलेको कुरा होस् या भारतको पंजाबमा भएको विधानसभाको चुनावमा आम आदमी पार्टीले पूर्ण बहुमत हासिल गरेको समाचार होस्, आमजनता जानकार छन् ।
दिल्लिका मुख्यमन्त्री अरविन्द केजरीवालले भारतको राजाधानी दिल्लिमा पहिला हुने गरेका भ्रष्टाचारहरुलाई कसरी नियन्त्रण गरे ? भ्रष्टचार नियन्त्रण गरेर जोगाएको पैसाले आफ्नो राज्यका निम्न आय भएका जनतालाई कसरी निःशुल्क शिक्षा, स्वास्थ्य, पानी, बिजुली र यातायात सेवा उपलब्ध गराउँदै आएका छन् । आज दिल्लीका सरकारी विद्यालयहरू कसरी निजी विद्यालयहरू भन्दा राम्रो र गुणस्तरीय शिक्षा दिने बनेका छन्– यस्ता तमाम समाचारहरुबाट आज हाम्रो देशका आमजनता बेखबर छैनन् ।
अब जनता सचेत भएका छन् र सोच्दै छन्– अझै पनि हाम्रो देशमा किन भ्रष्टाचार रोकिन सकेको छैन ? स्वास्थ्य, शिक्षा लगायतका आमनागरिकका अत्यन्तै आधारभूत आवश्यकताहरू अझै पनि किन सर्वसुलभ बन्न सकेका छैनन् ? हाम्रा उद्योगहरुमा चाहिने तथा राष्ट्रिय अन्तरराष्ट्रिय बजारका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न हाम्रो सरकार किन असफल छ ? स्नातक÷स्नातकोत्तरसम्मको अध्ययन गरेर पनि हाम्रा छोरा छोरी तथा भाइबहिनीहरु म्यादी प्रहरीमा भिड्न आज किन बाध्य छन् ?
एउटा आमनागरिक केबल बाँच्नका लागि सङ्घर्ष गर्दै गर्दा हाम्रा राजनीतिक दलका नेताहरु भने कसरी रातारात धनी बनिरहेका छन् ? हाम्रो देशमा बन्ने गरेका सरकारहरु किन अन्तर्राष्ट्रिय ट्रेड (व्यापार) नभई एड् (सहायता) लाई प्राथमिकता दिइरहेका हुन्छन् ? यस्ता सयौँ प्रश्नहरुको जवाफ दिन अब राजनीतिक दलका नेता तथा तिनका कार्यकर्ता तयार रहनु पर्छ । राजनीतिक दलहरुलाई अब मत माग्न पक्कै पनि पहिला जस्तो सहज हुने वाला छैन ।
अत्यन्तै दुःखलाग्दो एउटा कुरा के छ भने आजसम्म हाम्रो देशका नेताहरु कहिल्यै एक ठाउँमा बसेर आमजनताको जीवनस्तर कसरी माथि उठाउन सकिन्छ ? बढ्दो बेरोजगारीको के समाधान हुन सक्छ ? देशको शिक्षा प्रणालीलाई कसरी देशको आवश्यकतासँंग जोड्न सकिन्छ ? स्वास्थ्य सेवालाई कसरी सर्वसुलभ बनाउन सकिन्छ ? बढ्दो महँगाई कसरी नियन्त्रण गर्न सकिन्छ ? लगायतका बिषयहरुमा आपसमा छलफल गरेका समाचारहरु हामीले कहिल्यै सुन्न पढ्न पाएका छैनौँ ।
नेताहरु आपस–आपसमा झगडा गरेका, तथानाम भन्ने गरेका समाचारका हेड लाइनहरु भने खुब देख्न पाइन्छ । लाग्छ दलका नेताहरुको यो पटकको चुनावी अजेन्डा नै एक–अर्कालाई खुइल्याउनु हो । एउटा अचम्मलाग्दो कुरा चाहिँ के छ भने जब राजदूतलगायतका अन्य सरकारी नियुक्तिहरु गर्नुपर्ने हुन्छ, सबै नेताहरु मिलेर आफ्नो आफ्नो भाग लिएको देख्न पाइन्छ । यसको मतलब बाँडेर खाने कुरामा भने हाम्रा नेताहरुमा कुनै विमती हुँदैन, सबै सधैं एकै ठाउँ उभिने गरेका छन् ।
हाम्रो देश विकसित र समृद्ध बन्न नसक्नुमा राजनीतिक दलहरुका दलगत सिद्धान्त असल नभएर होइन बरु ती दलहरुको नेतृत्व गर्ने नेताहरुको नियत असल हुन नसकेको कारणले चाहिँ हो भन्ने कुरालाई अहिले आमजनताले राम्ररी बुझिसकेका छन् । त्यसैले अब मत माग्न जाँदा दलका नेता तथा तिनका कार्यकर्ताहरुले यी कुराहरुको राम्रो हेक्का राखुन् । आम जनतालाई आफ्नो गोठमा बाँधेको चौपाया सम्झने भूल कसैले पनि नगरुन् । भद्रपुर–झापा (हाल दोहा–कतार)