कौशल कुमार भट्टराई
नवपुस्ता (जेन–जी) को आन्दोलनबाट वर्तमान सरकार बनेको हो । गत २०८२ को भदौ २३ र २४ गते देशभरी भएका प्रदर्शनीको जगमा वर्तमान सरकार बनेको हो । भदौ २३ गतेको नरसंहारको विरोधमा २४ गते भएको ध्वंश तथा विरोधले तात्कालिन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई राजीनामा गर्न बाध्य पा¥यो ।
त्यही आन्दोलनबाट सुशीला कार्की प्रधानमन्त्री बन्नु भएको हो । यसरी २०८२ को भदौ २७ गते प्रधानमन्त्रीमा कार्कीले नियुक्ति लिनु भएको हो । उहाँले यत्तिका दिन बितिसक्दा समेत आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिन सक्नु भएको भने छैन ।
आफू प्रधानमन्त्री बनेपछि उहाँले तीन चरणमा मन्त्रीहरु चयन गर्नु भएको छ । पहिलोपल्ट तीन सदस्यीय मन्त्रीहरु चयन गर्दा बाहेक हरेक पटक नाम सिफारिस गरिएका भनिएका मन्त्रीहरुका विषयमा विवादहरु आए । त्यस्तो अवस्थामा प्रधानमन्त्री कार्कीले चयन गरेका तथा सिफारिस गरेका मन्त्रीहरुको नाम फिर्ता लिनु परेको देखियो ।
पछिल्लो समयमा अर्थात् आइतबार शपथ गराउने भनिएका चारजना मन्त्रीमध्ये दुई जनाको मात्र शपथग्रहण उक्त दिन भयो । मन्त्री बन्ने भनी लगाउने पोशाक सिलाएका गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनारको शपथ भएन । खगेन्द्रको नाम चर्चामा आएसँगै उनी विवादित व्यक्ति भनी समाचारहरु बग्रेल्ती आए ।
यसैगरी पर्यटन र संस्कृति क्षेत्रमा आफ्नो योग्यता पस्कँदै आउनु भएका श्रेष्ठलाई दिइने भनिएको मन्त्रालयमा हेरफेर गर्ने भनियो । त्यसपछि उहाँले पनि भूमिसुधार मन्त्री लिन अस्वीकार गरेको बताउनु भयो ।
यसअघि स्वास्थ्यमन्त्रीका रुपमा चर्चामा आउनु भई नाम समेत सिफारिस गरिनु भएकी डा. संगीता कौशल मिश्रा पनि त्यस्तै पात्र हुनुहुन्छ । उहाँको नाम पनि अन्तिम समयमा आएर मन्त्री बन्नेहरुको सूचीबाट हट्न पुग्यो । उहाँलाई पनि मन्त्री बनाउनका लागि प्रधानमन्त्री कार्कीले नाम सिफारिस गर्नासाथ डा. मिश्राको भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेको भन्ने समाचारहरु आए ।
त्यसले प्रधानमन्त्री कार्की हच्किनु भयो । यो घटनाले कार्कीले विवादित मानिसहरुलाई आफ्नो मन्त्रिमण्डलमा सामेल गराउन नचाहेको देखिएको छ । त्यसो त त्यसअघि डा.सन्दुक रुइतलाई मन्त्री बन्न भनी कार्कीले आग्रह गर्दा डा.रुइतले आफू विरामीको सेवामै लाग्ने भनी जबाफ फर्काउनु भएको थियो ।
यसरी हेर्दा कार्कीका कदमलाई लिएर दुई किसिमबाट विश्लेषण गर्न सकिने अवस्था आएको छ । पहिलो त उहाँ सानो मन्त्रिमण्डल बनाउन चाहनु हुन्छ । त्यसमा पनि सकेसम्म विवादरहित त्यो पनि कुनै पनि दलको नेता कार्यकर्ता नभएको व्यक्ति । यसैगरी दोस्रो भनेको योग्य व्यक्तिको छनौटमा समय लागे पनि योग्य व्यक्तिको छनौट उहाँको प्राथमिकता हो । त्यस्का लागि उहाँले मन्त्रालयसँगको विज्ञता पनि खोज्ने गरेको देखिन्छ ।
उहाँले बनाएको मापदण्ड ठीकै होला । कार्यान्वयनको पक्षलाई हेर्ने हो भने उहाँले पनि पाइलैपिच्छे ठक्कर खानु परेको देखिएको छ । यसो हुनुमा उहाँका सल्लाहकारहरु ठीक नहुनु वा अल्पज्ञान हो ।
कसैलाई पनि नियुक्ति गर्नुपूर्व उसको विषयमा पूर्ण जानकारी लिनु जरुरी हुन्छ । उसलाई सामाजिक सञ्जालमा देखाइएका विम्वहरुबाट मात्र बुझियो भने गलत हुने रहेछ भन्ने कुराको ख्याल गरिनुपर्छ । मानिसहरुको देखाउने रुप एउटा र वास्तविकता अर्को हुने गरेको देखिएको छ ।
त्यसका प्रधानमन्त्री कार्की चुकेको देखिन्छ । उहाँले मन्त्री बनाउन चाहनु भएको व्यक्तिको इतिहास, वर्तमान र उसका क्रियाकलापले भविष्यमा कस्तो असर पार्ला भनी राम्रोसँग केलाउनु पर्ने हुन्छ । अहिलेको अवस्थामा बनाइने मन्त्रीहरुसँग केही विशेषता जोडिएर आउने गर्छ । अहिलेको मन्त्रिमण्डल पहिलेका दलहरुको भन्दा पृथक खालको हुनका लागि विशेष हुनुपर्ने देखिन्छ ।
यसका लागि पहिलो कुरा त सकेसम्म जेन–जी पुस्ताको हुनुपर्ने । त्यो नभए पनि जेन–जी पुस्ताको मागलाई बुझेको हुनुपर्ने । त्यसका अतिरिक्त भ्रष्टाचार नगर्ने तथा भएका वा हुन गएमा गर्नेलाई नछाड्ने । सुशासनयुक्त प्रशासन संचालन गरी आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनलाई सफल बनाई नयाँ सरकार बन्ने वातावरण बनाउने ।
यस्ता उद्देश्य लिएका व्यक्तिहरुको सही छनौट गर्ने कार्यमा प्रधानमन्त्री कार्की लाग्नु भएकै होला । सोही खोजीका कारण उहाँले मन्त्रिमण्डल बनाउन विलम्व गर्नु भएको पनि होला । यसरी खोज्दाखोज्दै समय नै घर्किने त होइन भनी प्रश्नहरु उठ्न थालेका छन् ।
उहाँले बढीमा १२ जना मन्त्रीहरु बनाउने भन्ने कुरा पनि आइरहेको छ । १२ वा १३ जनाको मन्त्रिमण्डल बनाउनु खर्चको हिसाबले किफायती हुन्छ भन्ने उहाँको सोच होला । किफायतको हिसाबले मात्र हेर्दा त्यो ठीकै पनि होला तर लक्ष्यप्राप्तिका लागि भने त्यो ठीक हो कि होइन भनी हेरिनुपर्ने हुन्छ ।
यसरी हेर्दा उहाँको उमेर, शारीरिक अवस्था तथा गर्नुपर्ने कामको जिम्मेदारीलाई ख्याल गर्ने हो भने उहाँले आफूलाई प्रधानमन्त्रीमा मात्र सीमित गर्नु उचित देखिन्छ । यसको मतलब आफ्नो मातहतमा अन्य कुनै पनि मन्त्रालय नराखी प्रधानमन्त्रीको रुपमा मात्र कार्य गर्ने सोच उहाँले लिनु उचित हुन्छ । कुनै मन्त्रालय नै लिन मन लागेमा रक्षा मन्त्रालय आफूसँग राखे पनि हुन्छ । होइन भने उहाँले किफायतलाई भन्दा पनि कामलाई ध्यान दिनका लागि अहिले बनाइएका सबै मन्त्रालयमा एक–एकजना मन्त्री बनाउनु ठीक हुन्छ ।
कुनै मन्त्रालयलाई अर्को मन्त्रालयमा गाभ्न मिल्ने भएमा कि त गाभेर एउटै मन्त्रालय बनाउनु उचित हुन्छ । त्यस्तो होइन भने सबै मन्त्रालयमा मन्त्रीहरु चयन गरिहाल्नुपर्ने हुन्छ । त्यसरी सबै मन्त्रालयमा मन्त्रीहरु भएका खण्डमा सबै मन्त्रालयहरु चलायमान हुन्छन् ।
सबै मन्त्रालयहरु आपैंm काम गर्न योग्य हुन्छन् । प्रधानमन्त्री वा अर्को मन्त्रालयको जिम्मेदारी लिएको मन्त्री नआएकै कारण अमूक मन्त्रालयको मन्त्रीस्तरित निर्णयहरु हुनबाट वंचित हुने अवस्थाको अन्त्य हुन्छ । त्यसैगरी विज्ञताको आधारमा आएको मन्त्रीले आफ्नो सोच अनुसार आफ्नो मन्त्रालयलाई हाँक्न सक्ने अवस्था पनि रहन्छ ।
त्यसो हुँदा तोकिएको समयमा घोषित निर्वाचन गराउन सहजै हुन्छ । सबै मन्त्रालयमा मन्त्री बनाएकै आधारमा प्रधानमन्त्री कार्कीले आलोचित हुनुपर्ने अवस्था पनि आउँदैन । बरु मन्त्रीहरु नबनाएका कारण समयमा काम गर्न नसक्दा भने भोलिका दिनमा आलोचना भने हुन सक्छ ।
त्यसैले प्रधानमन्त्री कार्कीले मन्त्रीहरुको छनौटलाई तीव्रता दिई सबै मन्त्रालयहरुलाई पूर्णता दिई हाल्नु उचित हुन्छ । यसरी मन्त्रीहरु चयन गर्दा भने तल दिइएका केही गुणहरुलाई ख्याल गर्नु भएमा भने सही मन्त्रीहरुको चयन हुन सक्ने देखिएको छ ।
क) नम्र ः स्वभाव नम्र भएको मन्त्री हुनु आवश्यक छ । अहिलेको अवस्थामा राजनीतिक दलहरु एकातिर चिढिएको अवस्था छ भने अर्कातिर जेन–जी पुस्ताको माग ‘हाताहातीमा’ भन्ने खालको छ । एकातिर राजनीतिक दलहरुले वर्तमान सरकारलाई असफल पार्न सक्ने खतरा छ भने अर्कातिर नवपुस्ताको चाहना भन्दै कानून मिच्ने कार्यलाई बढावा दिने खालको हुन सक्छ ।
त्यसैले दुवै खालका गतिविधिलाई सही ढंगले समन्वय गर्नका लागि पनि नम्र स्वभाव भएको व्यक्तिलाई मन्त्रीमा चयन गरिनुपर्ने हुन्छ । उद्दण्ड वा उग्र व्यक्तिलाई मन्त्री बनाइयो भने काम गर्न भन्दा पनि उसैको बोली र व्यवहार सम्हाल्दै ठीक्क हुने अवस्था आउन सक्छ ।
ख) दयालु ः व्यक्ति दयालु पनि हुनुपर्छ । मन्त्री हिंस्रक भयो भने कानून हातमा लिने खतरा हुन्छ । त्यसैले दयालु स्वभाव भएको व्यक्तिलाई पनि मन्त्रीको प्राथमिकतामा राखिनु उचित देखिन्छ ।
ग) उदार तथा सहानुभूति राख्ने ः स्वभावलै व्यक्ति उदार पनि हुनुपर्छ । मन्त्री बनेपछि ऊ वा उसको मन्त्रालयसँग जोडिएर विभिन्न व्यक्ति तथा सरोकार राख्ने समूहहरु विभिन्न माग सहित आउने हुन्छन् । त्यसैले त्यस्तो अवस्थामा मन्त्रीले उदारता देखाउनुपर्ने हुन्छ ।
त्यसैगरी माग लिएर आउने सरोकारवालाहरुप्रति सहानुभूति पनि देखाउने खालको स्वभावको व्यक्तिलाई मन्त्री चयन गरिनुपर्ने हुन्छ । अर्कोका कुरा नसुन्ने वा अनुदार वा सहानुभूति नराख्ने खालको व्यक्तिको चयन गरिएमा भोलिका दिनमा त्यहि व्यक्ति प्रधानमन्त्रीका लागि घाँडो सावित हुन सक्छ, त्यसको ख्याल गरिनुपर्ने हुन्छ ।
घ) इमान्दार तथा वफादार ः मन्त्री इमान्दार तथा वफादार पनि हुनुपर्छ । इमान्दार छवि भएको व्यक्ति भएमा मात्र उसले आफ्नो मन्त्रालयमा अरुलाई पनि इमान्दारिताको पाठ सिकाउन सक्छ । यसैगरी मन्त्री बन्ने व्यक्ति प्रधानमन्त्री, देश र जनताप्रति वफादार पनि हुनुपर्छ ।
यसका अतिरिक्त नवपुस्ताले चाहेको खालको मन्त्री बनाउनका लागि निम्नानुसारको विशेषता भएको व्यक्तिको छनौटमा प्रधानमन्त्री सुशीला कार्कीले ध्यान दिनुपर्ने देखिन्छ । ती विशेषताहरु निम्नानुसार रहेका छन् ः
क) प्रभावकारी सञ्चार कौशल
ख) बलियो नेतृत्व कौशल
ग) राम्रो निर्णय लिने व्यक्ति
घ) प्राविधिक विशेषज्ञता भएको
ङ) साझा दृष्टिकोणलाई प्रेरित गर्ने
च) टोली निर्माण गर्ने सीपयुक्त
छ) दबाबमा पनि शान्त रहन सक्ने
ज) राम्रो वार्ता कौशल भएको
माथिका कुराहरुलाई ख्याल गरी प्रधानमन्त्री कार्कीले मन्त्रीहरु नियुक्त गरी आफ्नो कामलाई तीव्रता दिनु भएमा सफलता हात लाग्ने देखिन्छ । उहाँले सामाजिक सञ्जालमा चर्चा पाएका वा देखावटी एउटा वास्तविकता अर्को भएका व्यक्तिहरुलाई चयन गर्न लाग्नु भएमा चरणैपिच्छे धोखा पाउने देखिन्छ ।
यो अवस्थामा प्रधानमन्त्री कार्कीले धोका पाउनु भनेको मुलुकले समेत धोखा पाउनु हो भन्ने कुरा उहाँ तथा उहाँका सल्लाहकारहरु समेत बुझेर काम गर्नु उचित हुने देखिन्छ ।
