नेपालको जल एवम् सौर्य ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरिएको छ । नेपालको स्वच्छ ऊर्जाको यात्रा नयाँ युगतर्फ प्रवेश गर्ने महत्त्वपूर्ण चरणमा रहेको भनी अन्तर्राष्ट्रिय मञ्चमा जानकारी गराउने कार्य भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री बनेका कुलमान घिसिङले भारतको दिल्लीमा वृहत स्तरको स्वच्छ ऊर्जा रुपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआवद्धताको परिकल्पनाबारे आयोजित कार्यक्रममा नेपालको तर्फबाट भाग लिंदै यो जानकारी गराउनु भयो । जलविद्युतको अपार सम्भावना, बढ्दो सौर्य ऊर्जा क्षमता र विस्तार हुँदै गएको अन्तरदेशीय प्रसारण लाइनले नेपाललाई ऊर्जा क्षेत्रमा दिगो बनाउन सक्ने सम्भावना रहेको छ । मित्र राष्ट्र र साझेदारहरुलाई निम्तो दिंदै नेपालमा लगानी गर्न मन्त्री घिसिङले आग्रह गर्नु पनि नेपालका लागि सुखद पक्ष रहेको छ । विशाल ऊर्जा सम्भावनाको दिगो विकास र त्रिपक्षीय विद्युत् व्यापार (नेपाल–भारत–बङ्गलादेश) का लागि मार्गचित्र विषयमा मन्त्री घिसिङलाई मुख्यवक्ताको रुपमा राखिएको थियो । मन्त्री घिसिङले नेपालको जलविद्युत् दक्षिण एशियाकै स्वच्छ ऊर्जा रुपान्तरणको रणनीतिक स्रोतको रुपमा रहेको जानकारी दिनु भएको थियो ।
जलविद्युत् उत्पादन देशको विकासलाई मात्र नभई दक्षिण एशियाकै स्वच्छ तथा हरित ऊर्जा प्रमुख निर्यातकर्ता बन्ने नेपालको लक्ष्य रहेको छ । सन् २०३५ सम्ममा १५ हजार मेगावाट नवीकरणीय ऊर्जा निर्यातका लागि नेपाल र भारतले संयुक्त रुपमा उच्च क्षमताका प्रसारण लाइन पूर्वाधार पहिचान गरी निर्माण काम भइरहेको छ । नेपालमा झण्डै ८३ हजार मेगावाट जलविद्युत् सम्भावना छ । यसैगरी करिब ४२ हजार मेगावाट पम्प स्टोरेज जलविद्युत सम्भावनाले सम्पन्न ऊर्जाका स्रोत स्वच्छ, नवीकरणीय र नेपालका छिमेकी देशहरूको सौर्य तथा वायु ऊर्जासँग उत्कृष्ट रूपमा परिपूरक रहेको छ । क्षेत्रीय र विश्वव्यापी रुपमा ग्रिड विकसित हुँदै जाँदा अन्तरआवद्ध प्रसारण सञ्जालले विभिन्न क्षेत्रहरूबीच नवीकरणीय ऊर्जा प्रवाह सम्भव बनाउँदै विद्युत माग र आपूर्तिको सन्तुलन कायम गर्ने, लागत घटाउने र पहुँच विस्तार गर्ने अवस्था रहन्छ ।
यसका लागि पारदर्शी नियमन, मापदण्डहरूको एकरुपता र प्रसारण पूर्वाधारमा खुला पहुँच हुनु आवश्यक देखिन्छ । यसका लागि निजी लगानी आकर्षित गर्न र दिगोपन सुनिश्चित गर्ने कार्य भने महत्वपूर्ण हुन्छ । यसैगरी विद्युतको प्रभावकारी क्षेत्रीय एकीकरण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक) मा आवद्ध मुलुकहरूबीचको पूर्ण आवद्धता महत्वपूर्ण हुने देखिन्छ । यसमा ग्रिडको जग बसाल्न नेपाल–भारत मात्र होइन, भारत–बङ्गलादेशबीचको प्रसारण पूर्वाधार पनि सुदृढ गर्न अत्यावश्यक रहेको देखिन्छ । नेपालको कार्बन उत्सर्जनमा योगदान नगन्य छ । बारम्बार बढ्दै जाने बाढी र खडेरीका घटनाले हाम्रो विद्युत् प्रणाली र जीविकोपार्जनमा गम्भीर क्षति पु¥याइइरहेका छन् । त्यसैले जलवायु प्रतिरोधी पूर्वाधारलाई सुदृढ बनाउनु नेपालको राष्ट्रिय प्राथमिकता हो । जलवायुजन्य क्षतिलाई सम्वोधन र न्यूनीकरण गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउन नेपालले पहल गर्नुपर्ने अवस्था छ । नेपालका लागि जलविद्युत आर्थिक उपार्जनको प्रमुख स्रोत बन्न सक्छ । यसैगरी जलविद्युतका कारण पेट्रोलियम पद्धार्थको प्रयोगमा कमी आउन सक्ने देखिन्छ । विद्युतीय साधनको प्रयोग बढाउन सकेमा त्यसले कार्बन उत्सर्जनमा समेत कमी ल्याउन सक्ने निश्चित देखिन्छ । यसरी नेपालमा उत्पादित विद्युत तथा ऊर्जालाई अन्य देशमा विस्तार गर्न सकेमा त्यसले विश्वको प्रमुख चिन्ताको रुपमा रहेको कार्बन उत्सर्जनमा समेत कमी ल्याई विश्वको जलवायुको क्षतिलाई कम गर्न नै नेपालले योगदान पु¥याउने अवसर पनि पाउने देखिन्छ ।
नेपाली ऊर्जा वातावरणीय स्वच्छताका लागि
Facebook Comments Box
