कुहिएको बिस्कुट खुवाउँदै काब्रा समूह

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ सुनसरीस्थित काब्रा समूहले उत्पादन गरेको ‘टप बिस्कुट’ कुहिएको अवस्थामा भेटिने गरेको गुनासो छ । विकास श्रेष्ठले बिस्कुटको प्याकेट फुटाएर खान खोज्दा एउटा गनाएको महसुस गरे । त्यसपछि उनले प्याकेट पूरा खोलेर हेर्दा बीचको भागमा रहेका बिस्कुट कुहिएको पाएको गुनासो गरेका छन् ।
त्यसो त उक्त उत्पादनमा पहिलेदेखि नै गुनासो आउने गरेको बताइएको छ । श्रेष्ठले भने, “पहिले सुनेको थिएँ, आज आफैंले भोगेँ ।’’ ‘‘खान खोजेको बिस्कुट कुहिएको रहेछ, यो उपभोक्ताको स्वास्थ्यमाथि ठूलो खेलवाड हो ।’’ उनले आक्रोश पोखे ।
बिस्कुट उनले पसलबाट खरिद गरेको बताए । यस्तो अवस्था देखेपछि उनले तस्वीर खिची प्रमाणका रूपमा सुरक्षित राखेको बताएका छन् ।
काब्रा समूहका अध्यक्ष राम निवास काब्रा रहेका छन् । उनको नेतृत्वमा सञ्चालन भइरहेको सो बिस्कुट कम्पनीले अहिले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरिरहेको बताइन्छ । उपभोक्ता अधिकार र खाद्य सुरक्षा दुवै सन्दर्भमा गम्भीर मानिएको यो घटनाले काब्रा समूहको उत्पादन प्रक्रिया र बजार नियमनप्रति पनि ठूला प्रश्न खडा गरेको छ ।
सुनसरीस्थित कारखानाबाट उत्पादन हुने टप बिस्कुटको मूल्य रु.१० तोकिएको छ । यसको सम्पर्क कार्यालय काठमाडौंको त्रिपुरेश्वरमा रहेको छ ।
उपभोक्ताको स्वास्थ्य र सुरक्षामाथि खेलवाड गर्ने कम्पनी वा व्यक्तिमाथि उपभोक्ता संरक्षण ऐन, २०७५ ले कडा कानूनी सजायको व्यवस्था गरेको छ । ऐनको धारा ११ अनुसार गुणस्तरहीन, अमानक, म्याद गुज्रिएको वा स्वास्थ्यका लागि हानिकारक कस्तु उत्पादन, बिक्री वा वितरण गर्न पाइँदैन । यस्तो कार्य गर्ने व्यक्ति वा संस्थालाई उपभोक्ताको स्वास्थ्यमा हानी पु¥याएको ठहर गरिन्छ ।
धारा १२ मा यस्ता अपराधमा संलग्न व्यक्तिलाई रु. पाँच लाखसम्म जरिवाना, एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने स्पष्ट उल्लेख छ । यसैगरी उपभोक्ताको स्वास्थ्यमा असर पुगेको अवस्थामा धारा १३ बमोजिम सम्बन्धित कम्पनीले पीडित उपभोक्तालाई क्षतिपूर्ति तिर्ने कानुनी दायित्व राखिएको छ। (रमेश महताराबाट)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *