काठमाडौँ/ पुराना कारलाई विद्युतीय गाडीमा परिणत गर्न अब सरकारले अनुमति दिने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले यस्तो जानकारी दिनु भएको हो । नेपालमा धेरै वर्षदेखि धेरै इञ्जिनियरहरू र टेक्निसियनहरूले पुराना कार र भ्यानहरूलाई इन्जिन फालेर त्यसलाई ब्याट्रीबाट चलाउनका लागि अनुमति माग्दै आएका छन् । यसले वातावरणमैत्री विद्युतीय गाडीमा परिणत गर्ने भनिएता पनि सरकारले अनुमति नदिएको स्मरण गर्दै मन्त्री पुनले वर्तमान सरकारले यो कार्यका लागि निर्णय गर्ने जानकारी दिनु भएको छ ।
सामाजिक सञ्जालमा मन्त्री पुनले लेख्दै ‘यसअघि लोभी–पापीहरूले अनेकौँ नियम कानून देखाएर कसैलाई त्यस्तो गर्न अनुमति दिएका थिएनन् । अब नेपाल सरकार यातायात मन्त्रालयले सो कामको लागि अनुमति दिने व्यवस्था गर्छ ।’ भन्नु भएको छ । यसरी पुराना गाडीलाई ब्याट्रीबाट चलाउने अनुमति दिइएमा वातावरणको स्वच्छताका लागि वरदान हुने बताइएको छ ।
