द्वन्द्वको खतरामा मुलुक | एमाले भड्काउँदै सरकार गतिहीन

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारीसहित गठित वर्तमान सरकार न हाँसको चालमा न कुखराको चालमा चल्न थालेको चर्चा चल्न थालेको छ । सरकारको गतिहीनताका कारण मुलुक द्वन्द्वको खतरामा फस्ने खतरा बढेको भनी चिन्ता गर्न थालिएको छ । यसै सन्दर्भमा हिजो विहीबार पनि बाराको सिमरामा मुठभेडको अवस्था आयो । बारामा बुधबार नेकपा (एमाले) का कार्यकर्ताहरु र नवयुवा (जेन–जी) हरुका बीचमा मुठभेड भएको थियो । एमालेका नेताहरु शंकर पोखरेल, महेश बस्नेत लगायत बाराको कार्यक्रममा जाने भनेपछि बारामा जेन–जी समर्थकहरुले त्यसको विरोध गरेका थिए ।
नेताहरु विमानस्थलमा पुगेका बेला बाहिर विरोध र समर्थनमा प्रदर्शनीहरु भएका थिए । विमानस्थलमै प्रवेश हुने खतरा देखेपछि सिमरास्थित विमानस्थलमा जाने सबै उडानहरु रोकिएका थिए । स्थानीय प्रशासनले सिमरा क्षेत्रमा कफ्र्यु लगाएको थियो । त्यसैगरी विहीबार पनि सिमरा क्षेत्रमा प्रदर्शनीहरु भए ।
बारामा देखिएको समस्यालाई लिएर प्रधानमन्त्री सुशीला कार्कीले हिजो विहीबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक राख्नु भयो । परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव, प्रधानसेनापति गरी ६ जना हुने व्यवस्था छ । यसअघि बुधबार साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो ।
तात्कालिन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको अहम् र हठका कारण गत भदौ २४ गतेको विध्वंश मच्चिने कारण बनेको भन्नेहरु छन् । उनैको दल नेकपा (एमाले) अहिले परिवर्तनलाई स्वीकार्नुको सट्टामा मुलुकलाई मुठभेडमा लान लागि परेको बताइन्छ । ओली भक्तपुरको गुण्डुमा बसेर अहिले भड्काउने खालका अभिव्यक्ति दिने गरेको बताइन्छ । ओलीले दिने गरेका उत्तेजक कुराले एमालेका समर्थकहरु मुठभेडमा उत्रन थालेका छन् ।
यस क्रममा बाराको सिमरामा जेनजी प्रदर्शनकारीले कर्फ्युको अवज्ञा गर्दै हिजो विहीबार पनि सडकमा प्रदर्शन गरे । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलायो । यसरी क्रममा एक राउन्ड हवाई फायर गरिएको बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिनु भएको छ । यसैगरी प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको थियो । जेन–जी प्रदर्शनकारीले आफ्ना युवालाई कुटपिट गर्नेहरूलाई नियन्त्रणमा लिन माग गर्दै प्रदर्शन जारी राखेका बताइन्छ ।
सरकारद्वारा काठमाडौं उपत्यका भित्र स्थानहदमा पर्नु भएका ओली भने स्थितिलाई झनै मुठभेडतर्फ लाने गरी हरकत देखाउने गरेको भनी अन्य नेताहरु पनि त्रासमा रहन पुगेको बताइएको छ । पछिल्लो समयमा स्थितिलाई साम्य पार्नपट्टी लाग्नुपर्नेमा ओलीका अभिव्यक्तिका कारण पनि मुठभेडलाई मलजल गरिरहेको भनी स्वतन्त्र नागरिकले असन्तोष प्रकट गर्न थालेको अवस्था छ ।
त्यसो त मधेश प्रदेशमा एमालेको वर्चश्व खस्कँदै गएका कारण पनि एमालेका केन्द्रका नेताहरु आक्रोशित बनेको बताइन्छ । मधेश प्रदेशमा सरकार बन्ने र विघटन हुने श्रृंखला बढिरहेको छ । उक्त प्रदेशमा एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाएको प्रक्रियालाई लिएर विवाद उत्पन्न भैरहेको छ ।
यादवको नियुक्ति प्रक्रियामा आपत्ति जनाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । त्यसको सुनुवाइ प्रक्रिया विचाराधीन अवस्थामा रहेको छ । उहाँलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखलाई वर्तमान सरकारले अपदस्त गरिसकेको छ । यसैगरी एमालेबाट सभामुख बन्नु भएका व्यक्तिले पद अनुसारको आचरण नगरेको भनी उहाँलाई पनि अविश्वासको मतबाट पदमुक्त गरिएको छ ।
यसरी आफू समर्थक रहेका प्रदेश प्रमुख र सभामुख पदच्युत भएको अवस्थामा एमाले आक्रोशित बनेको बताइन्छ । यसैगरी एमालेले नेपाली कांग्रेसको समेत साथ पाउन सकेको छैन । एमालेले गल्तीमाथि गल्ती गर्दै गएकाले कांग्रेसले उसलाई काँध थाप्न नसकेको अवस्था छ ।
उता, सुशीला कार्की नेतृत्वको सरकारले गति लिन नसकेको भनी सर्वत्र आलोचना हुन थालेको छ । कार्कीलाई प्रधानमन्त्रीमा स्थापित गराउने जेन–जीहरुले नै कार्कीको आलोचना गर्न थालेको स्थिति छ । ‘कि जेन–जीको मर्म अनुसार कार्य गर्नु पर्‍यो, कि त प्रधानमन्त्रीबाट हट्नुपर्‍यो’ भनी जेन–जीहरुले कार्कीमाथि दबाब दिन थालेका छन् ।
यसैगरी बाराको घटनालाई लिएर जेन–जीका अभियन्ता मानिने सुदन गुरुङ पनि आक्रोशित बन्नु भएको छ । उहाँले बारामा भएको घटना सुनियोजित रहेको तथा गृह प्रशासनले सही कार्य गर्न नसकेको आरोप लगाउनु भएको छ । उहाँले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा समेत माग्नु भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *