नेपाली कांग्रेसलाई गौरवशाली इतिहास जोगाउने अवसर

Nayabimarsha (Weekly Newspaper from Nepal)

रमेश कुमार बोहोरा
नेपालको सबैभन्दा पुरानो, ठूलो लोकतान्त्रिक राजनीतिक दल नेपाली कांग्रेस इतिहासको कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको नेतृत्व गरेको यो दलले नवपुस्ता (जेन–जी) आन्दोलनपछि अनिर्णयको बन्दी बनेको छ ।
पार्टीभित्र रुपान्तरण र उथास्थितिवादको द्वन्द्वले यसको राजनीतिक भविष्यमाथि पनि प्रश्न उठिरहेको छ । मुलुकमा लोकतन्त्र स्थापनाका लागि संघर्ष गरेको कांग्रेस आज आफैं लोकतान्त्रिक अभ्याससँग कताकता तर्सिएको आभाष हुन्छ ।
कांग्रेस यतिबेला संवेदनशील, निर्णायक र दिशानिर्धारण गर्नैपर्ने मोडमा उभिएको छ । यो मोड केवल नेतृत्व परिवर्तनको सतही बहसमा सीमित छैन यो कांग्रेसको संगठनात्मक अस्तित्व, वैचारिक निरन्तरता, राजनीतिक विश्वसनीयता र आगामी पुस्ताले खोजेको नयाँ शासन–संस्कृति अपनाउने वा नअपनाउने प्रश्नसँग पनि जोडिएको छ ।
बितेका सात दशकको राजनीतिक यात्रामा अनेक आन्दोलन, उपलब्धि, उतार–चढाव र सत्ता व्यवस्थापनका जटिल मोड पार गर्दै आएको कांग्रेस आज आफ्नै संरचनात्मक कमजोरी, नेतृत्व हस्तान्तरणको असमर्थता, गुटगत दबाब र जनविश्वासमा आएको गिरावटका कारण आत्म–पुनरावलोकन गर्न बाध्य भए पनि मूल नेतृत्व यसप्रति अनुदार देखिन्छ ।
ठूलै दबाबकाबीच पुसको अन्तिम साता महाधिवेशन गर्ने निर्णय भए पनि यो हुन्छ नै भन्ने निश्चितता अझै छैन । भावी नेतृत्वका आकांक्षा राख्नेहरुमध्ये सभापति शेरबहादुर देउवाको आशीर्वाद र समर्थन पाउने भाग्यमानी को हो भन्ने अझै यकिन छैन ।
संस्थापन पक्ष र इतरपक्षबीचको विमतिकाबीच देउवाको उत्तराधिकारी देउवाकै सगोलका, उनकै खल्तीका नेता हुने हुन् वा नयाँ पुस्ता नै आउने हो गम्भरि चासो छँदैछ । यसका अतिरिक्त दलभित्र वैचारिक दिशा, नेतृत्व चयन र संगठन पुनर्संयोजनको गहिरो प्रश्न पनि उठिरहेको छ ।
कांग्रेसले इतिहासमा असंख्य राजनीतिक उपलब्धिहरू हासिल गरेको छ । विगतका गौरवमय अध्यायहरूले आजको राजनीतिक वास्तविकता ढाकछोप गर्न सक्दैनन् ।
जनता विशेषतः युवा पुस्ताले कांग्रेसलाई आजको परिस्थितिमा केवल इतिहास बनाउने पार्टी होइन भविष्य निर्माण गर्ने पार्टीको रूपमा हेर्न चाहे पनि त्यसका आधारभूत पूर्वाधारहरू कांग्रेसभित्र पर्याप्तरूपमा देखिन सकेका छैनन् । यही अन्तरले कांग्रेसलाई पुनर्विचार, पुनर्गठन र पुनस्र्थापना गर्ने आवश्यकतामा ल्याइपुगेको हो ।
नेतृत्व संरचनामा धेरै समयदेखि देखा परेको व्यक्तिवाद, निर्णय प्रक्रियाको केन्द्रीकरण, संगठनमा समान सहभागिताको अभाव र गुटगत प्रतिस्पर्धाबाट बढेको अविश्वास यी सबै समस्याहरूले कांग्रेसलाई थकित, अव्यवस्थित र वैचारिक रूपमा अस्पष्ट दलका रूपमा प्रस्तुत गरिदिएको छ ।
विशेषतः युवा पुस्ताले बारम्बार उठाउँदै आएको प्रश्न “कांग्रेसले किन नयाँ नेतृत्वलाई संस्थागत रूपमा उकास्न सकेन ?” नेपालको राजनीतिक मनोविज्ञानकै एउटा जटिल समस्या हो । कांग्रेसभित्र नयाँ पुस्तालाई अवसर नदिने मात्र होइन उपलब्ध अवसरहरूलाई पनि गुटगत समीकरणले सीमित गरिदिएको आरोप लामो समयदेखि दोहोरिँदै आएको छ ।
यही कारण कांग्रेसमा ‘नेतृत्वको पुनरावर्तन’ एक सामान्य परिघटना बन्न पुग्यो । यसको प्रभाव निर्वाचन तयारी सरकारी व्यवस्थापन र जनसरोकारका विषयमा दलको विश्वसनीयतामा प्रत्यक्ष प¥यो ।
समकालीन राजनीति युवापुस्ताको चेतनाले निर्णायक रूपमा प्रभावित भइरहेको छ । सामाजिक संजाल शुरू भएको असन्तुष्टि आज सडक, क्याम्पस, कार्यस्थल र नीतिगत बहससम्म विस्तार भइसकेको छ । नयाँ पुस्ता विशेषतः जेन–जी सजग, तथ्यकेन्द्रित, पारदर्शितामा आस्थावान र वैचारिक अस्पष्टता सहन नसक्ने प्रवृत्तिको रूपमा देखिन्छ । उनीहरू दलको ऐतिहासिक विरासत होइन आजको कार्यशैलीका आधारमा समर्थन वा विरोध तय गर्छन् ।
यही कारण कांग्रेसभित्र पनि जेन–जीको आह्वानले कांग्रेसको आन्तरिक संरचनालाई चुनौती दिइरहेको छ । यो पुस्ता पुराना अनुहारहरूको स्वतः पुनरावृत्ति होइन निष्पक्ष प्रतिस्पर्धाबाट उद्ने विषय आधारित राजनीति गर्ने आधुनिक प्रशासनिक र आर्थिक दृष्टिकोण राख्ने नेतृत्व चाहन्छ ।
देउवा नेतृत्वको समग्र मूल्याङ्कन गर्दा उपलब्धि र कमजोरी एकैसाथ देखिन्छन् । उहाँको राजनीतिक यात्राले शान्ति प्रक्रिया, संविधान निर्माण, राजनीतिक संक्रमणको व्यवस्थापन र कठिन समयमा दल तथा देशलाई सम्हाल्ने क्षमतामा गहिरो छाप बनाएको छ । नेतृत्व संक्रमणको स्पष्टता नल्याएको, संगठनलाई समयअनुसार आधुनिकीकरण गर्न ढिलो गरेको र युवा पुस्तालाई निर्णायक तहमा ल्याउन नसकेको आरोप बराबर देखिन्छ । आज महाधिवेशनको संघारमा देउवा नेतृत्व परिवर्तनको चर्चा तीव्र हुनु केवल राजनीतिक बहस मात्र होइन यो पार्टीभित्र दह्रो संरचनात्मक रूपान्तरण चाहिएको संकेत पनि हो ।
कांग्रेसका अन्य पदाधिकारीहरूको भूमिकाले पनि वर्तमान स्थिति निर्माणमा महत्वपूर्ण योगदान गरेको छ । उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र केन्द्रीय समितिका सदस्यहरूको गतिविधि मूल्याङ्कन गर्दा स्पष्ट हुन्छ कि दलभित्रको निर्णय प्रक्रिया अत्यधिक केन्द्रीकृत भएको छ । धेरै संरचना औपचारिक रूपमा अस्तित्वमा भए पनि व्यावहारिक भूमिका कमजोर छ ।
भातृ–संगठनहरू— नेविसंघ र तरुण दल आन्तरिक विवाद, नेतृत्वको पुनरावृत्ति र स्पष्ट कार्यदिशा अभावका कारण कमजोर बने । यसले मातृ दल कांग्रेसलाई नयाँ ऊर्जा, नयाँ विचार र निरन्तर राजनीतिक प्रशिक्षित जनशक्ति उत्पादन गर्ने क्षमताबाट वञ्चित गरिदियो । यही कारण कांग्रेसभित्र आएका धेरै नयाँ राजनीतिज्ञ समयमै उदाउन सकेनन् र उदाएका पनि प्रायः गुटगत समीकरणबाट आफ्नो अस्तित्व बचाइराख्न बाध्य भए ।
कांग्रेसभित्र केही नेतृत्व समूहले हालका चुनौतीहरूलाई अवसरमा बदल्न सक्ने संकेत देखिएका छन् । तीमध्ये गगनकुमार (गगन) थापा सबैभन्दा चर्चित नाम हो । उनको स्पष्ट, तथ्य आधारित राजनीतिक शैली, संसदमा प्रस्तुत हुने विश्लेषणात्मक क्षमता, सुशासन र सार्वजनिक जवाफदेहितामा आधारित धारणा र संस्थागत सुधारप्रतिको अडानले उनलाई केवल कांग्रेसभित्रका युवा नेताको रूपमा होइन राष्ट्रियस्तरमा ‘भावी नेतृत्व’ का रूपमा चिनाएको छ ।
थापाभित्रको ऊर्जा, सामथ्र्य र नीतिगत समझले जेन–जी पुस्तालाई नजिक बनाइदिएको छ । यही कारण धेरैले कांग्रेसको भविष्यको केन्द्र उनी हुनसक्ने ठान्छन् । थापाको सम्भावित नेतृत्व मार्ग सजिलो भने छैन । परम्परागत संरचना, गुटगत प्रभाव, नेतृत्व हस्तान्तरणमा हुने जटिलता र दलभित्र अझै कायम रहेको शक्ति सन्तुलनका कारण उनी अगाडि बढ्ने प्रक्रिया चुनौतीपूर्ण बन्नसक्छ । उहाँले कांग्रेसभित्र संस्थागत सुधारको अभियानलाई दीर्घकालीन रणनीति बनाउन नसकेसम्म उनको लोकप्रियता मात्र नेतृत्व परिवर्तनका लागि पर्याप्त हुँदैन ।
डा. शेखर कोइरालाको भूमिका पनि कांग्रेसको राजनीतिक संरचनामा अत्यन्त निर्णायक हुने देखिन्छ । उहाँ सुधारवादी धारका प्रतिनिधि, परिपक्व राजनीतिक उपस्थितिका साथ ‘ब्रिज फिगर’ को रूपमा उदाउनु भएको छ जो पुराना नेतृत्व र नयाँ पुस्ताबीचको संक्रमण सहज बनाउन सक्षम देखिन सक्नु हुन्छ ।
दलभित्र वैचारिक सन्तुलन, संवाद, गुटगत विवाद समाधान र नेतृत्व परिवर्तनमा परिपक्व भूमिका खेल्न सक्ने व्यक्तित्वका रूपमा शेखर कोइराला कांग्रेसका संक्रमणकालीन समयका ‘स्थिर केन्द्र’ हुन सक्नु हुन्छ । उहाँले कांग्रेसका दुवै धार अनुभवी नेतृत्व र आधुनिक सोच बोकेका युवा पुस्तालाई एकताबद्ध राख्न सके कांग्रेसले आगामी राजनीतिक चुनौती व्यवस्थित रूपमा सामना गर्नसक्छ ।
कांग्रेसले अबका दिनहरूमा कुन बाटो लिन्छ भन्ने प्रश्न केवल संगठनात्मक निर्णय होइन देशको व्यापक राजनीतिक दिशासँग पनि जोडिएको छ । वर्तमान अवस्थामा कांग्रेसले पाँचवटा आधारभूत नमूना अपनाउन सके मात्र कांग्रेसले पुनर्जीवनको सुनिश्चित मार्गमा अघि बढ्नसक्छ ।
पहिलो नेतृत्व हस्तान्तरणको स्पष्ट मार्गचित्र अनुभवी नेतृत्वको प्रत्यक्ष अनुभव र नयाँ पुस्ताको क्षमताबीच सन्तुलन स्थापित गर्दै निष्पक्ष आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने संरचनागत परिवर्तन । दोस्रो, संगठनको डिजिटल आधुनिकीकरण सदस्यता, रिपोर्टिङ, निर्णय प्रक्रियादेखि नीति विश्लेषणसम्म आधुनिक व्यवस्थापन प्रणाली अवलम्बन । यसैगरी तेस्रो गुटबन्दी नियन्त्रण नियमित आचारसंहिता, स्वचालित निगरानी र वैचारिक समूहलाई संस्थागत सीमाभित्र राख्ने प्रणाली विकास । यस्तै चौथो, नीतिगत स्पष्टता कांग्रेस आज कसका लागि राजनीति गर्छ भन्ने प्रश्नमा स्पष्ट वैचारिक र कार्यनीतिक दृष्टि आवश्यक छ । कांग्रेसले इतिहासमा लोकतन्त्रका लागि लडे पनि समकालीन शासनशैलीमा उसको वैचारिक पहिचान स्पष्ट हुन बाँकी छ । पाँचौँ, जेन–जी पुस्तालाई केवल ‘टोकन’ होइन वास्तविक नेतृत्वको ढोका खोल्ने संरचनागत सुधार भातृसंगठन पुनर्गठन ३० वर्षमुनिका युवालाई निर्णय तहमा प्रवेश र दलका मुख्य अभियानहरूको प्रत्यक्ष नेतृत्वका लागि सहज मार्ग निर्धारण भए मात्र कांग्रेसको गौरवशाली विगत पुनः स्थापित हुनसक्छ ।
नेपाली कांग्रेस अहिले “तीन पुस्ताको अदला बदली” को अत्यन्त संवेदनशील मोडमा छ । देउवा पुस्ताले संघर्ष र स्थिरताको विरासत बोकेको छ । शेखर कोइरालाको पुस्ताले संवाद, सुधार र सन्तुलन प्रस्तुत गर्छ । थापासहितको नयाँ पुस्ताले आधुनिक राजनीतिक चेतना र भविष्यको नेतृत्वको आकांक्षा बोकेको छ । यी तीन तहबीच सहकार्य, सम्मान र रणनीतिक साझेदारी कायम गर्न सके कांग्रेस पुनः राष्ट्रिय राजनीतिक केन्द्र बन्नसक्छ ।
गल्ती दोहोरिने हो भने गुटबन्दी, अनुहार परिवर्तनको खेल र कार्य दिशाको अस्पष्टता दोहोरिने हो भने कांग्रेसबाट युवा पुस्ताको दूरी झनै बढ्दै जानेछ ।
त्यसैले कांग्रेसका लागि आजको मुख्य आवश्यकता एकै वाक्यमा सीमित गर्नुपरे भने गल्ती स्वीकार गर्ने साहस, सुधारको दृढता र भविष्यको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने राजनीतिक चरित्र हो । नेतृत्व परिवर्तनको अहिलेको बहस केवल राजनीतिक समाचार होइन यो दलको भविष्यको अस्तित्व र पुनर्जीवनको आधार स्तम्भ बन्नसक्ने ऐतिहासिक क्षण हो ।
(लेखक बोहोरा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुनुहुन्छ)

अमेरिकी लगानी नेपालमा भन्नेमा छलफल
नेपालमा अमेरिकी लगानीका सम्भावनाबारे अमेरिकामा छलफल गरिएको छ । अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) ले अमेरिकाको वासिङ्टन डीसीमा हालै यस्तो छलफल गरेको हो ।
यूएस कमर्सियल संस्थाहरूको सहयोगमा अमेरिकन चेम्बर अफ कमर्सको केन्द्रीय कार्यालयमा १ डिसेम्बरमा यो छलफल भएको थियो । छलफलमा अमेरिकाको डिपार्टमेन्ट अफ स्टेट, डिपार्टमेन्ट अफ कमर्स, कमर्सियल सर्भिसेस यूएस चेम्बर अफ कमर्सका प्रतिनिधिहरु सहभागी भएका बताइएको छ ।
त्यस अवसरमा द्विपक्षीय व्यापार, आर्थिक कूटनीति, ऊर्जा, सञ्चार तथा सूचना प्रविधिका विषयमा हुनसक्ने सम्भावनाका विषयमा छलफल भएको थियो । यसैगरी विकसित प्रविधि, उत्पादनमूलक क्षेत्र र सेवामूलक उद्योगमा हुन सक्ने साझेदारी, सहकार्य र सम्भावनाबारे पनि चर्चा गरिएको एमच्याम नेपालले जनाएको छ ।
एमच्यामले नेपालमा निजी क्षेत्रका लागि लगानीको ठूलो सम्भावना रहेको उल्लेख गरिएको बताइएको छ । जलविद्युत् क्षेत्रमा मात्रै १० अर्ब अमेरिकी डलर लगानीको सम्भावना त्यस अवसरमा प्रस्तुत गरिएको बताइएको छ ।
एमच्याम नेपालका संस्थापक अध्यक्ष अजित शाहले अमेरिकन चेम्बर अफ कमर्स इन नेपालको स्थापना विभिन्न अमेरिकी कम्पनीको सहयोगमा भएको उल्लेख गर्नुभएको छ । उहाँले एमच्याम नेपाल दुवै देशका लगानीकर्ताका लागि बलियो र प्रभावकारी माध्यम रहेको बताउनुभयो । नेपाल र अमेरिका दुवै देशलाई फाइदा हुने गरी व्यापार र लगानीको ठूलो अवसर नेपालमा रहेको उल्लेख गर्दै शाहले ऊर्जा र प्रविधि, डिजिटल नवप्रवर्तनसँगै अन्य क्षेत्रमा पनि ठूलो अवसर रहेको भनी आफ्नो धारणा राख्नुभयो ।
शाहले दुवै देशले व्यापार र लगानी बढाउन देखिएका नियामकीय चुनौती, अवरोध हटाउन माग पनि गर्नुभयो । उहाँले नेपालमा रहेको अमेरिकी दूतावासले एमच्यामलाई गरेको सहयोगप्रति धन्यवाद समेत दिनुभयो । यसमार्फत नेपालमा अमेरिकी लगानी बढावा दिन सहयोग पुगेको उहाँको भनाइ थियो ।
अमेरिकी अधिकारीहरूले नेपालमा भएको नीतिगत सुधारको प्रयासको प्रशंसा गर्नुभएको थियो । यूएस चेम्बर अफ कमर्सका निर्देशक प्याट्रिक पिटले नेपाल सरकारले आईसीटी क्षेत्रमा देखाएको नीतिगत सुधार निकै राम्रो रहेको बताउँदै सरकारले नेपाली कम्पनीलाई अमेरिकामा सब्सिडायरी कार्यालय खोल्न पनि बाटो खुलेको धारणा राख्नुभयो । यसले अमेरिकी निजी क्षेत्रलाई थप लगानी गर्न सहज भएको धारणा उहाँको थियो ।
कार्यक्रममा एमच्याम नेपालले नेपालमा शतप्रतिशत नवीकरणीय ऊर्जा उत्पादन, डेटा सेन्टर र उच्च क्षमताका कम्प्युटिङ सुविधाका लागि रणनीतिक अवसर प्रस्तुत गरेको थियो । नेपालमा करिब ९२ प्रतिशत जलविद्युत् क्षमता अझै अविकसित अवस्थामा रहेको र यस क्षेत्रमा शतप्रतिशत वैदेशिक लगानीको अनुमति पनि रहेको बताइएको थियो ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *