इराकमा नेपालीलाई श्रमस्वीकृति

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ इराकमा लामो समयदेखि कार्यरत नेपालीले श्रमस्वीकृति पाउने भएका छन् । ३० हजार हाराहारीमा त्यहाँ नेपालीजन कार्यरत रहेको बताइएको छ ।
यसअघि सरकारले वैदेशिक रोजगारीका लागि इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने निर्णय गरेको थियो । योसँगै लामो समयदेखि इराकमा कार्यरत रहे पनि नेपालको अभिलेखीकरणमा समावेश नभएका उनीहरूलाई अभिलेखीकरणमा ल्याएर श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले जानकारी दिनुभएको छ ।
यही पुस १० गते बसेको मन्त्रिपरिषद् बैठकले इराकमा रहेका नेपालीलाई अभिलेखीकरणमा ल्याउने निर्णय गरेको थियो । यसका लागि श्रम मन्त्रालयले परराष्ट्र र कानून मन्त्रालयको सहमति माग गरेको थियो । दुवै मन्त्रालयबाट सहमति प्रदान भएपछि निर्णयका लागि मन्त्रिपरिषद् बैठकमा पेस गरिएको थियो ।
इराकमा कार्यरत नेपालीले दशकौंदेखि श्रम स्वीकृति पाएका थिएनन् । उनीहरू नेपालको अभिलेखमा समेत समावेश थिएनन् । यसले गर्दा उनीहरू लामो समयदेखि नेपाल आउजाउ गर्नबाट वञ्चित रहेको बताइएको छ । इराकको आवासीय कार्य भएका उनीहरूले श्रम स्वीकृतिका कारण नेपाल आउन र नेपालबाट फर्किन पाउने अवस्था नरहेको स्थितिमा यो व्यवस्थाले सहजीकरण गर्ने बताइएको छ ।
१५ भदौ २०६१ मा इराकमा १२ नेपालीको हत्या भएपछि सुरक्षाको कारण देखाएर नेपाल सरकारले इराक जान प्रतिबन्ध लगाएको थियो ।
सरकारले यसअघि पनि २०६७ सालमा इराकमा रहेको अमेरिकी सेनाको बेस क्याम्पमा काम गरिरहेका नेपाली कामदारलाई वैध हैसियत दिने निर्णय गरेको थियो ।
पछिल्लो समय दलालहरूको फन्दामा परेर नेपाली महिला इराकमा बेचिने गरेका बताइएको छ । भिजिट भिसामार्फत दुबईसम्म पुग्ने र त्यहाँबाट इराक, ओमान लगायत देशमा घरेलु कामदारका रूपमा नेपाली महिला लैजाने गरिएको बताइन्छ । इराकमा नेपालीलाई काम गर्न जान प्रतिबन्ध भएका कारण नयाँलाई श्रम स्वीकृति प्रदान नगरिने मन्त्रालयले जनाएको छ । उतै लामो समयदेखि बसेकाहरूको हकमा मात्रै यो निर्णय भएको मन्त्री भण्डारीले जानकारी दिनुभएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *