विष्णु गिरी ‘निश्चल’
भखरै पुस मसान्त सकिएको छ । कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका प्राइभेट, पब्लिक तथा मुनाफा वितरण नगर्ने कम्पनीहरुले बार्षिक साधारणसभा गरेर त्यसको विवरण कम्पनी रजिष्ट्रार कर्यालयमा बुझाउनु पर्छ । यो विवरण पुसमसान्त भित्रमा बुझाएमा कुनै प्रकारको शुल्क तिर्नु पदैन अन्यथा जरिवाना तिर्नु पर्ने कानूनी व्यवस्था छ । यो बार्षिक विवरण अनलाइनमार्फत पनि बुझाउन सकिन्छ ।
साधारणसभा भन्नाले संस्था वा कम्पनीको शेयरधनीको बार्षिक सभालाई जनाउँदछ । अझ स्पष्ट रुपमा भन्नु पर्दा साधारणसभा भन्नाले कम्पनीको शेयर पूँजीमा हक भएका शेयरवालाहरूको संयुक्त बैठक भन्ने बुझिन्छ । साधारणसभा सबै शेयरधनीहरू उपस्थित भई छलफल गरी निश्चित निष्कर्ष निकाल्ने ठाउँ हो । त्यसैले साधारणसभालाई कम्पनीका लागि सर्वोच्च निकाय मान्न सकिन्छ । कम्पनी ऐन २०६३ को दफा ६७ ले कम्पनीको वार्षिक साधारणसभा र विशेष साधारणसभा गरी दुई प्रकारको हुने उल्लेख गरेको छ । दफा ७६ ले प्रत्येक पब्लिक कम्पनीले कारोबार शुरू गर्ने अनुमति पाएको १ वर्ष भित्र प्रथम वार्षिक साधारणसभा गर्नुपर्नेछ ।
त्यसपछि प्रत्येक वर्ष कम्पनीको आर्थिक वर्ष पूरा भएको ६ महीनाभित्र वार्षिक साधारणसभा गर्नुपर्छ । म्याद नाघेको ३ महिनाभित्र वार्षिक साधारणसभा नबोलाएमा कार्यालयले त्यस्तो कम्पनीलाई वार्षिक साधारणसभा बोलाउन निर्देशन दिन सक्छ । निर्धारित समयमा कम्पनीले साधारणसभा नगरे शेयरधनीले अदालतमा निवेदन दिन पनि सक्ने व्यवस्था समेत छ ।
कम्पनीका साधारण र विशेष गरी दुई प्रकारका सभा हुन्छन् । वार्षिक रूपमा गर्ने सभालाई साधारण र आवश्यकताअनुसार जुनसुकै बेला गरिने सभालाई विशेष भनिन्छ । साधारणसभामा सामान्य र विशेष दुवै प्रकारका प्रस्ताव पेश हुन्छन् । पब्लिक कम्पनीले साधारण र विशेष सभा आह्वान गर्न क्रमशः कम्तीमा २१ र २५ दिनअगावै शेयरधनीको ठेगानामा सभा हुने स्थान, मिति र छलफल गर्ने विषय खोली शेयरधनीलाई सूचना पठाउनुपर्छ । यही सूचना कम्तीमा दुई पटक राष्ट्रियस्तरको दैनिक पत्रिकामा पनि प्रकाशन गर्नुपर्छ । सभा रजिष्टर्ड कार्यालय रहेको वा अधिकांश शेयरधनीलाई पायक पर्ने जोडिएको जिल्लामा गर्नुपर्छ । सभामा सञ्चालक आपैंm उपस्थित हुनुपर्छ तर, शेयरधनीले अर्को शेयरधनीलाई प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्नसक्छ । कुनै पनि सभाले वैधानिता पाउन कम्पनीले नियमावलीमा गणपूरक संख्या तोक्नसक्छ । नियमावलीमा तोकिएमा सोहीअनुसार र नतोकिएमा शेयर संख्याको ५० प्रतिशतभन्दा बढी शेयरको प्रतिनिधित्व हुनेगरी कम्तीमा ३ जना शेयरधनी स्वयम् वा प्रतिनिधिमार्फत उपस्थित हुनुपर्छ ।
गणपूरक संख्या नपुगेमा कम्तीमा ७ दिनको सूचना दिनुपर्छ र यतिबेला २५ प्रतिशत शेयरको प्रतिनिधित्व हुनेगरी कम्तीमा ३ जना शेयरधनी स्वयं वा प्रतिनिधिमार्फत उपस्थित भएमा सभा गर्न सकिन्छ । कम्पनीहरू कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएपछि स्वतन्त्र अस्तित्व प्राप्त गर्नाले कम्पनीे र यसका शेयरधनी वा सञ्चालकबीच फरकफरक हक तथा अधिकारको सृजना हुन्छ । कम्पनीका संस्थापक वा शेयरधनीले आफूले चुक्ता गरेको वा चुक्ता गर्न कबुल गरेको रकमसम्म मात्र उनीहरूको दायित्व रहन्छ । कम्पनीले छुट्टै कानूनी व्यक्तित्वको मान्यता प्राप्त गर्नाले यसले व्यक्तिसरह चल अचल सम्पत्ति किनबेच तथा भोग गर्न, आफ्नो नामबाट नालिस गर्न पाउने हुन्छ । यसैगरी कुनै व्यक्तिले कम्पनीउपर नालिस दिन, आफ्नो नामबाट करार गरी हकअधिकारको प्रचलन गराउन सक्छ ।
त्यसैले कम्पनीलाई एउटा स्वतन्त्र अविच्छिन्न उत्तराधिकारवाला स्वशासित संगठित संस्था मानिन्छ । कम्पनीको नाममा रहेको सम्पत्ति शेयरधनीको हुँदैन । कम्पनीको नाममा रहेको सम्पत्तिको प्रयोग तथा उपभोग कम्पनी स्वयम्ले गर्छ, न कि त्यसका शेयरधनीले वा सञ्चालकले ।
कम्पनीको साधारणसभा किन बोलाइन्छ ?
कम्पनीको काम, कारोबार, व्यवसाय के–कसरी सञ्चालन भइरहेको छ सो सम्बन्धमा छलफल गर्न साधारणसभामा बोलाइन्छ । कम्पनीको साधारणसभाले सञ्चालकको निर्वाचन÷नियुक्ति गर्ने र तिनीहरूको भत्ता तथा पारिश्रमिक तोक्ने, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, कम्पनीको वार्षिक लेखापरीक्षण प्रतिवेदनसहितका आर्थिक विवरण र सञ्चालक समितिको प्रतिवेदन छलफल गर्ने, कम्पनीको मुनाफाबाट वितरण गरिने लाभांशको दर निर्धारण गर्ने नियमित कार्यहरू हुन् । कम्पनीको प्रबन्धपत्र, नियमावली संशोधन गर्ने, कम्पनीको शेयर पूँजी बढाउने वा घटाउने, कम्पनीले आफ्नो शेयर आफंै खरीद गर्ने, कम्पनीले प्रिमियम मूल्यको शेयर जारी गर्ने, डिस्काउन्टमा शेयर जारी गर्ने, हकप्रद वा बोनस शेयर जारी गर्ने कार्य पनि साधारणसभाले गर्दछ । यसैगरी प्राइभेट कम्पनीलाई पब्लिक कम्पनीमा र पब्लिक कम्पनीलाई प्राइभेट कम्पनीमा परिणत गर्ने, कम्पनी गाभ्ने वा गाभिने, डिबेञ्चर जारी गर्ने, कम्पनी खारेज गर्ने वा खारेजीमा पठाउनेलगायत आवश्यकताअनुसारको गर्ने कार्य हुन् ।
कम्पनी ऐन, २०६३ ले व्यवस्था गरेअनुसार कम्पनीको साधारणसभालाई वार्षिक साधारणसभा र विशेष साधारणसभा गरी दुई किसिममा वर्गीकरण गरिन्छ । प्रत्येक पब्लिक कम्पनीले कारोबार शुरू गर्ने इजाजत पाएको १ वर्षभित्र प्रथम वार्षिक साधारणसभा र त्यसपछि प्रत्येक वर्ष कम्पनीको आर्थिक वर्ष पूरा भएको ६ महीनाभित्र वार्षिक साधारणसभा गर्नुपर्छ । कम्पनीले एक आर्थिक वर्षमा एक पटक साधारणसभा गर्नुपर्छ । यस्तो प्रत्येक वर्ष नियमित किसिमबाट गरिने सभालाई कम्पनीको वार्षिक साधारणसभा भनिन्छ ।
प्रथम वार्षिक साधारणसभा र वार्षिक साधारणसभाबाहेक अन्य साधारणसभालाई विशेष साधारणसभा भनिन्छ । कम्पनीको सञ्चालक समितिले आवश्यक देखेमा विशेष साधारणसभा बोलाउन सक्छ ।
पब्लिक कम्पनी हुने बितिकै शेयर जारी गर्नु पर्छ ?
कतिपयलाई पब्लिक हुने बित्तिकै कम्पनीहरुले सर्वसाधारणमा शेयर जारी गर्नुपर्छ भन्ने भ्रम रहेको छ । नेपालमात्र होइन भारतलगायतका देशमा पनि पब्लिक हुने वित्तिकै सर्वसाधारणमा शेयर जारी गर्नैपर्छ भन्ने प्रावधान राखिएको छैन । यस्ता कम्पनीहरुले समयसमयमा आफैंले पुँजी थप्दै चुक्ता पूँजी पु¥याउने गरेका छन् । कम्पनीहरु सर्वसाधारणमा शेयर जारी गर्न अनिच्छुक हुनुमा सबैभन्दा ठूलो कारण पारदर्शिताको अभाव नै हो । हाम्रो कतिपय लगानी देखाउन नीतिगत समस्या पनि छ, त्यस्तै कतिपयमा परम्परागत सोच रहेको कारणले पनि शेयर जारी गर्न नरुचाउने गरेको पाइन्छ । सर्वसाधारणमा शेयर जारी गर्ने कम्पनीले विभिन्न समयमा वित्तीय विवरण सार्वजनिक गर्नैपर्ने बाध्यता रहन्छ । सर्वसाधारण शेयर लगानीकर्ताबाट लफडा हुनसक्ने सम्भावनालाई व्यवसायीहरुले अड्कोको रुपमा देखाउने गर्छन् । हुनतः धितोपत्र बोर्डले यही समस्यालाई सम्बोधन गर्दै सर्वसाधारणबाट एक जना मात्र सञ्चालक बन्न सक्ने गरी यस्ता कम्पनीले चाहेमा १० प्रतिशतमात्र शेयर जारी गरे पुग्ने व्यवस्था पनि गरेको छ ।
