कौशल कुमार भट्टराई
आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिने कार्य सकिएको छ । यही माघ ६ गतेका लागि तोकिएको मितिमा दलहरुका प्रतिनिधि तथा अन्यले पनि उम्मेदवारी दर्ता गराएका छन् । यसरी उम्मेदवारी दर्ता गराएसँगै निर्वाचनको माहौल बन्दै गएको छ । खासगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले निर्वाचनलाई शंकाको रुपमा लिंँदै आएको अवस्था थियो । त्यसमाथि उम्मेदवारी पर्ने दिनभन्दा केही दिनअघि सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आन्तरिक विवादमा फसेको थियो । कांग्रेसको विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतसम्म पुगेको स्थिति थियो । उम्मेदवारी दिने भनिएकै दिन अदालतमा रिटमाथि पेशी चढेको थियो । उत्साहपूर्वक रुपमा उम्मेदवारी दिइरहेको दिन नै अदालतले अन्तरिम आदेश दिएन । त्यसैले पनि निर्वाचन प्रक्रिया अघि बढ्न सहज भयो । सबैजसो दलहरु निर्वाचनमा सहभागी हुने अवस्था आयो । यसैगरी वर्तमान सरकारमा रहेका थप तीनजना मन्त्रीहरुले राजीनामा गरी निर्वाचनमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
यस पटकको निर्वाचनका केही राम्रा पक्षहरुलाई तल बुँदागत रुपमा उठाएको छु ।
– सबैजसो दलहरुले गठबन्धन नगरी उम्मेदवारी दिनु
– अर्को दलको चुनावचिन्ह लिने कार्यहरु खासै नहुनु
– तडक–भडक खासै नदेखिनु
– उच्छृंखलता खासै नदेखिनु
– झडपहरु खासै नहुनु
– तोकिएको समयमै उम्मेदवारी दर्ता हुनु
– इमेल आदि प्रविधिको प्रयोग हुनु
– प्रविधिमैत्रीका कारण दुर्गममा समेत मनोनयन सहज हुनु
– दलहरुले छुट्टाछुट्टै समयमा दर्ताका लागि जानु
– उम्मेदवारहरुको आधिकारिकतामा खासै विवाद नहुनु
यसैगरी यो निर्वाचनका लागि मनोनयनपत्र दाखिलासम्मको अवस्थामा पुग्दाको स्थितिमा सुधार्नुपर्ने कुराहरुलाई तल बुँदागत रुपमा उठाएको छु ।
– दलहरुले उम्मेदवार छनौटमा अन्तिम समयसम्म समय खर्चिनु
– उम्मेदवार बन्न चाहनेहरु दलको निर्णयका लागि अन्तिम समयसम्म पनि नेताहरुको चक्करमा लागि रहनु
– दर्ताकै क्रममा भेट भएका उम्मेदवारहरुले कतिपय स्थानमा हार्दिकता देखाउन नसक्नु
– निर्वाचन आयोगले उम्मेदवार बन्नका लागि तोकेको शुल्क बुझाउन नगदै लिएर जानुपर्ने अवस्था हुनु
– तडक भडक तथा मुठभेड जस्ता कार्य खासै नभए पनि केही स्थानहरुमा हुनु
– मनोनयनपत्र दाखिलाको समयमा झापा क्षेत्र नं.५ मा केही नराम्रा झडपहरु हुनु
– झापा क्षेत्र नं.५ मै उम्मेदवारी दिन जाने क्रममा बालेन्द्र शाह (बालेन) माथि सांघातिक हमला हुने भन्ने खालको भिडियो क्लिपहरु आउनु
– दलले अन्तिम समयसम्म पनि उम्मेदवारको नाम परिवर्तन गरिरहनु
– उम्मेदवार बन्नकै लागि अन्तिम समयमा आएर अर्को दलमा प्रवेश गर्नु
– त्यसरी नवप्रवेशीहरुलाई तुरुन्तै टिकट थमाइनु
– महिलाहरुको उम्मेदवारी कम पर्नु
– दलित, अल्पसंख्यक, आदिवासी आदिको समावेशिताको कुरा व्यवहारमा कम देखिनु
– एकातिरको बासिन्दा अर्कोतिर उम्मेदवार बन्न जानु (यद्यपि यो संवैधानिक र कानूनी अधिकार हो)
– कुनै पनि तहमा जनप्रतिनिधि भएको अवस्थामा उक्त पदबाट राजीनामा गरी उम्मेदवारी दिनु
– दलहरुले एउटै उम्मेदवारहरुलाई पटक पटक अवसर दिनु
– जनप्रतिनिधिहरुले उम्मेदवार बन्न चाहँदा दलहरुले उनीहरुलाई रोक्न नसक्नु
माथि राम्रा र सुधार्नुपर्ने पक्षका बारेमा बुँदागत रुपमा उठाए पनि निर्वाचनलाई अझ मर्यादित बनाउनका लागि भने यी बाहेक थप कार्यहरु पनि गरिनुपर्ने हुन्छ । मुख्य रुपमा निर्वाचन आचारसंहिताको पालना नै हो । दलहरुले आचारसंहिताको पालना नगर्दा तथा अर्कोले उल्लंघन गर्दा मैले किन नहुने भनी होडबाजी हुने खतरा कायमै छ । विगतमा पनि आचारसंहिता विपरितका कार्यहरु गरिने गरिएको पाइएका थिए ।
यसैगरी निर्वाचनको दौरान जसरी पनि जित्नैपर्ने भन्ने मानसिकतामा दल तथा उम्मेदवारहरु रहने खतरा कायमै देखिन्छ । यसका लागि विभिन्न कुराहरुले महत्व र असर पार्ने देखिन्छ । मुख्य रुपमा निर्वाचन जित्नका लागि जनताको मनभन्दा पनि पैसाको बलमा मत जित्ने प्रयास हुने खतरा कायमै छ । यसैगरी सरकारी स्रोत साधनहरुको दुरुपयोग हुने (स्थानीय सरकार तथा प्रदेश सरकारका तर्फबाट) खतरा कायमै छ । यस्तै, पैसा वा प्रलोभनमा परी आफ्नो मताधिकारलाई धिक्कार बनाउने खतरा पनि कायमै देखिन्छ ।
कतिपय जिल्लामा भोज भतेर गरेर मत आफ्नो पक्षमा पार्ने प्रयास हुने गरेका दृष्टान्तहरु छन् । विगतमा मतप्राप्तिका लागि विभिन्न किसिमका आपराधिक घटनाहरु भएका पनि थिए । त्यसैले भोलिका दिनमा त्यस्ता घटनाहरु नभए हुने भन्ने आशा गर्नुपर्ने अवस्था छ । यसैगरी उम्मेदवारहरुका बीचमा अस्वस्थ गालीगलौच पनि गरिने गरिएका थिए । त्यसैले भोलिका दिनमा त्यस्ता कुरा नभई दिए राम्रो हुने थियो ।
यसैगरी निर्वाचनको मौन अवधिको अत्यधिक दुरुपयोग हुने गरेका थिए । मौन अवधिमा राजनीतिक भेटघाट नगर्ने तथा मत नमाग्ने भन्ने मान्यता भए पनि सोही समयमै सबैभन्दा बढी चलखेल हुने गरेका भनी विगतमा आरोप लाग्दै आएको हो । यस्तो अवस्थामा भोलिका दिनमा मौन अवधि विवादमा नपरोस् वा नपारियोस् भन्ने अपेक्षा गरिएको छ ।
भाषणका भरमा भन्दा पनि यथार्थपरक हुनुपर्ने मतदाताको कर्तव्य हो । आफ्नो अधिकार विजेता जनप्रतिनिधिमार्फत आफ्नो अधिकार प्रत्यायोजन गरिने हुनाले पनि मतदाता एकदमै सचेत हुनुपर्ने अवस्था छ । भोलिका दिनमा सही दल र सही उम्मेदवारको छनौट गर्न सक्ने क्षमता मतदाताहरुमा हुनु आवश्यक छ ।
